१ अर्ब २३ करोड कर्जा लगानीसहित तादी घ्याङफेदी आयोजना निर्माण अघि बढ्ने

काठमाडौं । तादी घ्याङफेदी जलविद्युत परियोजना निर्माणका लागि एबीपी इनर्जी प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच ऋण लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ बैंकका क्रेडिट हेड अमित श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण हुन लागेको ८ मेगावाट क्षमताको यो जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। आयोजनाको ७५ प्रतिशत रकम अर्थात् १ अर्ब २३ करोड रुपैयाँ दीर्घकालीन ऋणमार्फत व्यवस्थापन गर्न सिद्धार्थ बैंकसँग सहमति भएको छ भने बाँकी २५ प्रतिशत लगानी प्रवद्र्धकहरूको स्वपुँजीबाट जुटाइनेछ।
यस आयोजनाको प्रवद्र्धन अनुभवी लगानीकर्ताहरूको समूहले गरिरहेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का महासचिव बलराम खतिवडा सूचना प्रविधि क्षेत्रका अनुभवी असगर अली लगायत कम्पनीका सञ्चालक हुन्।
कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठ यसअघि नुवाकोटमा सञ्चालनमा रहेको बुद्धभूमि हाइड्रोपावर लिमिटेडको नेतृत्व गरिसकेका छन् भने उनी एटलस इनर्जी र ह्याप्पी इनर्जीमा पनि संलग्न छन्। त्यस्तै बलराम खतिवडा बुद्धभूमि हाइड्रोपावर, बराह मल्टीपावर, एटलस इनर्जी लगायतका कम्पनीका अध्यक्ष तथा निर्देशक हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार असगर अली पनि कम्पनीका प्रमुख लगानीकर्ता हुन्।परियोजना निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। वाणिज्यिक उत्पादनको लक्ष्य मिति २०८४ साल वैशाख ३१ तोकिएको छ।
उर्जामात्रै नभई पर्यटन प्रवर्द्धनमा पनि आयोजनाले योगदान गर्ने लक्ष्य लिएको छ। इप्पानका महासचिव एवं आयोजनाका निर्देशक बलराम खतिवडाका अनुसार परियोजना गोसाइंकुण्ड जाने ट्रेकिङ मार्गमा अवस्थित भएकाले निर्माणाधीन क्याम्प हाउसलाई होमस्टेमा परिणत गर्दै पर्यटकलाई हस्पिटालिटी सेवा दिन सकिनेछ।
२०७८ असार ३१ मा विद्युत विकास विभागबाट उत्पादन अनुमति प्राप्त यस आयोजनाले सोही वर्ष भदौ २७ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद-बिक्री सम्झौता गरिसकेको छ। परियोजनाले वार्षिक ४ करोड ८७ लाख युनिट विद्युत उत्पादन गर्नेछ भने वार्षिक आम्दानी करिब २९ करोड रुपैयाँ हुने अनुमान गरिएको छ। सुख्खायाममा १५.९७ गिगावाट आवर र वर्षायाममा ३२.७७ गिगावाट आवर ऊर्जा उत्पादन हुने प्रक्षेपण गरिएको छ।
३ हजार ९०० मिटर पाइपलाइन र ४४६ मिटर हेड रहने यस जलविद्युत आयोजनाको डिजाइन डिस्चार्ज २.२ क्यूसेक छ।उत्पादन लक्ष्य, वित्तीय व्यवस्थापन र हाइड्रो पर्यटन प्रवर्द्धनका योजनासहित अघि बढाइएको तादी घ्याङफेदी जलविद्युत आयोजनाले नेपालका ऊर्जा र पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।