लयमा नेपाल वेयरहाउसिङ: सूचक सकारात्मक बाटोमा, दोस्रो बजारमा लगानी कति उपयुक्त?

१० चैत्र २०८१, आईतवार ११:२६

काठमाडौं । कृषि भण्डारण सेवा प्रदान गर्ने नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडको पछिल्लो वित्तीय सूचकहरूले सुधारको संकेत देखाएका छन् । कृषि भण्डारण क्षेत्रमा लामो अनुभव रहेको निम्बस समूहको प्रवर्धनमा स्थापना भएको यो कम्पनी नेपालभर ५५ हजार मेट्रिक टन क्षमताका गोदामहरू सञ्चालन गर्ने लक्ष्यसहित अगाडि बढिरहेको छ । हालसम्म सुनसरी (१५ हजार मेट्रिक टन) र पर्सा (२५ हजार मेट्रिक टन) मा गोदाम सञ्चालनमा रहेका छन् भने कपिलवस्तुमा थप १५ हजार मेट्रिक टन क्षमताको भण्डारण निर्माणाधीन छ ।

पछिल्ला वर्षहरूमा कम्पनीको वित्तीय सूचकहरूमा सकारात्मक सुधार देखिएको छ । वित्तीय व्यवस्थापनलाई क्रमिक रूपमा सुधार गर्दै लगानीकर्ताको विश्वास बढाउने दिशामा कम्पनी अगाडि बढिरहेको छ । नेपाल वेयरहाउसिङ कम्पनीले सन् २०२३ मा ३० लाख रुपैयाँ मात्र आम्दानी गरेकोमा सन् २०२४ मा ठूलो वृद्धि हुँदै १ करोड ३० लाखन रुपैयाँ पुगेको छ । कम्पनीको सेवा विस्तार र भण्डारण क्षमतामा वृद्धिले आम्दानीमा सुधार ल्याएको देखिन्छ, जसले आगामी वर्षहरूमा अझ राम्रो नतिजा ल्याउने संकेत गरेको छ ।

सञ्चालन आम्दानीमा सुधारसँगै सञ्चालन मुनाफामा पनि सकारात्मक परिवर्तन आएको छ । सन् २०२३ मा सञ्चालन मुनाफा –८५१ प्रतिशत नकारात्मक रहे पनि सन् २०२४ मा सुधार हुँदै –१३३ प्रतिशतमा झरेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भने कम्पनीले पहिलो पटक १२ प्रतिशतको सकारात्मक सञ्चालन मुनाफा हासिल गरेको छ ।

नेपाल वेयरहाउसिङ कम्पनीले पछिल्लो वर्षहरूको तुलनामा घाटा उल्लेखनीय रूपमा कम गर्न सफल भएको छ । सन् २०२३ मा करपछि नाफा/आम्दानी अनुपात –११०८ प्रतिशत रहेकोमा सन् २०२४ मा –४५४ प्रतिशतमा झरेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा यो अनुपात –२४१ मा सीमित भएको छ ।

कम्पनीको पूँजी उपयोग प्रतिफल पनि सुधार उन्मुख देखिन्छ । सन् २०२३ मा –६ प्रतिशत रहेको यो सूचक सन् २०२४ मा –४ प्रतिशत मा आइपुगेको थियो । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा यो झन् सुधार भएर –२ प्रतिशत मा आइपुगेको छ।

कम्पनीको कुल ऋण–स्वामित्व पूँजी अनुपात १.९ गुणा रहेकोमा सन् २०२४ मा १.८ गुणामा झरेको थियो। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा यो २.० गुणामा पुगेको छ । बाह्य दायित्व–स्वामित्व पूँजी अनुपात पनि कम्पनीले राम्रोसँग व्यवस्थापन गरिरहेको छ। सन् २०२३ मा २.० गुणा रहेकोमा सन् २०२४ मा १.८ गुणामा झरेको थियो, जुन पुनः चालू आर्थिक वर्षमा २.० गुणामा पुगेको छ ।

कम्पनीको सञ्चालन मुनाफाको तुलनामा ऋणको अवस्था हेर्दा सन् २०२३ मा –४०.२ गुणा रहेकोमा सन् २०२४ मा –६०.२ गुणामा झरेको थियो। तर चालू आर्थिक वर्षको पहिलो तीन महिनामा यो सूचक २३२.५ गुणा पुगेको छ । कम्पनीको ब्याज भुक्तानी क्षमता उल्लेखनीय रूपमा सुधार हुँदै गएको छ । सन् २०२३ मा सञ्चालन मुनाफा–व्याज अनुपात –२.८ गुणा रहेकोमा सन् २०२४ मा –०.५ गुणामा आइपुगेको थियो । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा यो सूचक सुधार भएर ०.१ गुणामा पुगेको छ, ।

कम्पनीको ऋण सेवा कभरेज अनुपात सन् २०२३ मा –०.६ गुणा रहेकोमा सन् २०२४ मा –०.४ गुणामा आइपुगेको थियो। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा यो सूचक सुधार भएर ०.१ गुणा पुगेको छ। कम्पनीको कार्यशील पूँजी–आम्दानी अनुपात पनि सुधार हुँदै गएको छ। सन् २०२३ मा २८६ प्रतिशत रहेको यो सूचक सन् २०२४ मा ३७० प्रतिशतमा पुगेको थियो। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा यो १५५ प्रतिशतमा झरेको छ,।

कम्पनीको ऋण रेटिङ पुनः एलडि (इक्रा एनपि एलडि) मा कायम गरिएको छ । इक्रा नेपालले कम्पनीको ९४ करोड रुपैयाँ बराबरको दीर्घकालीन ऋण र १० करोड रुपैयाँ बराबरको अल्पकालीन ऋणको रेटिङ क्रमशः इक्रा एनपि एलडि र इक्रा एनपि डि मा यथावत राखेको हो ।

नेपाल वेयरहाउसिङ कम्पनीको वित्तीय सूचकहरूले सुधारको संकेत दिइरहेका छन् । आम्दानीमा वृद्धि, सञ्चालन मुनाफामा सुधार, घाटा संकुचन, ऋण व्यवस्थापन सन्तुलन, र वित्तीय स्थायित्वका अन्य सूचकहरूमा सुधार हुँदै गएको देखिन्छ ।

यसरी, नेपाल वेयरहाउसिङ कम्पनीको पछिल्लो वित्तीय विवरणहरू हेर्दा, कम्पनी नाफामा पुग्न संघर्ष गरिरहेको भए पनि सही दिशामा अघि बढिरहेको देखिन्छ। लगानीकर्ता तथा सरोकारवालाहरूका लागि कम्पनीको सुधार उन्मुख यात्रा उत्साहजनक रहेको छ ।

नेपाल वेयरहाउसिङ कम्पनी को प्रमुख प्रवद्र्धक हो, निम्बस समूह जसले कृषि क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव संगालेको छ। कम्पनीमा निम्बसको करिब ३० प्रतिशत स्वामित्व छ भने प्रोबायोटेक इंडस्ट्रीज प्राइभेट लिमिटेड (निम्बस समूहकै अर्को कम्पनी) को २२ प्रतिशत स्वामित्व छ। कम्पनीमा शिखर इन्स्योरेन्स (९ प्रतिशत), नेपाल पूर्वाधार बैंक (७ प्रतिशत), एनएमबि बैंक (३ प्रतिशत) जस्ता ठूला संस्थागत लगानीकर्ताहरू संलग्न छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*