दुई लघुवित्तको साधारणसभा आज बस्दै, यस्ता छन् एजेण्डाहरु

१० चैत्र २०८१, आईतवार ०९:१२

काठमाडौं । आज दुई कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । नेष्डो लघुवित्त र मानुषी लघुवित्तले आज साधारणसभा डाकेका हुन् ।

नेष्डो लघुवित्तको वार्षिक साधारण सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११।३० बजे सुरु हुनेछ । सभामा कम्पनीले १४।७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०।२५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । बोनस सेयर बितरण पश्चात कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन २७ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

मानुषी लघुवित्तले छैंठौं वार्षिक साधारण सभा होटल भ्यू, भक्तपुरमा बिहान १०।३० बजे सुरु हुनेछ । सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसर्थ, यसपटक सेयरधनीको हात खाली हुनेछ । सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, फागुन २४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*