गोर्खाज फाइनान्स गम्भीर संकटमा, संचालक समितिको झगडा उत्कर्षमा

काठमाडौँ । सञ्चालक समितिको लफडाले गोर्खाज फाइनान्स लिमिटेड गम्भीर संकटतर्फ धकेलिएको छ । सञ्चालक समितिबीचको झगडा उत्कर्षमा पुग्दा कम्पनी वित्तीय रुपमा टाट पल्टिने अवस्थामा आइपुगेको हो । संञ्चालक, ब्यवस्थापक र शेयरधनीहरुबीच अहिले संस्थामा आन्तरिक द्धन्द्ध सिर्जना भइरहेको छ ।
गत भदौमा सन्तोष कुमार घिमिरेले सञ्चालक समितिको आन्तरिक विवादकै कारण सीईओ पदबाट राजीनामा थिए । सो पश्चात २०८१ साल पुष १४ गते बसेको गोर्खाज फाइनान्सको एकथरी सञ्चालक समितिको ५०३ बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष १८ गतेदेखि लागु हुने गरी प्रकाश चन्द्र अधिकारीलाई नियुक्त गरेको थियो । अधिकारीलाई नियुक्तलाई लिएर सञ्चालकहरुबीच मतभेद भयो । उक्त मतभेद सञ्चालक समितिमा मात्रै सीमित नरहि ब्यवस्थापकीय र शेयरधनीहरुमा समेत पुग्यो ।
विवादै विवादकाबीच कम्पनीले पुष २९ गते बोलाएको ३०औं वार्षिक साधारण सभा समेत भाँडिएयो । पुष २९ गते बिहान ११ बजे पानस बैंक्वेट एण्ड इभेन्ट भेन्यु बसुन्धरामा बस्ने भनिएको साधारण सभा सुरु हुन नपाउँदै व्यवस्थापन समिति र सञ्चालक समितिबीचको आन्तरिक विवाद सतहमा आएपछि सभा स्थगित भएको थियो ।
सभामा कम्पनीका व्यवस्थापन समितिले काम गर्न नसकेको र गोर्खाज फाइनान्स आफ्ना मान्छे भर्ति गराउने स्थानमा परिणत भएको शेयरधनीहरुले आरोप लगाइएको थिए । यससँगै, सञ्चालक समितिले गैरकानुनी रूपमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको विषयमा गम्भीर प्रश्न उठेपछि साधारण सभा अव्यवस्थित बनेको र बैठक नै स्थगित गर्नुपरेको थियो । स्थगित सभा कम्पनीले हालसम्म बोलाउन सकेको छैन । जसको कारण हो कम्पनी भित्रै भइरहेको आन्तरित द्धन्द्ध ।
गोर्खाज फाइनान्सको अध्यक्ष गौरव बुढाथोकीका साथै सञ्चालक सदस्यहरूमा कल्पना खापुङ, युबराज राई, नरेन्द्र कुमार अग्रवाल, र निलम बोहरा रहेका छन् । तर, सञ्चालक समितिभित्रै विभाजन देखिएको छ, जसका कारण व्यवस्थापन प्रक्रियामा असहमति चुलिएको छ ।
उक्त असहमति अझै साम्य हुन सकेको छैन । फेरी अर्काथरी सञ्चालक समितिले सीईओ अधिकारीलाई पदमुक्त गरेको छ । कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको ५१०औं बैठकले अधिकारीलाई सीइओ नियुक्त गरेको ५०३ औं बैठकको निर्णय खारेज गरेको हो । उक्त निर्णय खारेज भएसँगै संस्थाका प्रमुख कार्यकारी अधिकृत अधिकारी पनि पदमुक्त भएका छन् ।
कमजोर वित्तीय अवस्थामा रहेको गोर्खाज फाइनान्स सञ्चालक र व्यवस्थापन पक्षबीचको गहिरो विवादका कारण थप संकटतर्फ उन्मुख भएको छ । संस्थाको ऋण व्यवस्थापन क्षमता शून्यप्रायः रहेको र खराब कर्जाको मात्रा लगातार बढ्दै गएपछि यसले गम्भीर वित्तीय जोखिमको संकेत गरिरहेको छ । सञ्चालक समितिमा जारी अस्थिरता, संस्थाभित्रको चलखेल र स्पष्ट रणनीतिक अभावले गर्दा कम्पनीको भविष्य अन्योलमा परेको छ ।
वित्तीय सूचकहरूको गिरावट र कम्पनीको लापरबाहीपूर्ण सञ्चालनप्रति शेयरधनीहरूले गम्भीर असन्तोष व्यक्त गरेका छन् । वित्तीय अवस्था सुधार गर्ने कुनै ठोस योजना अगाडि नबढाइएका कारण शेयरधनीहरू निराश बनेका छन् । उनीहरूका अनुसार कम्पनीले हालसम्म कुनै प्रभावकारी सुधार योजना सार्वजनिक गर्न नसकेको र व्यवस्थापन पक्षले उपयुक्त मार्गनिर्देशन गर्न असफल भएको छ ।
संस्थाभित्र सञ्चालकहरूबीचको विवाद गहिरिँदै गएको र एकअर्काबीच विश्वासको वातावरण नरहेको देखिन्छ । यसले गर्दा आवश्यक निर्णयहरू समयमा लिन नसक्ने अवस्था सिर्जना भएको छ । व्यवस्थापन पक्ष र सञ्चालकहरूबीच तालमेल नहुँदा कम्पनीको रणनीति अन्योलमा परेको छ भने शेयर बजारमा समेत यसले नकारात्मक प्रभाव पार्ने सम्भावना देखिएको छ । गोर्खाज फाइनान्सका समस्या समाधान गर्न कुनै ठोस पहल नभएमा कम्पनी झन् गम्भीर संकटतर्फ धकेलिन सक्ने संकेत देखिएको छ ।
सञ्चालकहरूबीचको झगडाले संस्थाको प्रतिष्ठामा समेत आँच पुर्याएको छ, जसले गर्दा वित्तीय स्थायित्व कायम गर्न झन् कठिन हुँदै गएको छ । यदि तत्कालै ठोस सुधार योजना अघि सारिएन भने कम्पनी टाट पल्टिने सम्भावना बलियो देखिन्छ । शेयरधनीहरू यस विषयमा गम्भीर छलफलको माग गरिरहेका छन्, तर अहिलेसम्म व्यवस्थापन पक्षबाट प्रभावकारी कदम उठाइएको छैन । वित्तीय नियामक निकायले पनि संस्थाभित्र देखिएको अस्थिरता र सञ्चालक विवादलाई नजिकबाट नियालिरहेको छ । यदि कम्पनीको वित्तीय स्थिति थप बिग्रिँदै गएमा नियामक हस्तक्षेपको सम्भावना समेत देखिएको छ । अहिलेको परिस्थिति सुधार गर्न आन्तरिक व्यवस्थापन सुदृढ गर्दै कर्जाको स्तरोन्नति र सञ्चालक समितिको स्थिरता सुनिश्चित गर्नु आवश्यक देखिएको छ ।
कम्पनीमा यसै मतभेद भइरहने हो लगानीकर्ता लगानी डुब्ने खतरा उत्पन्न भएको छ । वित्तीय अवस्थामा संकटको बाटो हिडि रहेको गोर्खाजका सञ्चालकहरुको विवादले कम्पनीको भविष्यप्रति नै अन्यौल बढेको छ ।