बीआईएस नवीकरण नहुँदा सिमेन्ट निर्यातमा ५३ करोडको धक्का, कूटनीतिक पहलमा चुक्यो परराष्ट्र र उद्योग मन्त्रालय

काठमाडौँ । सिमेन्ट निर्यातमा धक्का लागि रहेको छ । नेपालको व्यापार घाटामा मलम लगाउँदै आएको सिमेन्ट निर्यात प्रभावित भइरहेको हो । चालु आर्थिक वर्ष २०८१।०८२ लागेसँगै सिमेन्ट निर्यातमा कमि आइरहेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामा (साउनदेखि फागुनसम्म) सिमेन्ट निर्यात २६.७२ प्रतिशतले घटेको छ । फागुन मसान्तसम्म नेपालले भारततर्फ १२ लाख ९८२ टन सिमेन्ट तथा क्लिंकर निर्यात गरेको छ, जसको कुल मूल्य एक अर्ब ९४ करोड ९६ लाख ५३ हजार रुपैयाँ बराबर छ । यो गत वर्ष २०८०।०८१ को सोही अवधिको तुलनामा ५२ करोड १० लाख ३९ हजार कम हो । अघिल्लो वर्ष यस अवधिमा २२ लाख ९६ हजार टन सिमेन्ट तथा क्लिंकर भारत निर्यात गरिएको थियो, जसको मूल्य २ अर्ब ४७ करोड ६ लाख रुपैयाँ थियो ।
समिक्षा अवधिमा नेपालले ६१ करोड ६३ लाख ७२ हजार रुपैयाँ बराबरको चार लाख ७६ हजार ४५२ टन क्लिंकर निर्यात गरेको छ भने एक अर्ब ३३ करोड ३२ लाख रुपैयाँ बराबरको ७ लाख २४ हजार ५३० टन तयार सिमेन्ट भारत पठाइएको छ ।
सिमेन्ट निर्यातमा धक्का लाग्नुको प्रमुख कारण भारत सरकारले ‘ब्यूरो अफ इन्डियन स्टान्डर्ड’ (बीआईएस) प्रमाणपत्र नवीकरणमा ढिलाइ हो । बीआईएस दिन आनाकानी गरेका कारण केही समय नेपाली सिमेन्टको निकासी प्रभावित भइरहेको छ । पशुपति मुरारकाको सिमेन्ट अर्घाखाँची सिमेन्ट लिमिटेडको निर्यात ठप्प छ । सर्टिफिकेट नवीकरण गत ९ असोजदेखि अर्घाखाँची सिमेन्ट निर्यात रोकिएको हो ।
भारतले नवीकरण नगर्नुको कारणबारे भने केही बोलेको उधोगिहरु बताउछन् । सरकार तहबाट पठाएको पत्रको समेत भारतले जवाफ समेत पठाउने गरेका छैन । उद्योगीहरूले नवीकरणका लागि लाग्ने दस्तुर र कागजपत्र सबै बुझाइसकेका भएपनि भारतिय पक्ष नविकरण गर्ने तिर ध्यान दिइरहेको छैन ।
भारतले सिमेन्ट निर्यात रोक्दा नेपालले कुटनीति पहल गर्ने नसकेको उद्योगिहरुको भनाइ रहेको छ । ‘परराष्ट्र मन्त्री आर्जु राणा बेला–बेला भारत भ्रमण गरिरहनु भएको छ । यता, उद्योगमन्त्री समेत भारतमा गइरहेका छन् । तर, सिमेन्ट निर्यात बारे सरकारले जुन तरिकाले समन्वय गर्नु पर्ने हो त्योबाट चुकेको छ । सबै कुरा आयात मात्र भइरहेको बेला सिमेन्ट निर्यातले सरकारलाई नै फाइदा गरेको थियो’ एक ब्यवसायीले भने ।
नेपाली सिमेन्ट भारतमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुनुका साथै भित्ते विज्ञापन, स्थानीय च्यानल पार्टनरहरूको निर्माण जस्ता उपाय अपनाएर आफ्नो बजार विस्तार गर्दै आएको थियो । हाल गुणस्तर प्रमाणपत्र नवीकरणसम्बन्धी समस्याले ब्रान्डिङको लगानी समेत खतरामा परेको उद्योगहरुको गुनासो रहेको छ ।
अहिले सिमेन्ट निकासी गर्न सक्ने अवस्थामा पाल्पा, घोराही र सर्वोत्तम सिमेन्ट छन् । उनीहरुको समेत अब नविकरण सकिन केहि समय मात्र बाँकी रहेको छ । उनीहरुको समेत नविकरण सकियो भने सिमन्ट निर्यात थप्प हुने खतरा बढेको छ । अन्य कम्पनीहरु नविकरण हुन नसकेको र नविकरण रहेका कम्पनीहरुको समेत म्याद सकिन लागेको हुँदा सिमेन्ट निर्यात विलय हुने बाटोमा पुगेको छ ।
सिमेन्ट भारत निर्यात हुँदा उद्योगीसँगै मुलुककै अर्थतन्त्रमा टेवा पुगिरहेको थियो । पछिल्ला केही महिनादेखि सिमेन्ट निर्यात रोकिँदा उद्योगहरु धराशायी हुने चिन्ताले बढेको छ ।