सहकारी र फाइनान्सको खराव स्थितिले बीमा क्षेत्रमा प्रश्न उठाउन थालेका छन्, अभिकर्ताले डटेर सामना गर्नुपर्छः दुर्गादेवी क्षेत्री (केसी)

नेपाली बीमा क्षेत्रमा परिचित नाम हो, दुर्गादेवि क्षेत्री (केसी) । दोलखा जिल्लामा जन्मिएकी केसी हाल सिटिजन लाइफ इन्स्योरेन्सको महाराजगञ्ज शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत रहेकी छिन् ।
दशौं वर्षदेखि काठमाडौंमा आफ्नै बुटिक व्यवसाय सञ्चालन गर्दै आएकी केसी गत वर्षदेखि नागरिकहरुको बीमा गरि जोखिम हस्तान्तरण गर्दै आएकी छन् । नेपाली युवा–युवतीलाई आफ्नो व्यवसाय गरेर पनि यो बीमा क्षेत्रको प्लेटफर्मको प्रयोग गरि आफूलाई आर्थिक र सामाजिक रुपमा सक्षम बन्न हौसला प्रदान गर्दै अगाडि बढेकी छन् ।
जीवन बीमा पेशालाई आफ्नो जीवनकै अभिन्न अंग बनाउने दृढ निश्चय गरि बीमा पेशामा होमिएकी केसीले भविष्यमा नेपाली जीवन बीमा क्षेत्रको उज्वल भविष्यको रेखा कोर्ने प्रतिवद्धतासाथ काम गरिरहेकी छन् ।
सिटिजन लाइफमा प्रवेश गरेको नौं महिनामै एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल भएकी केसी बीमा क्षेत्रमा लागेर जीवनलाई थप सफल र समृद्ध बन्न सकिन्छ भन्ने उदाहरण दिएकी छन् ।
प्रस्तुत छ, उनै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीकी एजेन्सी एजेन्सी म्यानेजर दुर्गादेवी क्षेत्री केसीसँग बीमापोष्टका लागि राजन कठायतले गरेको कुराकानीको प्रस्तुत अंशः
तपाई बीमा क्षेत्रमा प्रवेश गर्नुभएको कति समय भयो ?
–म बीमा क्षेत्रमा प्रवेश गरेको लगभग नौं महिना भयो । अहिले म सिटिजन लाइफ इन्स्योरेन्सको महाराजगञ्ज शाखा कार्यालयमा एजेन्सी म्यानेजरको रुपमा आवद्ध रहेकी छु ।
अभिकर्ता पेशामा कसरी जोडिनु भयो ? र यसको भविष्य कस्तो देख्नुभएको छ ?
–म यो बीमा क्षेत्रमा गीता रायमाझी म्यामको सल्लाहले जोडिएको हुँ । उहाँले मलाई पटक–पटक आएर बीमाको बारेमा बुझाएर, सम्झाएर, यसरी गर्नुपर्छ । योे क्षेत्र एकदमै राम्रो छ भनेर सम्झाउनु हुन्थ्यो । तर, त्यतिबेला मलाई खासै चाँसो लागेको थिएन् । अनि पछि बीमाको बारेमा म आफ्नैले पनि बुझ्दै गए, विभिन्न पोष्टहरु देखेँ र बीमा क्षेत्रका फाइदाहरु थाहा पाएँ, अनि बल्ल म उहाँको नेतृत्वमा निरन्तर बीमा व्यवसायमा अग्रसर बन्दै गएको छु ।
बीमा व्यवसायमा आएर मैले यस पेशाको एकदमै राम्रो भविष्य देखेको छु । किनभने यो क्षेत्र भनेको नाम, दाम, इज्जत र आर्थिक उन्नतिसहितको पेशा भएको हुँदा मैले बीमा अभिकर्ता पेशाको भविष्य उज्वल देखेकी छु ।
तपाईले बीमा अभिकर्ता पेशालाई मात्र व्यवसायिक बनाउनु भएको छ की, यो बाहेक अन्य कुनै पेशा/व्यवसाय पनि गर्दै हुनुहुन्छ ?
–बीमा व्यवसाय भन्दा अगावै स्न्याप बुटिक व्यवसाय सञ्चालन गरिरहेकी छु । मैले यो व्यवसाय विगत १२–१३ वर्षदेखि निरन्तर रुपमा गरिरहेकी छु । त्यो सँगै अहिले बीमा अभिकर्ता पेशालाई पनि सँगै निरन्तरता दिरहेकी छु । मेरो बुटिक व्यवसाय चाँही मेरो बहिनीहरुले हेरिरहेकी छन् ।
बीमा अभिकर्ता पेशालाई कसरी परिभाषित गर्नुहुन्छ ?
