वित्तीय रुपमा भयावह स्थितिमा नारायणी डेभलपमेन्ट, दोस्रो बजारमा शेयर मूल्य उचालिदै

७ चैत्र २०८१, बिहीबार ११:११

काठमाडौँ । पछिल्लो समय नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था निरन्तर खस्किँदै गएको छ । सन् २००१ देखि सेवा सञ्चालन गर्दै आइरहेको बैंक वित्तीय चेपटामा परि रहेको हो । कम्पनीको खराब कर्जा चुलिदै जादा कम्पनी दर्दनाथ अवस्थामा आइपुगेको हो ।

पछिल्लो समय बैंकले पूँजी वृद्धि तथा वित्तीय स्थायित्वका लागि विभिन्न प्रयास गरिरहेको छ, तर चुनौती भने कायमै देखिन्छ । बैंकको आर्थिक अवस्था पछिल्लो समय उतारचढावपूर्ण रहेको छ । माघ २०८१ (जनवरी २०२५) सम्म आइपुग्दा बैंकले करीब ५ करोड रुपैयाँको घाटा व्यहोरेको छ । गत आर्थिक वर्ष (२०२३/२४) मा २ करोड नाफा आर्जन गरेको भए पनि चालु आर्थिक वर्षको पहिलो छ महिनामा नोक्सान व्यहोर्नु परेको छ । यस अवधिमा बैंकको कुल सम्पत्ति पनि घटेर ७६७ करोड रुपैयाँबाट ६१० करोड रुपैयाँमा झरेको छ, जसले बैंकको वित्तीय अवस्था सन्तोषजनक नरहेको देखाएको छ ।

बैंकको कर्जा प्रवाहमा पनि उल्लेखनीय घटावट आएको छ । आर्थिक वर्ष २०२३/२४ को अन्त्यसम्म ४०५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले चालु वर्षको पहिलो छ महिनामा मात्र ३६४ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सकेको छ । कुल सम्पत्तिमा आएको गिरावट र कर्जामा आएको घटावट बैंकको ऋण व्यवस्थापन चुनौतीपूर्ण रहेको संकेत दिएको छ ।

बैंकको औसत कर्जामा प्रतिफल अघिल्लो वर्ष १६.२१ प्रतिशत रहेकोमा चालु वर्षको माघसम्म १४.२२ प्रतिशतमा झरेको छ । यो गिरावट बैंकको आम्दानी क्षमतामा असर पार्ने संकेत दिन्छ । त्यसैगरी, निक्षेप संकलन लागत भने ७.४० प्रतिशतबाट ७.७६ प्रतिशत पुगेको छ, जसले बैंकको सञ्चालन खर्चमा वृद्धि भएको देखाउँछ । बैंकको मुख्य आम्दानी स्रोत ब्याज आम्दानी हो, तर चालु वर्षको पहिलो छ महिनामा यसको स्थिति नकारात्मक देखिएको छ । गत वर्ष १४ करोड रुपैयाँको खुद ब्याज आम्दानी रहेकोमा यस वर्ष माघसम्म आइपुग्दा ३ करोड रुपैयाँको नोक्सान देखिएको छ । बैंकको औसत सम्पत्तिमा खुद ब्याज मार्जिन पनि नकारात्मक (–०.९७ प्रतिशत) पुगेको छ, जसले बैंकको सञ्चालन मोडेल सुधार आवश्यक रहेको देखाएको छ ।

