परिस्थिति ठीक गर्न धैर्यताका साथ लाग्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठीक गर्न धैर्यताका साथ लागि पर्ने बताएका छन्। आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘महिला नेतृत्व शिखर सम्मेलन’मा बोल्दै ओलीले योजनाका साथ सक्रियता र धैयर्तापूर्वक अघि बढिरहेको दाबी गरेका हुन्।
‘हामी योजनाहीन होइन योजनाबद्ध सक्रियतामा अघि बढ्छौँ। निराशामा उभिएर होइन आशावादीताकासाथ अघि बढ्छौं’, उनले थपे, ‘जबसम्म परिस्थिति ठीक हुँदैन तबसम्म हामी योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्नेछौँ।’
सरकार भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्नका लागि संकल्पका साथ अघि बढिरहेको प्रधानमन्त्रीले दाबी गरेका छन्। उनले नेपालमा अहिले झुटको खेती धेरै हुने गरेको भन्दै सही र गलत छुट्याएर अघि बढ्न जरुरी रहेको औंल्याए।
ओलीले आशावादीताका साथ अघि बढ्दा र योजनासहित अघि बढ्दा असम्भव भन्ने कुनै कुरा नहुने समेत बताए। उनले लोकतन्त्र एउटा राजमार्ग भएको र राजमार्गमा ब्याक गेयर लगाउने चलन नभएकाले निरन्तर रूपले अघि बढ्ने समेत बताए।