आईएमएफद्वारा ईसीएफ अन्तर्गत नेपाललाई ५.८१ अर्ब निकासा गर्ने, अर्थतन्त्र अझै मन्दीमै

३ चैत्र २०८१, आईतवार १३:२२

काठमाडौँ ।  देशको आर्थिक अवस्था चुनौतीपूर्ण बन्दै गइरहेको बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ)अन्तर्गतको पाँचौं किस्ता दिने निर्णय गरेको छ। यससँगै नेपालले पाँच अर्ब ८१ करोड रुपैयाँ (करिब चार करोड १८ लाख अमेरिकी डलर) प्राप्त गर्नेछ।

नेपालको अर्थतन्त्र हाल आन्तरिक मागको कमजोर वृद्धिदर, राजस्व संकलनमा आएको गिरावट तथा पुँजीगत खर्चमा अपेक्षाकृत सुधार नआउनुजस्ता समस्याबाट गुज्रिरहेको छ। आईएमएफले समेत यी चुनौतीलाई स्वीकार्दै नेपालले पछिल्ला केही वर्षमा आर्थिक सुधारका प्रयास जारी राखे पनि अपेक्षित परिणाम प्राप्त गर्न नसकेको औंल्याएको छ।

आईएमएफको पछिल्लो प्रक्षेपण अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ४.२ प्रतिशत रहनेछ, जुन सरकारले तय गरेको ६ प्रतिशत लक्ष्यभन्दा निकै कम हो। आर्थिक गतिविधि सुस्त हुँदा बजार मागमा सुधार आउन सकेको छैन भने राजस्व संकलनमा समेत गिरावट देखिएको छ।

पछिल्ला बाढीपहिरो तथा भूकम्पले भौतिक क्षति पुर्‍याएपछि पुनर्निर्माणका लागि खर्च गर्नुपर्ने बाध्यता रहेको छ। तर, पुँजीगत खर्च सुस्त गतिमा अगाडि बढ्दा पूर्वाधार विकासमा गति आउन सकेको छैन। आईएमएफको अनुमान अनुसार चालु वर्षको औसत मुद्रास्फीति ५.२ प्रतिशत हाराहारी रहनेछ, जुन सरकारको लक्ष्यभन्दा कम भए पनि महँगी नियन्त्रणमा पर्याप्त मान्न सकिँदैन। यसअघि सरकारले मुद्रास्फीति ६.५ प्रतिशतभन्दा कम राख्ने लक्ष्य लिएको थियो।

नेपालको विदेशी मुद्रा सञ्चिति कमजोर भएपछि सन् २०२२ मा सरकारलाई वित्तीय संकट टार्न आईएमएफबाट ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको ईसीएफ सहायता लिएको थियो। तर, अर्थतन्त्रमा सुधार आउन ढिलाइ हुँदा नेपालले पुनः सोही सुविधा अन्तर्गतको पाँचौं किस्ता लिन बाध्य भएको देखिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*