बीमा कम्पनीलाई चाडै एकीकृत निर्देशन जारी गर्दैछौंः अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरुलाई छरिएर रहेका निर्देशनहरुलाई एकीकृत गरेर जारी गर्ने तयारी रहेको बताएका छन । इकोनोमिक मिडिया एसोसियसन नेपाल (इमान)ले आइतबार आयोजना गरेको बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
बीमितहरुले भोगिरहेका विभिन्न समस्याको समाधानको लागि पनि बिमकको वित्तीय स्वास्थ्य बलियो हुन आवश्यक रहेको उनले बताए । उनले भने, ‘हामीले निरन्तर तीनै बीमकहरुसँग छलफल र सम्वनय गरीरहेका छौं । उहाँहरुको सल्लाह र बीमकहरुको सहजताको लागि सम्पूर्ण छरिएर रहेका निर्देशनहरुलाई एकजुट गरेर जारी गर्ने तयारी अन्तिम अवस्थामा छ ।’
बीमा क्षेत्रको अन्डरराइटिङको समस्या समाधानको लागि पनि प्राधिकरण निरन्तर लागिरहेको उनको भनाइ छ । ‘अन्डराइटिङको समस्यालाई प्रभावकारी रुपमा समाधान गर्न सकेको अवस्थामा बीमा दावी भुक्तानी तथा मिस सेलिङ लगायतका समस्याहरु पनि विस्तारै कम हुदै जाने छन् ।’ अध्यक्ष ओझाले भने ।
उनले बीमा प्राधिकरणले हाल नियामकीय व्यवस्थाहरूलाई सुधार गर्न प्रारम्भिक कार्य गरिसकेको जानकारी दिए। ‘हाम्रो मुख्य उद्देश्य बीमा बजारलाई व्यवस्थित बनाउँदै व्यवसायिक अभ्यास सुधार गर्नु हो। यसका लागि सरोकारवालाहरूको सहकार्य आवश्यक छ । ’
बीमा कम्पनीहरुले भोगिरहेका समस्या समाधान र बीमा उद्योगलाई दिगो रुपमा विकास गर्न सहजता प्रदानको लागि एकीकृत निर्देशन जारी गर्न लागिएको जानकारी दिएका छन् ।