बैंकले सञ्चालन खर्चलाई तुलनात्मक रूपमा कम गर्न प्रयास गरे पनि यसको प्रभाव उल्लेखनीय देखिएको छैन । अघिल्लो वर्ष ६.५१ प्रतिशत रहेको सञ्चालन खर्च चालु वर्षको पहिलो छ महिनामा ६.६६ प्रतिशत मा पुगेको छ । यो अनुपात अझै पनि उच्च देखिन्छ, जसले गर्दा बैंकको मुनाफामा दबाब परिरहेको छ । बैंकको सबैभन्दा ठूलो चुनौती गैर–प्रदर्शनकारी कर्जा हो, जुन हाल ४३.५६ प्रतिशत रहेको छ । यो अत्यधिक उच्च अनुपात हो जसले बैंकको वित्तीय स्थायित्वलाई गम्भीर रूपमा प्रभावित गरेको छ । त्यस्तै, पूँजी पर्याप्तता अनुपात पनि न्यून १.१९ प्रतिशत मात्र रहेको छ, जुन बैंकको जोखिम सहन क्षमताका लागि निकै कमजोर मानिएको छ ।

कर्जा प्रावधान र कुल सम्पत्तिको अनुपात सन् २०२१ मा नकारात्मक (–५.२४प्रतिशत) रहेकोमा २०२२ र २०२३ मा क्रमशः १२.०६ प्रतिशत र १३.२१ प्रतिशत पुग्यो । तर, २०२४ मा यो पुनः नकारात्मक (–४.९१ प्रतिशत) भएको छ, जुन २०२५ को जनवरीसम्म आइपुग्दा (–९.०१ प्रतिशत) मा झरेको छ। यसको अर्थ, बैंकले कर्जा जोखिम न्यूनीकरणका लागि आवश्यक प्रावधान घटाइरहेको देखिन्छ, जुन भविष्यमा झन् ठूलो वित्तीय संकट निम्त्याउन सक्छ ।

कर–पछिको नाफाको कुल सम्पत्तिसँगको अनुपात सन् २०२१ देखि २०२३ सम्म लगातार नकारात्मक रह्यो । २०२२ मा –१५.२५ प्रतिशत र २०२३ मा –१२.८४ प्रतिशत रहेको देखिन्छ । २०२४ मा पहिलो पटक सकारात्मक (०.३० प्रतिशत) भएको थियो, तर २०२५ को जनवरीसम्म पुनः –१.५३ प्रतिशत मा झरेको छ। कर–पछिको नाफाको नेट वर्थसँगको अनुपात पनि निकै कमजोर देखिन्छ । २०२१ मा –१९.४५ प्रतिशत रहेको यो अनुपात २०२२ मा –५३.५९ प्रतिशत र २०२३ मा –९४.३८ प्रतिशत पुग्यो । २०२४ मा सुधार भएर ३.५९ प्रतिशतमा पुगेको भए पनि, २०२५ को जनवरीसम्म पुनः –१५.८७ प्रतिशत मा झरेको छ ।

बैंकको गैर–प्रदर्शनकारी कर्जा दर भने निकै भयावह अवस्थामा पुगेको छ । २०२१ मा ९.७४% रहेको उक्त दर २०२२ मा १४.१६ प्रतिशत, २०२३ मा २७.३२ प्रतिशत, २०२४ मा ३५.२१ प्रतिशत हुँदै २०२५ को जनवरीसम्म आइपुग्दा ४३.५६ प्रतिशत मा पुगेको छ। बैंकको पूँजी पर्याप्तता अनुपात पनि लगातार घटिरहेको देखिन्छ । २०२१ मा ५८.४७ प्रतिशत रहेको पूँजी पर्याप्तता अनुपात २०२२ मा २२.६३ प्रतिशत, २०२३ मा ४.६८ प्रतिशतमा झरेको थियो। २०२४ मा ८.५६ प्रतिशतसम्म सुधार भए पनि २०२५ को जनवरीसम्म आइपुग्दा यो दर १.१९ प्रतिशतमा झरेको छ। नेपालको वित्तीय नियमन अनुसार बैंकको उक्त न्यूनतम ११ प्रतिशत हुनुपर्नेमा यो निकै कमजोर अवस्थामा पुगेको छ ।

