नेपालमा सार्वजनिक भयो प्रोटोन ‘ई–मास ७’, एक पटक चार्जले ४१० किलोमिटरसम्म कुद्ने

काठमाडौं । नेपाली बजारमा मलेसियन ब्रान्ड प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ७’ सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले एक विशेष कार्यक्रमको आयोजना गरी यो गाडीको औपचारिक रूपमा अनावरण गरेको हो।
दुई भेरियन्टमा उपलब्ध, सुरुवाती मूल्य ५६.९९ लाख
प्रोटोन ‘ई–मास ७’ नेपाली बजारमा दुई भेरियन्ट— प्राइम र प्रिमियममा उपलब्ध गराइएको छ। कम्पनीका अनुसार, यसको सुरुवाती मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। उपभोक्ताले यो गाडी छ वटा आकर्षक रङमा प्राप्त गर्न सक्नेछन्।
नवीन प्रविधि र उच्च सुरक्षा विशेषता
गाडी ग्लोबल मोड्युलर आर्किटेक्चर (जीएमए) प्ल्याटफर्ममा निर्मित छ, जसमा १२-इन-१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम जडान गरिएको छ। कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताका अनुसार, यो गाडी हरित र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतीक हो।
उनले भने, ‘नेपालमा विद्युतीय सवारीको माग बढ्दै गइरहेको अवस्थामा प्रोटोन ‘ई–मास ७’ नेपाली बजारका लागि महत्वपूर्ण साबित हुनेछ।’ गुप्ताका अनुसार, विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार हुँदै गर्दा कम्पनीले नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने योजना बनाएको छ।
सशक्त ब्याट्री प्रविधि र लामो रेन्ज
‘ई–मास ७’ मा नवीनतम सेल-टु-बडी (सीटीबी) प्रविधियुक्त लिथियम आयरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ। सुरक्षा विशेषताका रूपमा यसमा ५-स्टार एसियन एनक्याप सुरक्षा रेटिङ प्राप्त छ। साथै, एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम सहितको ३६०-डिग्री भ्यू क्यामेरा पनि उपलब्ध गराइएको छ।
प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवरको ब्याट्री दिइएको छ, जसले एकपटकको पूरा चार्जमा ३४५ किलोमिटर रेन्ज दिन्छ। प्रिमियम भेरियन्टमा भने ६०.२२ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ, जसले ४१० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।
तीव्र चार्जिङ क्षमता
कम्पनीका अनुसार, डीसी फास्ट चार्जर प्रयोग गर्दा यो गाडी २० मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ। साथै, १० मिनेटको चार्जिङले १३५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
डिलरशिप र चार्जिङ पूर्वाधार विस्तार गर्ने योजना
जगदम्बा मोटर्सले आगामी आर्थिक वर्ष २०८२/८३ भित्र नेपालभर डिलरशिप विस्तार गर्ने योजना बनाएको छ। कम्पनीले चार्जिङ स्टेशनहरूको संख्यामा वृद्धि गर्दै उपभोक्तालाई सहज सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
नेपालमा विद्युतीय सवारीको बढ्दो लोकप्रियता र सरकारी नीतिहरूले सहयोग पुर्याउने अपेक्षाका साथ, प्रोटोन ‘ई–मास ७’ हरित यातायाततर्फको नयाँ फड्को सावित हुने विश्वास गरिएको छ।