–बीमा अभिकर्ता पेशा चाँही एउटा पुण्यको कामका साथै एउटा सामाजिक पेशा पनि हो । यो चाँही आर्थिक उन्नतिको लागि विश्व बजारमा समेत एकदमै उत्कृष्ट पेशाको रुपमा पुष्टि समेत भएको छ । मानिसलाई दैनिक जीवनमा आइपर्ने हजारौं जोखिमको रक्षावरण गर्ने पेशा भनेकै बीमा व्यवसाय हो ।
बीमाबारे अरुलाई बुझाउँदा उनीहरुको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
–आम नागरिकलाई बीमाको फाइदाका बारेमा बुझाउँदै, बीमा गर्दै लगभग अहिलेसम्मको नौं महिनाको अवधिसम्म पनि सहज रुपले बीमा गरीरहेकी छु । तरपनि कतिपय ठाउँमा बीमा के हो, कस्तो हो ? भोलिको दिनमा बीमा भरपर्दो छ की छैनन् ? बरु त्यो भन्दा त बैंकमा नै बचत गरेर राख्छौ भन्ने प्रतिक्रिया पनि पाएका छौं ।
तर, पछिल्लो समय बीमा गराउनको लागि आम नागरिकहरुलाई राम्रोसँग बुझाउन, सम्झाउन सकेको अवस्थामा बीमा प्रति अधिकांश मानिसहरु सकारात्मक नै रहेका देखिन्छन् । अहिले कतिपय मानिसहरुले मलाई विभिन्न सामाजिक सञ्जाल मार्फत बीमाबारे बुझ्न, जान्न खोज्छन् ।
नागरिकहरुलाई बीमाबारेमा जानकारी दिँदा सहज–असहज कस्तो अवस्था छ ? सजिलो तरिकाले बीमा गर्नुभएको कुनै उदारहण छ ?
–बर्तमान अवस्थामा बीमाबारे नागरिकहरुलाई बुझाउन हामीले सोचेको जति सहज छैन् । मानिसहरुको बुझाईमा आजको देशको परिस्थिति हेर्दा, सहकारी, फाइनान्सहरुको खराब स्थितिले पनि हामीलाई त्यही तरिकाले प्रश्न गर्ने गरेका छन् । बीमा कम्पनीहरु पनि उही सहकारी, फाइनान्स जस्तो हुन्की, के भर छ र भन्दै इन्स्योरेन्स कम्पनीहरु पनि भागेर जान्छन् भन्ने विभिन्न खाले प्रश्नहरु गर्ने गरेका छन् । यस्तै प्रश्नहरुलाई चिर्दै अगाडि बढ्नुपर्ने अवस्था छ ।
मैले बीमालाई मेरो सामाजिक सञ्जाल फेसबुक तथा टिकटक मार्फत पनि जानकारी दिइहेको छु । जसले गर्दा मानिसहरु मसँग बीमाबारे जानकारी लिन्छन् । यो मेरो लागि बीमा गराउने एक सहज माध्यम बन्न पुगेको छ ।
बीमितहरुले सिटिजन लाइफका कस्ता बीमा पोलिसीहरु बढी रुचाउने गरेका छन् ?
–मैले सिटिजन लाइफ इन्स्योरेन्समा एक वर्षको कार्यकाल पूरा गर्दा सिटिजन लाइफका सबै पोलिसीहरु सर्वोत्कृष्ट रहेको पाएकी छु । त्यसमध्येमा पनि बजारमा सबैभन्दा ‘सिटिजन शुभारम्भ योजना’, ‘सिटिजन अग्रिम भुक्तानी’ लगायतका बीमा पोलिसी सबैभन्दा बढी बिक्री भएका छन् ।
तपाईको बुझाईमा नागरिकहरुले किन बीमा गर्ने ?
–मानिसको जीवन हो, भोलिको दिनमा जतिबेला पनि जे पनि हुनसक्छ । हाम्रो जिन्दगीमा कहाँ निर गएर फुलस्टप लाग्न सक्छ र जिन्दगी चल्दै गर्ने क्रममा कतिबेला प्राणघातक रोगले समाउन सक्छ । हामी अस्पतालको बेडसम्म पुग्न सक्छौं । त्यो स्थितिमा अस्पतालको बेडबाट फेसबुकमा सहयोग गरिदिन आग्रह गर्दछु भनेर अपिल गर्नुपर्ने अवस्था नआओस भन्नको लागि बीमा गर्न पनि जरुरी छ जस्तो लाग्छ ।
यदि कही कतै भाग्यले साथ नदिएको अवस्थामा भोलिको दिनमा कुनै दुर्घटना भएर घरको बेडमा लम्पसार पर्नुपर्ने अवस्थामा देखावटी आशु पुछ्न आउँने आफन्तको अगाडि आर्थिक रुपले झुक्न नपरोस् भन्नको लागि पनि आजैबाट आफ्नो गच्छे र क्षमता अनुसारको बीमा गरि सुरक्षित बस्नुपर्छ । मानिसको दुःखको साथी भनेकै बीमा हो । मानिसलाई गरीबीको दलदलमा नपुर्याउन्, आर्थिक समस्या टार्न, अध्ययन तथा विभिन्न अप्ठ्याराको बेलामा काम लाग्ने साधान बीमा हो । त्यसैले समयमै बीमा गर्न आवश्यक छ ।
सिटिजन लाइफमा बीमा अभिकर्ता भएर काम गर्दा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
–सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भएपछि मैले आफ्नो नाम पाएकी छु । सिटिजन लाइफले म को हुँ भनेर मेरो पहिचान दिलाएको छ र मैले १०–११ वर्षसम्म बुटिक सञ्चालन गरेर बस्दा मलाई चिन्न कोही पनि हुँदैनथे । बुटिक गर्ने हो मान्छे हो, त्यहाँ जानुपर्छ भन्ने मात्रै थियो । अहिले सामाजिक सञ्जालभरि मेरो साथीहरु, आफन्तहरु सबैलाई मैले के गरेको छु, भन्ने एउटा पहिचान दिएको छ ।
कुनै समय दुई–चार जना मानिसहरुसँग बोल्न सक्ने हिम्मत थिएन, तर हिजोआज सिटिजन लाइफले मलाई आत्मविश्वासका साथै यो स्तरसम्म बोल्न सक्ने हिम्मत दिएको छ । मैले यसरी आफ्ना साथी सर्कलको अगाडी बोल्न सकुँला, यसरी इन्टरभ्यू समेत दिन सकुँला भनेर सोचेको नि थिएन ! तर मलाई अभिकर्ता पेशा र सिटिजन लाइफले यो स्तरसम्मको बनाएको छ । सिटिजन लाइफ इन्स्योेरेन्ससँग आवद्ध भएर काम गरिरहन पाउँदा म एकदमै सन्तुष्ट छु ।
करिव १ वर्षको अन्तरालमा एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल हुनुभएको छ । यस सफलताको पछाडि लुकीरहेको संर्घष, घरपरिवारको साथ र सहयोगलाई कसरी सम्झिनु हुन्छ ?
–बीमा क्षेत्रमा आवद्ध भएको १ वर्ष पुग्दा नपुग्दै सन् २०२५ को एमडीआरटी बिजेता बन्न सफल भएको छु । कम्पनीमा प्रवेश गरेको दुई महिनामा म कम्पनीको सिल्भर क्लबमा प्रवेश गर्न सफल भएको थिएँ ।
त्यसपछि लगातार सबैलाई इन्स्योरेन्सको बारेमा बुझाउनु तथा सबैसँग सल्लाह गर्ने काम गरिरहेकी थिएँ । आफूले सोचेको आँटेको जस्तो काम भइरहेको थिएन् । साथै, पछि कम्पनीले पोखरामा दिएको तालिममा बोलाएपछि म तालिममा सहभागी भएँ । त्यहाँको तालिमबाट फर्केपछि एमडीआरटी लक्ष्य प्राप्त गर्न १ महिना मात्र समय थियो ।
तर, मलाई एमडीआरटी त जसरी नि हुनुपर्छ भन्ने लाग्यो र सोच बनाए । मैले एक महिनाको अन्तरालमा रात–दिन नभनी सबै आफन्त, विदेश तथा स्वदेशमा रहेका साथीहरुलाई उनीहरुको समयमा सम्पर्क गरेर बीमा प्रस्ताव गरे । यस समयमा मलाई श्रीमानले पनि निकै साथ सहयोग दिनु थियो ।
बीमा अभिकर्ता पेशालाई थप मर्यादित बनाउन कम्पनी र बीमा प्राधिकरणले के गर्नुपर्छ जस्तो लाग्छ ?
–बीमा अभिकर्ता पेशालाई थप मर्यादित तथा व्यवस्थित बनाउनका लागि बीमा कम्पनीहरुले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक छ । तालिम तथा पोलिसीहरुबारे ज्ञान दिनुपर्छ । अभिकर्ताहरुले पहिला आफूलाई बीमाको बारेमा ज्ञान भएसी नै अरुलाई सम्झाउन सक्ने हुन् ।
अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
– मलाई र मेरो सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई विश्वास गरेर बीमा गरीदिनु हुने सम्पूर्ण बीमित, यो यात्रामा सहयोग गरीदिने एजेन्सी, ब्रान्च म्यानेजर तथा मेरो घर परिवारलाई धन्यवाद दिन चाँहान्छु । साथै, आउँदो दिनमा पनि सबैबाट सहयोगको अपेक्षा गरेकी छु ।