चन्द्रागिरि हिल्सद्वारा पैदलयात्रीबाट १०० रुपैयाँ लिएको स्वीकार, यस्तो दियो स्पष्टीकरण

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर पुग्न वैकल्पिक मार्ग प्रयोग गर्ने पर्यटक तथा दर्शनार्थीहरूबाट सेवा शुल्क लिएको स्वीकार गरेको छ। चौतर्फी आलोचना भएपछि कम्पनीले एक सूचना जारी गर्दै पैदलयात्रीबाट रकम उठाइएको स्पष्ट पारेको हो।
यसअघि मन्दिरमा पैदल जाने दर्शनार्थीहरूबाट शुल्क उठाइएको विषयमा स्थानीय तहबाट चर्को विरोध हुँदै आएको थियो। स्थानीयवासी तथा विभिन्न पक्षहरूले सार्वजनिक स्थलमा शुल्क लगाइएको भन्दै असन्तुष्टि जनाइरहेका बेला चन्द्रागिरि हिल्सले सो रकम विभिन्न व्यवस्थापनका लागि प्रयोग गरिएको दाबी गरेको छ।
कम्पनीका अनुसार स्थानीय सरकार तथा सरोकारवालासँगको समन्वयमा सो क्षेत्रको फोहोर व्यवस्थापन, शौचालय, निःशुल्क पिउने पानी, वाईफाई, बिजुली बत्ती, पार्किङ सुविधा तथा पर्यटकको सुरक्षाका लागि सुरक्षा गार्ड परिचालन गरिएको छ।
त्यस्तै, सुख्खा मौसममा डढेलो न्यूनीकरण गर्न सामुदायिक वनहरूसँग सहकार्य गर्दै चार जना वन हेरालु परिचालन गर्न आर्थिक सहायता उपलब्ध गराइएको कम्पनीको दाबी छ।
चन्द्रागिरि हिल्स लिमिटेडका अनुसार चन्द्रागिरि नगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीय बासिन्दालाई सेवा शुल्क छुट दिइएको छ भने अन्य स्थानबाट आउने पर्यटक तथा दर्शनार्थीहरूबाट १०० मात्र शुल्क लिइने व्यवस्था गरिएको हो।
कम्पनीले उक्त शुल्कबारे चेकपोस्टमा सूचना बोर्ड राखेर जानकारी गराइएको उल्लेख गर्दै सेवा शुल्कबाट संकलित रकमले आगन्तुकहरूको सुविधामा सुधार ल्याउने दाबी गरेको छ।