बीमा प्राधिकरणमै बीमा दावी मुद्दा छिनोफानो गर्न औपचारिक इजलास सञ्चालन गरिने

२८ फाल्गुन २०८१, बुधबार २१:०६

काठमाडौं । नेपाल बीमा प्राधिकरणमै अब बीमा दावी सम्बन्धी मुद्दाहरु औपचारिक रुपमा इजलास नै बनाएर बहस चलाउने भएका छन् ।बीमा नियामावलीको व्यवस्था कार्यान्वयन गर्दै प्राधिकरणले यो व्यवस्था कार्यान्वयन गरेको हो ।

बीमा प्राधिकरणले आज सार्वजनिक गरेको निर्णय अनुसार आगामी २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि ईजलाश संचालन गरिने छ । यसअघि बैठक कक्षमा सञ्चालक समितिको बैठकलाई इजलासकै रुपमा सञ्चालन गर्दै मुद्दाको छिनोफानो हुँदै आएको थियो ।

प्राधिकरण संचालक समितिको यही २०८१ साल फागुन २७ गते बसेको बैठकले मिति २०८२/०१/०१ गतेदेखि लागू हुने गरी प्राधिकरणमा दायर भएका बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाई गर्ने प्रयोजनको निम्ति प्राधिकरणको भवनमा ईजलाश संचालनका लागि भौतिक व्यवस्था तथा अन्य आवश्यक तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको हो ।

साथै प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बीमा दाबी उजुरीहरूको हकमा साप्ताहिक तथा अन्य पेशी सुची र निर्णयहरू प्राधिकरणको वेभसाईट डब्लुडब्लुडब्लु एनआईए डट जिओभी डटएनपी मार्फत प्रकाशन गर्न समेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको हो । नयाँ निर्णयसँगै अब बीमितहरुले आफ्नो मुद्दाको पालो कहिले आउनेछ भनेर अनलाईनबाटै पनि थाहा पाउन सक्नेछन् । त्यसैगरी, बीमा कम्पनीहरुले पनि आफ्नो मुद्दा सजिलै थाहा पाउने भएका छन् ।

बीमा प्राधिकरणमा मुद्दाको चाप बढिरहेको सन्दर्भमा नयाँ निर्णयले बीमा सम्बन्धी न्यायिक निरुपण अझै प्रभावकारी हुने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*