टोयोटा ब्रान्डका गाडी नेपालमा बिक्री हुनै सकस, व्यापार खुम्चिँदा युनाइटेड ट्रेडर्स संकटमा

६ चैत्र २०८१, बुधबार १२:००

काठमाडौँ । पछिल्लो समय नेपाली अटो बजारमा सबैभन्दा कम कुनै गाडी देखिन्छ भने त्यो हो टोयोटा ब्रान्ड ! ग्राहकहरुको नजर टोयोटा ब्रान्डका गाडी तिर जानै छोडेको तथ्याङ्गले देखाइरहेको छ । कम्पनी गाडी बिक्री हुनै छोडेपछि नेपालमा टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि धरापमा परेको छ । वित्तीय अवस्था कम्पनी दर्दनाक हुन पुगेको छ ।

कमजोर मागका साथै अन्य आन्तरिक दहन इञ्जिन भएका गाडीहरूको कडा प्रतिस्पर्धा तथा पछिल्ला वर्षहरूमा द्रुत रूपमा बढ्दै गएका विद्युतीय गाडीहरूले चुनौती थपिरहेका छन् । विश्व बजारमा टोयोटाका ईभी गाडि आइसकेको भएपनि नेपालमा भने कम्पनीले भित्र्याएको छैन । ईभीको दबदबा बढ्दै गएको अवस्था टोयोटा बिक्री हुन सकस परी रहेको हो । टोयोटाले ‘अर्बन क्रुजर’ ईभी गाडी नेपाल पठाउने तयारी गरिरहेको छ । अर्बन क्रुजरमा ४९ र ६१ किलोवाट आवरका दुई ब्याट्री विकल्पहरू उपलब्ध छन्, तर कुन ब्याट्री क्षमता भएको गाडी पहिले नेपाल आउने हो भन्ने कुरा कम्पनीले खुलाएको छैन।

टोयोटा गाडीको बिक्रीमा घटौतीको मुख्य कारण यसको गुणस्तर र प्रतिस्पर्धामा कमजोर हुनु पनी हो । अन्य ब्रान्डका इन्धन गाडीहरू जस्तै निसान र सुजुकी नेपालमा सन्तोषजनक बिक्री भइरहेका छन्, जबकि टोयोटा गाडीहरू ग्राहकको अपेक्षामा नपुग्दा बजारमा माग घटेको देखिन्छ। टोयोटाले आफ्नो प्रतिस्पर्धात्मक गुणस्तरलाई सुधार गर्न नसकेको र अन्य सस्तो विकल्पहरू उपलब्ध हुने कारण बिक्रीमा कमी आएको हो। टोयोटाका गाडीहरूमा नयाँ मोडेलहरूको कमी र ग्राहकको बदलिँदो आवश्यकता पुरा नगर्नु पनि यसको बिक्री घट्नमा प्रमुख कारण बनेको छ।

केयर रेटिङ नेपालका अनुसार कम्पनीको पछिल्ला तीन वर्षका वित्तीय सूचकहरूले यसको व्यापारिक स्थितिमा ठूलो गिरावट आएको देखाएका छन् । टोयोटा गाडीको बिक्रीमा आएको गिरावटका कारण कम्पनीको सञ्चालन आम्दानी लगातार घटेको छ । सन् २०२२ मा ७ अर्ब ६१ करोड ५० लाख रुपैयाँ आम्दानी रहेकोमा सन् २०२३ मा झरेर ३ अर्ब ६५ करोड ६० लाख रुपैयाँमा सीमित भयो । सन् २०२४ मा झन् खस्कँदै ३ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ । तीन वर्षको अवधिमा कम्पनीको आम्दानी झन्डै ६० प्रतिशतले ओरालो लागेको छ, जसको मुख्य कारण टोयोटा गाडीको बिक्री अत्यन्तै कमजोर हुनु हो ।

यस्तै, संचालन नाफा मार्जिनले पनि कम्पनीको व्यापारिक स्वास्थ्य चिन्ताजनक रहेको देखाएको छ । सन् २२ मा ११.०७ प्रतिशत रहेको मार्जिन सन् २०२३ मा ११.१२ प्रतिशत र सन् २०२४ मा ११.१४ प्रतिशत मात्र रह्यो । बिक्री घटे पनि मार्जिन स्थिर देखिनु कम्पनीको लागत व्यवस्थापनमा कठिनाइ रहेको देखिएको छ । कम्पनीको ऋणभार केही घटे पनि यो अझै उच्च नै रहेको छ । सन् २०२२ मा २.४५ गुणा रहेको यो अनुपात सन् २३ मा २.४१ गुणा र सन् २४ मा १.७४ गुणामा झरेको छ । ऋण तिर्ने क्षमतामा कमजोरी देखिएकोले नै कम्पनीलाई ऋण कम गर्न बाध्य बनाएको अनुमान गर्न सकिन्छ ।

