‘स्टार्टअप’ ऋणबाट ५०० युवालाई उद्यमशील बनाइने : प्रधानमन्त्री ओली

७ चैत्र २०८१, बिहीबार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा उद्यमशीलता प्रवर्द्धन गर्न ‘स्टार्टअप’ ऋण सहायता कार्यक्रममार्फत कम्तीमा ५०० उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने कार्यक्रम अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले स्टार्टअपमा आधारित उद्यमशीलता विकासका लागि लगानीकर्तालाई आकर्षित गर्ने नीति अवलम्बन गरिएको बताए।

प्रधानमन्त्री ओलीका अनुसार सरकारले स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दिगो आधार तयार गर्ने लक्ष्य लिएको छ। यसै उद्देश्यले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सम्पन्न भइसकेको जानकारी दिँदै उनले अहिलेको विश्वव्यवस्था खुला भएकाले रोजगार, अध्ययन तथा व्यवसायका लागि विदेशी मुलुक जानु स्वाभाविक भएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले नेपाली युवाको विदेशप्रतिको आकर्षणलाई पूरै नकारात्मक रूपमा लिन नहुने बताए। उनले भने, ‘व्यक्तिगत तवरमा विदेश जानुलाई गौरवको रूपमा लिने तर सामाजिक रूपमा नकारात्मक अर्थमा बुझ्ने दोहोरो चरित्रका कारण गलत सन्देश गएको छ। हिजो सीमित विकल्प थिए, तर आज विश्वव्यापी अवसरहरू खुलेका छन्। हाम्रो युवाले पनि त्यसको लाभ लिइरहेका छन्।’

तर, उनले सरकार स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ सचेत रहेको प्रष्ट पार्दै उद्यमशीलता प्रवर्द्धनका लागि विभिन्न योजनाहरू कार्यान्वयन गरिरहेको बताए।

प्रधानमन्त्री ओलीले मुलुकमा औद्योगिक लगानीको वातावरण सुधार गर्दै स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले उत्पादन तथा उत्पादकत्व बढाउँदै रोजगारी सिर्जना गर्ने, आयात व्यवस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने लक्ष्यसहित व्यवसायमैत्री कानुन निर्माण गरिएको उल्लेख गरे।

उनका अनुसार आर्थिक क्षेत्रलाई सशक्त बनाउन नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण तयार पारिएको छ। सरकारले युवालाई स्वरोजगार र उद्यमशील बनाउन विशेष योजना ल्याएको भन्दै प्रधानमन्त्री ओलीले स्टार्टअप ऋण कार्यक्रमले नवउद्यमीहरूलाई आर्थिक सशक्तीकरण गर्ने विश्वास व्यक्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*