राजनीतिक आडमा आयोजना अलपत्र पार्ने साउदको कम्पनी कालोसूचीमा, लापरवाही र गुणस्तरहीन कार्य गरेको पुष्टि

काठमाडौं । राजनीतिक संरक्षणका कारण विकास निर्माणका आयोजना अलपत्र पार्दै आएको नेपाली कांग्रेस डडेल्धुराका सभापति भिमबहादुर साउद नेतृत्वको राजेन्द्र निर्माण सेवा प्रालि सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा परेको छ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निकट मानिने साउदको कम्पनीलाई अनुगमन कार्यालयले कारबाही गर्दै एक वर्षसम्म सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी सूचीमा राखेको हो।
साउदको कम्पनीले सुदूरपश्चिमका विभिन्न ठेक्काहरू लिँदै समयमा काम नसक्ने, मापदण्ड अनुरूप कार्य नगर्ने तथा आयोजना अलपत्र पार्ने गरेका कारण कारबाही गरिएको हो। धेरै निर्माण योजनाहरूमा लापरवाही देखिएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले सिफारिसका आधारमा कारबाही अघि बढाएको हो।
अनुगमन कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै राजेन्द्र निर्माण सेवासहित १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको छ। ती कम्पनीहरूमध्ये तारालक्ष्मी निर्माण सेवा (गुल्मी), ममता मञ्जु कन्स्ट्रक्सन प्रा.लि. (काठमाडौं), सनम निर्माण सेवा (संखुवासभा), निर्जरा निर्माण सेवा (संखुवासभा), जी.एस. निर्माण संसार कम्पनी प्रा.लि. (काभ्रे) र कमन कन्स्ट्रक्सन (काभ्रे) रहेका छन्।
राजेन्द्र निर्माणले अब एकदेखि डेढ वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्। विशेष गरी सार्वजनिक निर्माण कार्यमा लापरवाही गर्ने, समयमा काम नसक्ने र गुणस्तरहीन कार्य गर्ने ठेकेदार कम्पनीहरूलाई सरकारले कारबाही गर्दै आएको छ।
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का सम्झौताअनुसार काम नगर्ने निर्माण व्यवसायीहरूमाथि निगरानी बढाउँदै कडाइका साथ नियम लागू गर्ने बताएको छ। पुरातत्व विभागको सिफारिसका आधारमा साउद नेतृत्वको राजेन्द्र निर्माण सेवा कालोसूचीमा परेको हो। सरकारको नीति अनुरूप आगामी दिनमा यस्ता लापरवाह ठेकेदार कम्पनीहरूलाई झन् कडा कारबाही गरिने संकेत गरिएको छ।