राताम्य बजारः शेयर लगानीकर्ताको अर्बौ लगानी डुब्दै, फाइनान्स र विकास बैंकमा भारि गिरावट

१० चैत्र २०८१, आईतवार १५:०७

काठमाडौँ । पुँजी बजार राताम्य भएको छ । पछिल्ला दिनमा शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । नेप्से सूचक २६०० नजिक आइसकेको छ । राजनीतिक अस्थिरता, नीतिगत अन्योल र बजारमा माग पक्ष कमजोर हुँदा लगानीकर्ताहरू ‘वेट एन्ड वाच’ को स्थितिमा रहेका छन् ।

निरन्तर घट्दो बजारको पछाडि कुनै ठोस आर्थिक कारण नभएको जानकारहरू बताउँछन् । तर, सत्ता समीकरणमा फेरबदल हुन सक्ने अड्कल, सरकारको आर्थिक नीतिबारे अन्योल र बजारप्रतिको विश्वास कमजोर हुँदा लगानीकर्ता दोधारमा परेका छन् । सामाजिक सञ्जाल तथा प्रविधि विश्लेषणमा आधारित कारोबारले पनि बजारलाई थप प्रभावित पारेको छ ।

बजार घट्दै जाँदा उधारो कारोबार गर्ने लगानीकर्ता बढी प्रभावित भएका छन्। उधारो सेयर किन्नेहरू बजार घट्दा सेटलमेन्टका लागि सेयर बेच्न बाध्य हुने भएकाले सप्लाई चाप बढेको देखिन्छ। तर, बैंकिङ प्रणालीमा तरलता प्रशस्त भएको, ब्याजदर निकै तल्लो विन्दुमा रहेको र चक्रीय रूपमा बजारले बियरिस ट्रेन्ड पार गरिसकेको भन्दै विश्लेषकहरू भने बुल रनको संकेत देखिरहेका छन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.०४ अकंले घटेर २६१६.२६ बिन्दुका कायम भएको छ । आज ३१७ कम्पनीको १ करोड २३ लाख ७१ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचकमा पहिरो गएको छ । आज सर्वाधिक लगानीकर्ता गुमाउनेमा फाइनान् र विकास बैंकका लगानीकर्ता रहेका छन् । यसदिन फाइनान्सको २.९९ प्रतिशत र विकास बैंक समूहको २.४२ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ । पछिल्लो समय फाइनान्स समूहका लगानीकर्ताको लगानी भने निरन्तर डुब्दै आएको छ ।

आज १३ कम्पनीको शेयर मूल्यमात्रै बढेको छ भने २३० कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*