पुनर्बीमा प्रयोजनका लागि विदेशी मुद्रा सटही प्रक्रिया सरल बनाउन नयाँ व्यवस्था

७ चैत्र २०८१, बिहीबार ०८:३०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा प्रयोजनका लागि विदेशी मुद्रा सटही प्रक्रियालाई थप प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। यस अन्तर्गत विदेशी मुद्रा सटहीका लागि आवश्यक कागजात पेश गर्न सबै निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिइएको छ।

नयाँ व्यवस्थाअनुसार यदि कुनै बीमा कम्पनीले फ्याकेल्टेटिभ पुनर्बीमाका लागि विदेशमा रकम पठाउनका लागि बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम नेपालका पुनर्बीमकलाई प्रस्ताव गरेको प्रमाण पेश गर्नुपर्नेछ। साथै नेपालका पुनर्बीमा कम्पनीहरूले २४ घण्टाभित्र उक्त प्रस्ताव अस्वीकार गरेको प्रमाण पनि अनिवार्य रूपमा बुझाउनु पर्नेछ।

त्यसैगरी विदेशी पुनर्बीमा कम्पनीसँग सम्झौता गर्दा उक्त कम्पनी पुनर्बीमा निर्देशिका, २०८० अनुसार मान्य हुनुपर्ने व्यवस्था गरिएको छ। साथै विदेशी पुनर्बीमा कम्पनीलाई भुक्तानी गरेपछि प्रत्येक त्रैमासक अन्त्य भएको १५ दिनभित्र उक्त रकम पाएको प्रमाण नेपाल बीमा प्राधिकरणमा पेश गर्नु पर्नेछ।

विदेशी मुद्रा सटहीका लागि बीमकले नेपाल बीमा प्राधिकरणमा पेश गर्ने पत्रमा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर अनिवार्य हुनुपर्नेछ। साथै सटही प्रयोजनका लागि पेश गरिने सबै कागजातमा बीमा कम्पनीको छाप र सम्बन्धित कर्मचारीको हस्ताक्षर हुनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*