बीमा क्षेत्रका चुनौती सामना गर्दै अघि बढ्छौं, सबैको सहकार्य आवश्यक: अध्यक्ष ओझा

८ चैत्र २०८१, शुक्रबार १७:२९

काठमाडौँ ।  नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐनले निर्दिष्ट गरेका जिम्मेवारीहरू पूरा गर्न कर्मचारी युनियन, बीमक संघ तथा सबै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताएका छन्। ललितपुरमा आयोजित नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशनमा बोल्दै अध्यक्ष ओझाले बीमा क्षेत्रलाई व्यवस्थित विश्वसनीय र पारदर्शी बनाउनु नै प्राथमिकता रहेको उल्लेख गरे।

उनले बीमा क्षेत्रलाई सुदृढ बनाउन ऐनले दिएको जिम्मेवारी प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए। ‘बीमा क्षेत्रमा सुधारका लागि सबै पक्षको हातेमालो जरुरी छ। समस्या सबै क्षेत्रमा हुन्छन्, ती समस्याहरू समाधान गर्दै अघि बढ्नुपर्छ’ अध्यक्ष ओझाले भने। बीमा क्षेत्रलाई व्यवस्थित बनाउने कार्यमा युनियन, जीवन बीमक संघ, निर्जीवन बीमक संघ, लघु बीमक संघ तथा अभिकर्ताहरूको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहने उनले बताए।

अध्यक्ष ओझाले बीमा प्राधिकरणले हाल नियामकीय व्यवस्थाहरूलाई सुधार गर्न प्रारम्भिक कार्य गरिसकेको जानकारी दिए। ‘हाम्रो मुख्य उद्देश्य बीमा बजारलाई व्यवस्थित बनाउँदै व्यवसायिक अभ्यास सुधार गर्नु हो। यसका लागि सरोकारवालाहरूको सहकार्य आवश्यक छ’ उनले थपे।

उनले नियामक संस्थाले कुनै एक पक्षको मात्र पक्षपोषण गर्न नसक्ने स्पष्ट पारे। बीमा क्षेत्रमा सबैको हित सुरक्षित हुनुपर्छ। त्यसका लागि हामी सबैसँग सहकार्य गर्दै अघि बढ्न चाहन्छौं’अध्यक्ष ओझाले भने। उनले प्राधिकरणको दायित्व पूरा गर्न सरकारले दिएको जिम्मेवारीलाई सदुपयोग गर्दै नयाँ सुधारका कार्यहरू अघि बढाइने बताए।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कर्मचारीहरूको हक, हित तथा अधिकार प्रवर्द्धन गर्न कर्मचारी युनियनहरूसँग सहकार्य गर्न व्यवस्थापन तयार रहेको बताए। कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष शम्भु प्रसाद मिश्रले गरेका थिए।

बीमा क्षेत्रमा सुधार ल्याउन तथा यसलाई अझ व्यवस्थित बनाउन नियामक निकाय, बीमक संस्थाहरू, अभिकर्ता तथा सरोकारवालाहरू सबैको भूमिका महत्त्वपूर्ण रहेको र प्राधिकरण यसका लागि प्रतिबद्ध रहेको कार्यक्रमका वक्ताहरूले बताएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*