टिकेन नेप्सेको वृद्धिः कारोबारमा पहिरो जाँदा परिसूचक खुम्चियो, किन धेरै घट्यो विकास बैंक ?

३ चैत्र २०८१, आईतवार १५:०७

काठमाडौँ । सात दिनसम्म लगातार ओरालो लागेको शेयर बजार एक दिन मात्रै हरियो देखिएर पुनः घट्ने क्रममा गएको छ । शुक्रबार दोहोरो अंकले बढेको बजार आइतबार पुनः ओरालो लागेको हो । लगानीकर्ताको मनोबल कमजोर रहँदा बजारमा स्थायित्व कायम हुन सकेको छैन ।

बजार निरन्तर घट्दा पनि फन्डामेन्टल रूपमा बलिया कम्पनीहरुको सेयर मूल्यसमेत घटेको छ । अनुभवी लगानीकर्ताले यस्तो अवस्थामा बजारलाई अवसरको रूपमा हेर्ने गर्छन् भने अल्पकालीन सोच राख्ने लगानीकर्ताहरु हतारिएर शेयर बिक्री गर्न खोज्ने प्रवृत्ति देखिन्छ । घटेको बजारमा सही कम्पनी छनोट गर्न सके जोखिम कम गर्दै दीर्घकालीन फाइदा लिन सकिन्छ ।

बजार वृद्धिका लागि विभिन्न सकारात्मक पक्षहरु देखिएका छन् । बैंक ब्याजदर न्यून छ, प्रणालीमा तरलता प्रशस्त रहेको छ, साथै सरकार र नियामक निकाय पनि सेयर बजारप्रति सकारात्मक छन् । अघिल्लो समय कडा बनाइएका नीतिहरू क्रमशः खुकुलो पारिँदै गएका छन्, जसले लगानीकर्ताको आत्मविश्वास बढाउने संकेत गर्छ ।

बैंकहरुले मुद्दति निक्षेपमा दिँदै आएको ब्याजदर घटेपछि म्युचुअल फन्ड, बिमा कम्पनीसहित संस्थागत लगानीकर्ताहरूले सेयर बजारलाई प्राथमिकता दिइरहेका छन् । बजारले लामो समयको बियरिस अवस्था पार गरिसकेको छ, जसले बुल रनको संकेत दिन्छ । तर, आम लगानीकर्ताले बलियो वित्तीय अवस्था भएका, निरन्तर लाभांश दिने कम्पनीहरूमा लगानी केन्द्रित गर्दा जोखिम कम गर्न सक्ने देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.६३ अकंले घटेर २७१४.८५ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको १ करोड ३९ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ ।

आज व्यापार समूह बाहेक अन्य १२ वटै उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको सर्वाधिक २.२५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

यसदिन ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*