सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा फेरि २५ करोड नगदसहित समातिए (तस्बीरहरू)

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गाविस–९ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ मा बस्दै आएका ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा रहेका छन्।
लामाले अवैध रूपमा विदेशी मुद्रा कारोबार गरिरहेको सूचना पाएपछि प्रहरीले अप्रेशन चलाएर चैत ४ गते बेलुकी करिब ११ बजे टोखा नगरपालिका–२ झोरमा ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। खानतलासी गर्दा ट्रकको “वोनट” ड्राइभर बस्ने कोठाको (क्याबिनको बायाँतर्फको) माथिल्लो भागमा फल्सबटम बनाएर लुकाई छिपाई ल्याएको अमेरिकी डलर, यूरो लगायतका अवैध मुद्राहरू फेला पारेको थियो।
प्रहरीले लामाको साथबाट १०० दरका ३११९ थान र ५० दरका १७९ थान अमेरिकी डलर, ५०० दरका ११ थान, २०० दरका ४८० थान, १०० दरका ४ हजार १४८ थान र ५० दरका १७ हजार १७७ थान यूरो र एउटा मोबाईल थान र पैसा ओसारपसारमा प्रयोग गरिएको मालबाहक ट्रक बरामद गरेको छ।
प्रहरीले आज दिउँसो लामालाई पत्रकार सम्मलेन मार्फत् सार्वजनिक गरेको हो। लामालाई थप कारवाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार उनी यसअघि ७ किलो सुन सहित कलंकीबाट पक्राउ परेर २०७८ सालमा छुटेका थिए। यसरी जेलबाट छुटेको केही समयपछि पुनः समातिएका छन्।