ग्लोबल मनि विकको अवसरमा सामुदायिक लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल मनि विक २०२५ को अवसरमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मन्थली शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ स्थित श्री रुद्राक्षेश्वर माध्यमिक विद्यालयमा २०७८ चैत ७ गते, बिहीबार सम्पन्न भएको हो।
वित्तीय साक्षरता कार्यक्रममा बचतको महत्व, ऋणको सही उपयोग, बैंकिङ सेवा, बैंक खाता, डिजिटल बैंकिङ सेवा, डिजिटल ठगीबाट बच्ने उपाय, शेयर, आईपीओ लगायतका विषयमा जानकारी दिइएको थियो। कार्यक्रममा विद्यालयका कक्षा ८, ९, ११ र १२ का विद्यार्थीहरू सहभागी थिए।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक हर्क बहादुर भुजेलले गरेका थिए। वित्तीय संस्थाको परिचय तथा सेवा विवरण केन्द्रीय कार्यालयका सञ्चालन विभाग प्रमुख सुमन दनुवार र सामान्य सेवा विभाग प्रमुख मिलन महर्जनले दिएका थिए।
कार्यक्रम सञ्चालन तथा साक्षरता प्रशिक्षण क्षेत्रीय अधिकृत भरत खड्काले गरेका थिए भने शाखा प्रमुख रमेश पौडेल, कर्मचारी प्रमोद यादव र चन्द्र बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो।