मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको भीम युपिआई सेवाः बैंक खाताबाटै भेटी चढाउन सकिने

३ चैत्र २०८१, आईतवार ११:३४

काठमाडौं । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवाको शुभारम्भ भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित विशेष समारोहमार्फत उक्त सेवा सुरु गरिएको हो।

भीम युपिआई सेवाको थालनीसँगै अब भारतका नागरिकहरूले आफ्नै बैंक खाताबाट क्युआर कोड स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान तथा अन्य भुक्तानी डिजिटल माध्यमबाट गर्न सक्नेछन्। यसले भारतीय भक्तजनलाई सहज भुक्तानी प्रणाली उपलब्ध गराउनुका साथै नेपाल–भारत वित्तीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास बैंकले गरेको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले डिजिटल भुक्तानी प्रणाली प्रवद्र्धन गर्दै वित्तीय समावेशनलाई बलियो बनाउने उद्देश्यसहित नेपाल राष्ट्र बैंक ‘डिजिटल नेपाल’ अभियानमा प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, डिजिटल भुक्तानीलाई सर्वसुलभ बनाउन सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।

समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ती सापकोटा, पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपक राज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समिति तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

प्रभु बैंकका प्रतिनिधिहरूले बैंक प्रविधिमा निरन्तर अग्रसर रहँदै देशभर ७७ जिल्लामा ३१२ शाखा तथा ६७ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको जानकारी गराए।

भीम युपिआई सेवाको शुभारम्भ नेपालमा डिजिटल वित्तीय सेवाको विस्तारतर्फ एक महत्वपूर्ण उपलब्धि भएको भन्दै राष्ट्र बैंकका पदाधिकारीहरूले यो सेवा भक्तजनका लागि सुरक्षित, पारदर्शी तथा सरल हुने विश्वास व्यक्त गरे। अब भक्तजनहरूले मुक्तिनाथ मन्दिरमा डिजिटल भुक्तानीको सहज सुविधा अनुभव गर्न सक्ने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*