त्यस्तै, टियर पूँजी पनि २०२१ मा ५७.८५ प्रतिशत बाट घटेर २०२२ मा २१.७९ प्रतिशत र २०२३ मा ३.१५ प्रतिशतमा झर्यो । २०२४ मा केही सुधार भएर ७.५९ प्रतिशत पुगे पनि २०२५ को जनवरीसम्म मात्र ०.३२ प्रतिशत बाँकी रहेको देखिन्छ । नेट एनपिएलको नेट वर्थसँगको अनुपात पनि २०२१ मा ०.६४ प्रतिशत मात्र रहेकोमा २०२३ मा ३४.४० प्रतिशत र २०२४ मा २४.१६ प्रतिशत पुगेको थियो । २०२५ को जनवरीसम्म आइपुग्दा भने यो अनुपात ६३.२८ प्रतिशत पुगेको छ ।

बैंकको तरल सम्पत्तिको कुल दायित्वहरूसँगको अनुपात २०२१ मा ४७.५९ प्रतिशत रहेकोमा २०२२ मा २७.४४ प्रतिशतमा झरेको थियो । २०२३ मा २९.९८ प्रतिशत पुगेपछि २०२४ मा सुधार भएर ४८.७५ प्रतिशत पुगेको देखिन्छ । २०२५ को जनवरीसम्म यो ४३.९४ प्रतिशतमा झरेको छ । बैंकको कुल कर्जा प्रवाह र कुल निक्षेपको अनुपात २०२१ मा ९५.९०प्रतिशत रहेकोमा २०२२ मा १०४.७० प्रतिशत पुगेर उच्च जोखिमयुक्त स्थितिमा थियो । तर, २०२३ मा ८६.५३ प्रतिशत हुँदै २०२४ मा ६४.१४ प्रतिशतमा झरेको देखिन्छ । २०२५ को जनवरीसम्म यो दर ७२.३७ प्रतिशत पुगेको छ ।

नारायणी डेभलपमेन्ट बैंकको वित्तीय सूचकहरू हेर्दा, बैंक गम्भीर वित्तीय संकटको सामना गरिरहेको स्पष्ट देखिन्छ । गैर–प्रदर्शनकारी कर्जाको उच्च दर, पूँजी पर्याप्तताको अभाव, तथा लगातार नाफामा गिरावटले बैंकको वित्तीय स्थायित्वलाई चुनौती दिएको छ ।

पुँजी बजारमा अनौठो नाच

बैंक वित्तीय रूपमा निकै कमजोर अवस्थामा पुगेको छ । खराब कर्जा लगातार बढ्दै गएको छ, जसका कारण नेपाल राष्ट्र बैंकले यसलाई टेकओभर गर्ने तयारी गरिरहेको छ । बैंकको वित्तीय अवस्था दिनप्रतिदिन झन् संकटग्रस्त बन्दै गएको बेला पुँजी बजारमा भने यसको शेयर मूल्य अस्वाभाविक रूपमा उच्च रहनु आश्चर्यजनक देखिन्छ ।

शेयर बजारका लगानीकर्ताले यसको वास्तविक वित्तीय स्थिति नबुझी पैसा बगाइरहेका छन् । सीमित व्यक्तिहरूको चलखेलले बैंकको शेयर मूल्य अनावश्यक रूपमा उचालिएको देखिन्छ, जसले पुँजी बजारमा कृत्रिम उतार–चढ़ाव ल्याएको छ । यस्तो स्थितिमा शेयर किन्ने साना लगानीकर्ताहरूको सम्पत्ति जोखिममा पर्दै गएको छ ।

यो प्रवृत्ति पुँजी बजारका लागि निकै खतरनाक संकेत हो । कमजोर वित्तीय अवस्था भएका संस्थाहरूको शेयर मूल्य जबरजस्ती बढाइँदा आम लगानीकर्ताहरू ठगिने सम्भावना उच्च हुन्छ । नारायणी डेभलपमेन्ट बैंक जस्तो संस्थाको यथार्थ बुझे बिना लगानी गर्नु भनेको बालुवामा पानी हाल्नु सरह हो, जसले अन्ततः साना लगानीकर्तालाई ठूलो नोक्सानमा पार्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*