प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुलेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक सानुकान्छा नेपालसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
विद्यालयमा प्राथमिक तहमा कार्यरत शिक्षक अनुपस्थित रहेको समयमा ती शिक्षकको नाता पर्ने व्यक्तिलाई खेताला शिक्षक राखेर तलब खुवाएको भन्दै आयोगले बिहीबार विशेष अदालतमा प्रधानाध्यामक नेपाल, राहत शिक्षक शिवहरि घिमिरे, खेताला शिक्षक श्रुती भण्डारी भनिने अम्बिका घिमिरे र लेखापाल स्मृति रेग्मीविरुद्ध आरोपपत्र दायर गरेको हो ।
अख्तियारले प्रधानाध्यामक नेपालको मिलेमतोमा विद्यालयमा २०८० माघदेखि २०८१ असार महिनासम्म शिवहरिको ठाउँमा श्रुतीलाई खेताला शिक्षक राखिएको र नियमविपरीत तलबभत्ता समेत निकासा गरेको आरोपमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।
राहत दरबन्दीका शिक्षकको ठाउँमा गैरकानुनी रुपमा सट्टा शिक्षकको रुपमा अध्यापन गर्न विद्यालयका प्रधानाध्यापकसँग मिलेमतो गरी नक्कली कागजात खडा गरी अनुपस्थित शिक्षकको नाममा एक लाख ५७ हजार रुपैयाँ रकम निकासा माग गरेकाले उनीहरुविरुद्ध १ लाख ५७ हजार ९१५ रुपैयाँ बिगो दाबी र कैद जरिवाना सजाय गरी बिगो रकम असुल गर्न माग गरिएको छ ।
लेखापाल रेग्मीले अनुपस्थित शिक्षककै नाममा चेक जारी गरी सट्टा शिक्षकलाई भुक्तानी दिएकाले मतियारका रुपमा अख्तियारले प्रतिवादी बनाएको छ ।