एलन मस्कविरुद्ध चर्किंदै विरोध: टेस्लाका गाडी जलाइए, आन्दोलन उग्र

७ चैत्र २०८१, बिहीबार १३:४०

काठमाडौँ ।  एलन मस्कको पछिल्ला गतिविधिप्रति असन्तुष्ट हुँदै विश्वभर टेस्ला गाडी बहिष्कारको लहर चर्किएको छ। अमेरिकी सरकारका कर्मचारीहरूलाई हटाउने शैलीदेखि लिएर जर्मनीको संसदीय चुनावअघि दक्षिणपन्थी पार्टीको समर्थनमा सार्वजनिक अभिव्यक्ति दिनु, बेलायतका प्रधानमन्त्री कीर स्टार्मरविरुद्ध अनलाइन आक्रमण गर्नु तथा अमेरिकी संघीय खर्च कटौतीका लागि गठन गरिएको ‘डिपार्टमेन्ट फर गभर्मेन्ट इफिसेन्सी’  को नेतृत्व सम्हाल्नुजस्ता कदमले धेरैलाई रुष्ट बनाएको छ।

बेन नामका एक इलेक्ट्रिक कार समर्थक जसले बेलायतमा हरित व्यवसाय प्रवर्द्धन गर्ने एक सञ्चार संस्था चलाउँछन्, अब टेस्लाको मोडल वाई गाडी बेच्ने निर्णयमा पुगेका छन्। मस्कको कार्यशैलीप्रति उनले गहिरो असन्तुष्टि जनाउँदै भने, ‘म ध्रुवीकरणको पक्षपाती होइन। कुनै काम गर्दा दयालु तरिकाले गर्नुपर्छ, जसले कसैलाई अपमानित महसुस गराउँदैन। म अपमानजनक व्यवहार रुचाउँदिन।’

मस्कविरुद्धको असन्तुष्टि व्यापक रूपमा देखिएको छ। अमेरिका, क्यानडा, बेलायत, जर्मनी र पोर्चुगलमा टेस्ला डिलरसिप बाहिर प्रदर्शन भएका छन्। अधिकांश प्रदर्शनहरू शान्तिपूर्ण भए पनि कतिपय स्थानमा टेस्ला शोरुम, चार्जिङ स्टेशन तथा गाडीहरू तोडफोड र आगजनीको निशानामा परेका छन्। फ्रान्स र जर्मनीमा केही टेस्ला गाडी जलाइएको छ।

विशेषगरी टेस्लाको साइबर्ट्रक विद्रोहको मुख्य निशानामा परेको देखिन्छ। सामाजिक सञ्जालमा फैलिएका केही भिडियोहरूमा साइबर्ट्रकलाई नाजी चिन्हले रंगाइएको, फोहोरले ढाकिएको र स्केटबोर्ड र्याम्पको रूपमा प्रयोग गरिएको देखिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्लाप्रति समर्थन जनाउँदै ह्वाइट हाउस बाहिर टेस्लाका गाडी प्रदर्शन गर्न अनुमति दिएका छन्। उनले टेस्ला शोरुमहरूमा हिंसात्मक आक्रमणलाई ‘घरेलु आतंकवाद’ को संज्ञा दिएका छन्।

मस्कले भने यो हिंसालाई तीव्र विरोध गर्दै भने, ‘टेस्ला केवल इलेक्ट्रिक गाडी बनाउने कम्पनी हो। हामीले यस्ता जघन्य आक्रमण सहनुपर्ने कुनै कारण छैन।’

यस विरोध अभियानले टेस्लाको व्यापारमा कति असर परेको छ भन्ने यकिन गर्न गाह्रो भए पनि मस्कको राजनीतिक हस्तक्षेपले परम्परागत इलेक्ट्रिक गाडी ग्राहकलाई टेस्लाबाट विमुख गरिरहेको आँकलन गर्न सकिन्छ। यस्तो अवस्थामा, मस्ककै नेतृत्वमा टेस्लाले विगतको सफलता दोहोर्याउन सक्ला त?

एजेन्सिको सहयोगमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*