एक दर्जन बीमा कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनश र नगद कति ?

काठमाडौं । नेपालमा सञ्चालन रहेका ११ बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये आव २०८०/८१ को सञ्चित मुनाफाबाट ५ जीवन बीमक र ६ निर्जीवन बीमकले लगानीकर्ताका लागि लाभांश प्रस्ताव गरेका हुन् ।
सुचीकृत बीमा कम्पनीहरुले विशेषगरी माघदेखि चैत महिनासम्म बीमा कम्पनीहरुका लागि लाभांश सिजन मान्न सकिन्छ । नेप्सेमा सूचीकृत २४ बीमा कम्पनीहरुमध्ये ११ कम्पनीले लाभांश घोषणा गरिसकेका छन् ।
नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम चुक्तापूँजी पुगिसकेका बीमा कम्पनीले नगदमा बढी जोड दिएका छन् भने पूँजी नपुगेका कम्पनीले तोकेको चुक्तापुँजी पुर्याउने बराबरको मात्रै बोनस घोषणा गरेका छन् । लाभांश प्रस्ताव गरेका बीमकहरुमा अधिकांशले नगद लाभांशमा जोड दिएका छन् ।
लाभांश घोषणा गरेका ११ कम्पनीहरुमा ७ कम्पनीको तोकेको पुँजी पुगिसकेको छ भने तीनको लाभांश वितरणपछि पुग्नेछ । लाभांश घोषणा गर्ने ५ जीवन बीमा कम्पनीहरुमा सुर्यज्योति लाइफ, नेपाल लाइफ, आइएमई लाइफ, सिटिजन लाइफ र सानिमा रिलायन्स लाइफ रहेको छ । जसमा सुर्यज्योति, आइएमई लाइफ र नेपाल लाइफको पुँजी ५ अर्ब रुपैयाँ पुगिसकेको छ भने बोनस सेयर वितरणपछि सिटिजन लाइफ र सानिमा रिलायन्सको पुँजी पुग्नेछ ।
लाभांश घोषणा गरेका निर्जीवन बीमकहरुमा सिद्धार्थ प्रिमियर, शिखर इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल, नेपाल इन्स्योरेन्स र सानिमा जिआइसी रहेको छ । सानिमा जिआइसी र नेपाल इन्स्योरेन्स बाहेक सबैको चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुगिसकेको छ ।
समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुमध्ये सानिमा रिलायन्स लाइफले कुल ९.२४८९ प्रतिशत, सिटिजन लाइफले २८.४०४३ प्रतिशत, आइएमई लाइफले २१.०५२६ प्रतिशत, नेपाल लाइफले २१.०५ प्रतिशत र सूर्यज्योति लाइफले २० प्रतिशत लाभांश घोषणा गरेको छ । यस अवधिमा अधिकांश कम्पनीहरुले वार्षिक साधारण सभा सम्पन्न गरेर प्रस्तावित लाभांश सम्बन्धित शेयरधनीको खातामा समेत पठाइसकेको छ ।
यता, निर्जीवन बीमा कम्पनीहरुमा सानिमा जिआइसी इन्स्योरेन्सले कुल ७.८९४७ प्रतिशत, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ९.७३६८ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० प्रतिशत, शिखर इन्स्योरेन्सले १०.५२६३ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.७५ प्रतिशत र नेपाल इन्स्योरेन्सले १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ ।
नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ पुँजी पुर्याउन दबाब छ । पुँजी बढाउनकै लागि अधिकांश बीमा कम्पनीले हकप्रदको बाटो रोजेका छन् ।