सुस्त पुँजी बजारः फाइनान्सका लगानीकर्ता डुब्दै, किन लगानीकर्ता पर्ख र हेरको स्थितिमा ?

काठमाडौँ । पछिल्ला दिनमा शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । नेप्से सूचक २७०० को मनोवैज्ञानिक विन्दुबाट समेत तल झरेपछि बजारमा बिक्री चाप (सेलिङ प्रेसर) बढेको देखिन्छ । राजनीतिक अस्थिरता, नीतिगत अन्योल र बजारमा माग पक्ष कमजोर हुँदा लगानीकर्ताहरू ‘वेट एन्ड वाच’ को स्थितिमा रहेका छन् ।
निरन्तर घट्दो बजारको पछाडि कुनै ठोस आर्थिक कारण नभएको जानकारहरू बताउँछन् । तर, सत्ता समीकरणमा फेरबदल हुन सक्ने अड्कल, सरकारको आर्थिक नीतिबारे अन्योल र बजारप्रतिको विश्वास कमजोर हुँदा लगानीकर्ता दोधारमा परेका छन् । सामाजिक सञ्जाल तथा प्रविधि विश्लेषणमा आधारित कारोबारले पनि बजारलाई थप प्रभावित पारेको छ ।
बजार घट्दै जाँदा उधारो कारोबार गर्ने लगानीकर्ता बढी प्रभावित भएका छन्। उधारो सेयर किन्नेहरू बजार घट्दा सेटलमेन्टका लागि सेयर बेच्न बाध्य हुने भएकाले सप्लाई चाप बढेको देखिन्छ। तर, बैंकिङ प्रणालीमा तरलता प्रशस्त भएको, ब्याजदर निकै तल्लो विन्दुमा रहेको र चक्रीय रूपमा बजारले बियरिस ट्रेन्ड पार गरिसकेको भन्दै विश्लेषकहरू भने बुल रनको संकेत देखिरहेका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ं १२.३८ अंकले घटेर २६६९.७६ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको ९५ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अबए ५६ करोड रुपैयाँको कारोबार भएको हो ।
पछिल्लो समय फाइनान्स कम्पनीका लगानीकर्ताको शेयर मूल्य निरन्तर घट्दो क्रममा रहेको छ । बुधबार सर्वाधिक घट्ने सूचीमा रहेको फाइनान्स समूहले आज पनि सोहि निरन्तरता दिएको छ । आज फाइनान्स समूहको शेयर मूल्य १.३५ प्रतिशतले घटेको छ ।
आज जीवन बीमा समूहको शेयर मूल्य मात्रै ०.०३ प्रतिशतले बढेकोछ । अन्य १२ उपसूचक नै राताम्य भएका हुन् ।
यसदिन ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको घटेको छ ।