कर्जाको सेवा गर्ने क्षमतामा आएको ठूलो गिरावटले कम्पनीको वित्तीय संकट गहिरिँदै गएको स्पष्ट देखिन्छ । ब्याज तिर्ने क्षमताको सूचक सन् २०२२ मा ३.७१ गुणा रहेकामा सन् सन् २०२३ मा १.१६ गुणामा झ¥यो । सन् २०२४ मा केही सुधार हुँदै १.५९ गुणा भए पनि यो अझै न्यून स्तरमै छ । ब्याज तिर्ने क्षमताको कमजोर सूचकले कम्पनी ऋणको भार थेग्न सक्ने अवस्थामा नरहेको देखिन्छ ।

कम्पनीको हालको अनुपात भने अस्थिर रूपमा चलिरहेको छ । सन् २२ मा १.१५ गुणा रहेको यो अनुपात सन् २३ मा १.६५ गुणामा पुगेको थियो । तर, सन् २०२४ मा अचानक ३.५३ गुणासम्म उक्लिएको छ । यसको अर्थ कम्पनीले धेरै तरल सम्पत्ति जम्मा गर्न बाध्य भएको छ । सबैभन्दा डरलाग्दो तथ्यांक भने कुल ऋण–स्थूल नगद आम्दानी अनुपात हो । सन् २०२२ मा यो अनुपात ६.६८ गुणा रहेकोमा सन् २०२३ मा अत्यधिक बढेर ४३.०५ गुणा पुग्यो । सन् २०२४ मा केही सुधार हुँदै १४.८० गुणामा झरे पनि यो अझै खतरनाक स्तरमै छ ।

टोयोटा गाडीको बिक्री अत्यन्त कमजोर भएपछि युनाइटेड ट्रेडर्स सिन्डिकेटको व्यापारमा लगातार गिरावट आइरहेको छ । वित्तीय सूचकहरूको विश्लेषण गर्दा कम्पनीको भविष्य अन्योलपूर्ण देखिन्छ । यदि टोयोटा गाडीको माग पुनः वृद्धि भएन भने कम्पनीको वित्तीय संकट अझै गहिरिन सक्ने देखिन्छ । कम्पनीले नेपालका प्रमुख शहरहरूमा १० वटा डिलरहरूमार्फत आफ्नो व्यवसाय संचालन गर्दै आएको छ । यी शहरहरूमा काठमाडौं, ललितपुर, पोखरा, चितवन, बुटवल, विराटनगर, जनकपुर, धनगढी, नेपालगञ्ज र झापा रहेका छन् । यस कम्पनीसँग आफ्नै तीन वटा सोरुम छन्, जसमा एउटा गाडी बिक्रीका लागि र दुई वटा स्पेयर पाट्र्स बिक्रीका लागि छुट्टयाइएका छन् , त्यस्तै, कम्पनीले आफ्नै दुईवटा सर्भिस सेन्टरसमेत सञ्चालन गरिरहेको छ ।

केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीको दीर्घकालीन बैंक सुविधाहरूको लागि ’केयर एनपि बि प्लस’ रेटिङ र छोटो कालीन बैंक सुविधाहरूको लागि ’केयर एनपि ए४’ रेटिङलाई पुनः पुष्टि गरेको छ । दीर्घकालीन बैंक सुविधाको रकम १,२६७.७२ मिलियन र छोटो कालीन बैंक सुविधाको रकम १,७६०.०० मिलियन रुपैयाँ रहेको छ । कुल बैंक सुविधाहरूको रकम ३,०२७.७२ मिलियन रुपैयाँ रहेको छ ।

युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेड १८ जुन १९७१ मा डा. विजय जी. वैद्यद्वारा स्थापना गरिएको हो । तर, टोयोटा गाडी, स्पेयर पाट्र्स तथा सेवाको व्यापार कम्पनीले १९६७ देखि नै सुरु गरिसकेको थियो । कम्पनीको स्वामित्व तीन मुख्य सेयरधनीहरूमा विभाजित छ ।सुरज वैद्यको ६० प्रतिशत, ऋतु सिंह वैद्यको ३० प्रतिशत रसुसान वैद्य श्रेष्ठको १० प्रतिशत स्वामित्व रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*