ईभीले भरिदै अटो बजारः ५१ देखि १०० किलोवाटमा चुलिँदो क्रेज, नीति बाधक बन्ने डर ब्यवसायीमा

काठमाडौँ । । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग तीव्र गतिमा बढ्दै गएको छ। आवश्यक पूर्वाधार निर्माणसँगै उपभोक्ताहरूको आकर्षण पनि बढिरहेको छ । सार्वजनिक यातायातका लागि ठूला विद्युतीय गाडीसमेत नेपाल भित्रिन थालेका छन् । विद्युतीय सवारी मुख्य रूपमा छिमेकी मुलुक चीन, भारतका साथै जर्मनी, अमेरिका, दक्षिण कोरिया र इन्डोनेसियाबाट आयात हुँदै आएका छन् ।
चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो आठ महिनामा नेपालमा विद्युतीय सवारी साधन (ईभी) को आयातमा उल्लेखनीय वृद्धि देखिएको छ। भन्सार विभागका तथ्यांकअनुसार, चार पाङ्ग्रे ईभीको आयात १९ प्रतिशतले बढेर २१ अर्ब ६२ करोड रुपैयाँ बराबरका ८ हजार ७७५ युनिट पुगेको छ । यस अवधिमा गत वर्षको तुलनामा १ हजार ७२५ बढी चार पाङ्ग्रे ईभी आयात भएका छन् ।
विशेष गरी फागुन महिनामा मात्रै ९६९ युनिट चार पाङ्ग्रे ईभी आयात गरिएको छ । यसले ११ अर्ब ४३ करोड रुपैयाँको राजस्व संकलन गराएको छ । यो वृद्धि भने केवल चार पाङ्ग्रे ईभीमा मात्रै होइन, तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ईभीमा पनि देखिएको छ । तीन पाङ्ग्रे ईभीको आयात १ अर्ब ३४ करोड रुपैयाँ बराबरका १२ हजार ८९५ युनिट पुगेको छ, जसबाट ४५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी, दुई पाङ्ग्रे ईभीको आयात ६६ करोड ४६ लाख रुपैयाँ बराबरका ७ हजार १७५ युनिट पुगेको छ, जसबाट २३ करोड ५८ लाख रुपैयाँ भन्सार शुल्क संकलन भएको छ।
विद्युतीय सवारी साधनहरूको आयातमा चीनको प्रमुख योगदान छ । चीनबाट ६ हजार ८८३ युनिट चार पाङ्ग्रे ईभी आयात भएका छन् भने भारतबाट १ हजार ८५६ युनिट आयात भएको छ । नेपाली बजारमा बीवाइडी, नेटा, एमजी, सेरेस, ओरा जस्ता चिनियाँ ब्रान्डहरूसँगै टाटा, हुन्डाइ, महिन्द्रा, कियालगायत भारतीय ब्रान्ड लोकप्रिय छन् ।
आयातको दृष्टिले इन्धन सवारी साधनको आयात पनि यस वर्ष उल्लेखनीय रूपमा बढेको छ । गत वर्षको आठ महिनामा ३ अर्ब ९५ करोड रुपैयाँ बराबरका ३ हजार ८९४ युनिट इन्धन प्यासेन्जर सवारी साधन आयात भएका थिए भने यो वर्ष सोही अवधिमा ५ हजार ५१५ युनिट आयात भएको छ । यसबाट सरकारलाई १० अर्ब ९८ करोड रुपैयाँको राजस्व प्राप्त भएको छ, जुन गत वर्षको तुलनामा १ अर्ब ५५ करोड रुपैयाँ बढी हो । ५१ देखि १०० किलोवाटका विद्युतीय सवारी साधनहरूको मागमा बृद्धि भई ती गाडीहरूको आयातमा समेत वृद्धि भएको हो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्दै विद्युतीय गाडीमा केही कडाइ गरेको थियो, जसका कारण ईभी सवारी साधनको आयातमा रोकावट आउने अनुमान गरिएको छ । अब इभी सवारीका लागि बैंकहरूले उपलब्ध गराउने ऋणको दायरा ८० प्रतिशतबाट घटाएर ६० प्रतिशत बनाएको छ, जबकि इन्धन सवारीका लागि ऋणको दायरा ५० प्रतिशतबाट बढाएर ६० प्रतिशत पु¥याइएको छ । यस परिवर्तनका कारण इभी खरिद गर्ने ग्राहकहरूले अब मूल्यको ८० प्रतिशतको सट्टा केवल ६० प्रतिशत मात्र ऋण पाउनेछन्, जुन पहिले ८० प्रतिशत थियो । व्यवसायीहरूको अनुमान अनुसार यस नीतिको प्रभावले इभीको बिक्रीमा २० प्रतिशतको गिरावट आउने सम्भावना छ।