आरआर क्याम्पसमा स्ववियु स्थगित भएपछि स्वतन्त्र विद्यार्थी समूहको भर्त्सना

काठमाडौं । रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा निर्धारित कार्यतालिका अनुसार मंगलबार सम्पन्न हुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ। स्वतन्त्र विद्यार्थी समूहले निर्वाचन स्थगनप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई ‘सत्ता र शक्तिको आडमा गरिएको घृणित र अनैतिक कार्य’ भन्दै भर्त्सना गरेको छ।
समूहका अनुसार क्याम्पस प्रशासनमार्फत मतदाता नामावली र सम्पर्क नम्बर सार्वजनिक हुनु र फर्जी परिचयपत्र वितरणजस्ता गतिविधिले निर्वाचनको विश्वसनीयता र निष्पक्षतामा गम्भीर प्रश्न उठाएको छ।
निर्वाचनको अघिल्लो रात क्याम्पसमा तालाबन्दी गर्नु विद्यार्थीहरूको मताधिकारमाथि प्रहार भएको स्वतन्त्र विद्यार्थी समूहको आरोप छ। दशकौँदेखि जरो गाडेर बसेका विद्यार्थी संगठनहरू पराजयको भयले गठबन्धन र भौतिक आक्रमणपछि निर्वाचन नै रोक्न लागेको समूहको दाबी छ।
स्वतन्त्र विद्यार्थी समूहले निष्पक्ष निर्वाचन सुनिश्चित गर्दै तत्काल प्रक्रिया अघि बढाउन क्याम्पस प्रशासन र निर्वाचन समितिसँग माग गरेको छ।