लेखा समितिमा परेका १०० उजुरीमध्ये ४८ वटा उजुरीमा छलफल गर्ने

५ चैत्र २०८१, मंगलवार १६:४०

काठमाडौं । सार्वजनिक लेखा समितिमा परेका १०० उजुरीमध्ये ४८ वटा उजुरीमा छलफल गर्ने भएको छ । मंगलबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

समितिमा परेका उजुरीबारे अध्ययन गर्न नेपाली कांग्रेसका सांसद सञ्जय गौतम नेतृत्वमा उपसमिति गठन गरिएको थियो । उक्त उपसमितिले १०० मध्ये ४८ वटा उजुरीमाथि छलफल गर्नु उपयुक्त हुने उपसमितिले निष्कर्ष निकालेको छ ।

त्यस्तै समितिले आफ्नो २३ औँ वार्षिक प्रतिवेदन यही चैत १५ गतेभित्र पारित गरेर सदन पठाउने निर्णय गरेको छ ।

उनका अनुसार प्रतिवेदनका सन्दर्भमा बाँकी रहेका प्राविधिक कुराहरूमा सच्याउनुपर्ने भए चैत १० गतेभित्र अध्ययन गरेर सुझाव दिन आग्रह गरिएको छ ।

समिति सभापति पोखरेले उजुरीहरू लामो समयसम्म राख्दा अप्ठ्यारो हुने भन्दै आउँदो चैत १५ गतेसम्म टुंग्याउनुपर्ने बताए ।

बुधबारदेखि नियमित २ घण्टा बैठक राखेर समितिमा परेकामध्ये ४८ उजुरीको टुंगो लगाउनुपर्ने उनको भनाइ थियो ।

बैठकमा बोल्दै सांसदहरूले समितिमा उजुरी पर्ने क्रम बढिरहेको उल्लेख गर्दै प्राथमिकीकरण गरी हेरिनुपर्ने धारणा राखेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*