७९.८९% ले बढ्यो बैंकहरुको गैरबैंकिङ्ग सम्पत्तिः ग्लोबल र हिमालयनको सबैभन्दा धेरै, कुनसँग कति ?

३ चैत्र २०८१, आईतवार ११:४५

काठमाडौँ । वाणिज्य बैंकहरूको गैरबैंकिङ्ग सम्पत्ति चालु आर्थिक वर्षको ७ महिनामा उल्लेख्य रूपमा वृद्धि भएको छ । हाल संचालनमा रहेका वाणिज्य बैंकको गैरबैंकिङ्ग सम्पत्ति चालु आवको माघ मसान्तसम्मको अवधिमा ७९.८९ प्रतिशतले बढेको हो ।

बैंकहरूले नउठेको कर्जाको धितो लिलाम बिक्री हुन नसकेपछि आफैंले स्वीकृत गरेर राख्ने सम्पत्तिलाई गैरबैंकिङ्ग सम्पत्ति मानिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३५ अर्ब ८२ करोड ५८ लाख रुपैयाँ पुगेको छ । यो रकम गत आर्थिक वर्षको सोहि अवधिमा १९ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुली गर्न नसक्दा ऋणीहरूले राखेको धितो लिलामीमार्फत बिक्री हुन नसकेपछि ती सम्पत्ति आफैंले स्वामित्वमा लिनुपर्ने अवस्था आउँछ। बैंकहरूको प्राथमिक व्यवसाय कर्जा प्रवाह तथा वित्तीय सेवा प्रदान गर्नु भए पनि यस्तो सम्पत्ति उनीहरूले वैकल्पिक रूपमा राख्नुपरेका कारण यसलाई गैरबैंकिङ्ग सम्पत्ति भनिन्छ। पछिल्लो समय बैंकहरूले लिलामीमार्फत धितो बिक्रीमा अपेक्षित सफलता प्राप्त गर्न नसक्दा गैरबैंकिङ्ग सम्पत्तिको मात्रा बढ्दै गएको छ, जसले बैंकहरूको वित्तीय व्यवस्थापनलाई थप चुनौतीपूर्ण बनाएको छ ।

गैरबैंकिङ्ग सम्पत्तिको वृद्धिले बैंकहरूको सम्पत्ति व्यवस्थापन क्षमतामाथि प्रश्न उठाउनुका साथै कर्जा उठाउन रणनीतिक पुनर्विचार आवश्यक बनाएको छ । लामो समयसम्म यस्ता सम्पत्तिहरू बैंकको स्वामित्वमा रहिरहँदा नगद प्रवाहमा असर पार्ने भएकाले बैंकहरूलाई थप दबाब बढेको देखिन्छ। जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्दै वित्तीय संस्थाहरूले गैरबैंकिङ्ग सम्पत्ति न्यूनीकरण गर्न प्रभावकारी रणनीति अपनाउनुपर्ने आवश्यकता छ, अन्यथा यसले समग्र बैंकिङ प्रणालीमा दीर्घकालीन प्रभाव पार्न सक्छ।

गैरबैंकिङ्ग सम्पत्ति धेरै हुने वाणिज्य बैंकमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको गैरबैंकिङ्ग सम्पत्ति १६८ प्रतिशतले बढेर ५ अर्ब ८६ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त सम्पत्ति २ अर्ब १८ करोड १६ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा गैरबैंकिङ्ग सम्पत्ति धेरै हुने दोस्रो स्थानमा रहेको हिमालयन बैंक रहेको छ । चालु आवको ७ महिनामा हिमालयनसँग ४ अर्ब ४८ करोड ७२ लाख रुपैयाँको गैरबैंकिङ्ग सम्पत्ति रहेको छ ।

त्यस्तै, एनआईसी एशिया बैंकको गैरबैंकिङ्ग सम्पत्ति २३ प्रतिशतले बढेर ४ अर्ब ११ करोड, नबिल बैंकको १४५ प्रतिशतले बढेर ३ अर्ब ६६ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५६ प्रतिशतले बढेर ३ अर्ब १० करोड, कुमारी बैंकको ५० प्रतिशतले बढेर २ अर्ब ६५ करोड र प्राइम बैंकको २ प्रतिशतले घटेर २ अर्ब २ करोड रुपैयाँ रहेको छ ।

३ अर्ब ६३ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६५.५० प्रतिशतले बढेर ३ अर्ब ३ करोड, कुमारी बैंकको ७७.१० प्रतिशतले बढेर २ अर्ब ६६ करोड, नबिल बैंकको ४५.०६ प्रतिशतले बढेर २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

चालु आवको माघ मसान्तसम्ममा लक्ष्मी सनराइजको १३ प्रतिशतले बढेर १ अर्ब ६० करोड, प्रभु बैंकको १२९ प्रतिशतले बढेर १ अर्ब २५ करोड, एनएमबि बैंकको ४५ प्रतिशतले बढेर १ अर्ब १५ करोड, सिटिजन्स बैंकको २५१ प्रतिशतले बढेर १ अर्ब ५ करोड, कृषि विकास बैंकको ३०३ प्रतिशतले बढेर १ अर्ब १ करोड रुपैयाँ गैरबैंकिङ्ग सम्पत्ति पुगेको छ ।

अन्य ७ बैंकको गैरबैंकिङ्ग सम्पत्ति भने १ अर्ब तल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*