चन्द्रागिरी हिल्सद्वारा पैदलयात्रा गरेर मन्दिरमा पुगेका दर्शनार्थीसँग १०० रुपैयाँ शुल्क असुली

काठमाडौं । काठमाडौंको उत्तर पश्चिमतर्फ रहेको चन्द्रागिरी हिल्सले भालेश्वर मन्दिरमा जाने पैदलयात्रुसँग गैर कानुनी रुपमा प्रतिव्यक्ति १०० रुपैयाँ असुली गरिरहेको तथ्य फेला परेको छ ।
चन्द्रागिरी केवलकार र चन्द्रागिरी नगरपालिकाको मिलेमतोमा चन्द्रागिरी पहाडमा रहेको प्रशिद्ध भालेश्वर मन्दिरको दर्शनार्थीसँग १०० रुपैयाँ प्रवेश शुल्क असुली हुँदा समेत स्थानीय राजनीतिक दलका नेताहरु, चन्द्रागिरी नगरपालिका र प्रहरीले समेत कुनै चासो देखाएको छैन ।
सार्वजनिक वन क्षेत्रलाई अतिक्रमण गरी केवलकार निर्माण गरेको चन्द्रागिरी हिल्सलाई सरकारले केवलकारको भाडा मात्रै उठाउन अनुमति दिएको छ । तर, अहिले आम्दानी बढाउन भन्दै चन्द्रागिरी हिल्सले राष्ट्रिय वन क्षेत्रमा निजि सुरक्षा गार्ड राखेर दैनिक लाखौं रुपैयाँ रकम उठाइरहेको छ । बीमापोष्टलाई प्राप्त एक रसिदमा ९१२६ नम्वर उल्लेख भएको पाइएको छ । सो आधारमा चन्द्रागिरी हिल्सले करिब १० हजार जनासँग रकम उठाइसकेको छ । विगत तीन महिनादेखि रकम उठाउँदै आएको चन्द्रागिरी हिल्सले हालसम्म करिब ५० लाख रुपैयाँ उठाइसकेको बताइन्छ ।
चन्द्रागिरी नगरपालिकाका प्रबक्ता तथा वडा नं ४ का अध्यक्ष कृष्ण प्रसाद खड्गीले चन्द्रागिरी नगरपालिकाले रकम असुली गर्न अनुमति नदिएको बताए पनि रकम उठाएको कुरा स्वीकार गरे । ‘प्रबक्ता खड्गीले भने, ‘त्यहाँ धेरै मान्छे हिडेर जाने, बाहिरको खाजाहरु लगेर खाने गरेर दुःख दिएकोले त्यसो गरेको हो । उनले चन्द्रागिरी हिल्सले पैदलयात्रीसँग रकम उठाइरहेको सूचना भएको बताउँदै उनीहरुको कम्पाउण्ड क्षेत्रमा प्रवेशका लागि पैसा उठाएको हुनसक्ने बताए ।
थानकोटका स्थानीयबासीले भने चन्द्रागिरी हिल्सले उठाएको रकम अबैध भएको भन्दै विरोध जनाउँदै आएका छन् । चन्द्रागिरी हिल्सले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्नुपर्ने भएपनि थानकोटका केही सीमित एमाले, माओवादी र कांग्रेसका नेताहरुलाई केवलकारमा हालेर चन्द्रागिरी हिल्सको रिसोर्टमा पुर्याएर भव्य भोजसहित सत्कार गरेर सार्वजनिक सुनुवाई गरेको भन्दै फोटो खिचाएर टार्ने गरिएको छ ।
उता, चन्द्रागिरी हिल्सले भने स्थानीय नगरपालिकाबाटै अनुमति लिएर रकम उठाएको स्वीकार गरेको छ । चन्द्रागिरी हिल्स स्रोतका अनुसार थानकोट भन्दा बाहिरका जनतासँग रकम उठाइएको हो । चन्द्रागिरी डाँडामा रहेको भालेश्वर मन्दिरमा पुगेका पैदलयात्रीसँग रकम उठाएको सम्बन्धमा स्थानीय तहबाटै चर्को विरोध भएपछि चन्द्रागिरी हिल्सका अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा बैठक नै बसेर विरोधको प्रतिवाद गर्ने र १०० रुपैयाँ शुल्क लिने निर्णय कार्यान्वयन गर्न थप निर्देशन दिने निर्णय गरिएको छ । चन्द्रागिरी हिल्सको आन्तरिक बैठकमा शनिबार एकै दिन करिब ३०० जति मानिसहरु आउने भएकोले अत्याधिक फोहोर भएको, हेल्मेट राख्न समस्या भएको भन्दै रकम उठाउने निर्णयको बचाउन गर्न कर्मचारीहरुलाई सिकाइएको छ । साथै बृद्ध, बृद्धा, विद्यार्थीसँग रकम नलिइएको पनि कम्पनीका अधिकारीहरुको भनाई छ ।
उता, चन्द्रागिरी हिल्सका कम्पनी सचिव झलकराज शर्माले रकम उठाएको हुन पनि सक्छ, नहुन पनि सक्छ, आफै फिल्डमा आएर बुझ्न आग्रह गर्दै थप प्रष्टिकरण दिन चाहेनन् । चन्द्रागिरी हिल्सका अध्यक्ष हेमराज ढकालसँग सो सम्बन्धमा जिज्ञाशा राख्दा कुनै जवाफ दिन चाहेनन् ।
चन्द्र ढकालको लुटतन्त्र !
चोरहरु लखेटौ