उद्योग परिसंघले भन्यो, ‘उद्योगहरूमा लोडसेडिङ्गले लगानी र उत्पादनमा गम्भीर असर पर्छ’

काठमाडौँ । नेपाल उद्योग परिसंघले उद्योगहरूमा पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ्ग गरिएकोमा गम्भीर आपत्ति प्रकट गरेको छ। परिसंघका अनुसार नेपाल विद्युत प्राधिकरणले उद्योग क्षेत्रलाई विद्युत आपूर्ति नगरी उत्पादनमा गम्भीर असर पुर्याएको छ, जसले उत्पादन लागतमा वृद्धि गरेको छ।
अघिल्लो समय पनि विद्युत प्राधिकरणले नेपालका उद्योगहरूमा लोडसेडिङ्ग गर्दै विद्युत निर्यात गरेको थियो, जसका कारण उद्योगहरूले नियमित विद्युत आपूर्तिमा समस्या भोगेका थिए। यसले उद्योगहरूको उत्पादनमा ठूलो असर पुर्याउँदै लागत वृद्धि गराएको थियो। अहिले पुनः उद्योगहरूमा १२ घण्टासम्म लोडसेडिङ्ग गरिँदा उद्योग क्षेत्र थप प्रताडित भएको परिसंघको भनाइ छ।
परिसंघले यस घटनालाई नेपालमा लगानीको वातावरणमा गम्भीर असर पुर्याउने कदमको रूपमा लिएको छ। स्वदेशी उद्योगहरूको प्रबद्र्धन गर्ने र निजी क्षेत्रको मनोबल बढाउने प्रयासमा सरकार रहेको अवस्थामा विद्युत प्राधिकरणको यस्तो कदमले उद्योगलाई मर्माहत बनाएको छ।
नेपालको विकासका लागि आवश्यक विद्युत आपूर्तिमा रहेको असन्तुलन र लोडसेडिङ्गको समस्या समाधान गर्न परिसंघले सरकार र विद्युत प्राधिकरणसँग तत्काल ध्यान दिन अनुरोध गरेको छ। ‘विद्युत कुनै पनि उद्योगका लागि कच्चा पदार्थ हो। यसको अभावले उत्पादनलाई रोक्छ, र देशको औद्योगिक विकासलाई थप अवरोध पुर्याउँछ’ परिसंघले भन्यो ।