प्रिमियममा शेयर जारी गरेको सोनापुर मिनरल्सको वित्तीय अवस्था दर्दनाक, ऋण तिर्ने क्षमता नकारात्मक

२३ फाल्गुन २०८१, शुक्रबार ११:५०

काठमाडौँ । सर्वसाधारण लगानीकर्ताहरुलाई प्रिमियममा आइपीओ निष्कासन गरेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड वित्तीय रुपमा कमजोर बन्दै गएको छ । सर्वसाधारणका लागि १०० रुपैयाँ अङ्कित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा आइपिओ निष्कासन गरेको कम्पनीको वित्तीय सूचक दर्दनाक अवस्थामा आइपुगेको हो ।

कम्पनीले पछिल्ला वर्षहरूमा राजस्व घट्दै गएको, नाफा नरहेकाले ऋण भुक्तानी क्षमतामा समस्या देखिएको तथा वित्तीय सूचकहरूमा गिरावट आएको देखिन्छ । दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता (फागुन २२ गतेको कारोबारमा आधारित) ५०९ रुपैयाँ ८० पैसा मात्र रहेको छ । कम्पनीको आइपीओ कारोबार आएपछि प्रिमियम मूल्य भन्दा नकारात्मक समेत गएको थियो । जसले लगानीकर्ता करोडौ रकम जोखिममा परेको हो ।

कम्पनीको कुल सञ्चालन आम्दानी विगत चार वर्षदेखि निरन्तर ओरालो लागिरहेको छ । सन् २०२१ मा २ अर्ब ९२ करोड २० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२२ मा २ अर्ब ३७ करोड ५० लाख, सन् २०२३ मा १ अर्ब ८० करोड १० लाख र सन् २०२४ मा आइपुग्दा खुम्चिदै १ अर्ब ६४ करोड १० लाख रुपैयाँमा सीमित भएको छ । बजारमा प्रतिस्पर्धी कम्पनीहरु उत्रिदा कम्पनीको सिमेन्ट बिक्री हुन नसकेपछि व्यापार निरन्तर खुम्चि रहेको छ ।

कम्पनीको ब्याज, कर, मूल्यह्रास र अमूर्त सम्पत्ति खर्च अघिको नाफा मार्जिन जसले सञ्चालन नाफाको प्रतिशत दर्शाउँछ, लगातार घट्दै गएको छ । २०२१ मा २२.४० प्रतिशत रहेको मार्जिन २०२२ मा घटेर १८.९८ प्रतिशत, २०२३ मा १९.६३ प्रतिशतमा सीमित रह्यो । तर २०२४ मा कम्पनीको सञ्चालन नाफा नकारात्मक रहेको छ ।

ऋण भुक्तानी क्षमताको सूचक इंट्रेस्ट कभरेज रेसियोमा पनि नराम्रो गिरावट आएको छ । २०२१ मा ३.४८ गुणा रहेको यो अनुपात २०२२ मा २.३१, २०२३ मा १.५३ मा झरेको थियो । तर २०२४ मा कम्पनी घाटामा गएपछि ऋण तिर्ने क्षमता नकारात्मक भएको छ । जसले कम्पनीको वित्तीय अवस्था निकै कमजोर भएको संकेत गर्दछ ।

हाल कम्पनीको करेंट रेसियो जसले छोटो अवधिको दायित्व तिर्ने क्षमतालाई मापन गर्छ, २०२१ मा ०.८७ गुणा मात्र रहेको थियो । २०२२ मा ०.७६ गुणामा झरेको यो सूचक २०२३ देखि केही सुधार भए पनि कम्पनीको सञ्चालन आम्दानी कम हुँदै गएकाले दीर्घकालीन रुपमा स्थायित्वमा प्रश्नचिन्ह खडा भएको छ ।

ऋण लिने अनुपात दर्शाउने ओभरअल गियरिङ रेसियो २०२१ मा १.८९ गुणा रहेकोमा २०२३ मा २.५२ गुणासम्म पुगेको, जसले कम्पनी अत्यधिक ऋणमा निर्भर रहेको देखाउँछ । यद्यपि, २०२४ मा यो अनुपात १.१३ गुणामा झरेको छ, जुन मुख्यतः कम्पनीको घाटा तथा कमजोर वित्तीय प्रदर्शनकै कारण हो ।

यता, कुल दायित्व र नेटवर्थको अनुपात पनि २०२१ मा २.४५ गुणा रहेकोमा २०२३ मा ३.१२ गुणासम्म पुगेको, जसले कम्पनीको कुल सम्पत्तिमा दायित्वको अंश बढ्दै गएको संकेत गर्छ । २०२४ मा यो अनुपात १.४४ गुणामा झरेको छ ।

समग्रमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आर्थिक अवस्था कमजोर हुँदै गएको, निरन्तर आम्दानी घट्दै गएको, सञ्चालन नाफा नकारात्मक हुँदै गएको तथा ऋण भुक्तानी क्षमतामा गम्भीर समस्या देखिएको स्पष्ट छ ।

कम्पनीको क्रेडिट रेटिङ घटाइएको छ । इन्फोमेरिक्स नेपालले कम्पनीको इस्युअर रेटिङ आइआरएन डबल बि माइनस (आइएस) बाट आइआरएन डबल बि (आइएस) घटाएर पु¥याएको छ । यसले कम्पनीको वित्तीय स्थायित्व कमजोर बन्दै गएको संकेत रेटिङ एजेन्सिले गरेको छ । कम्पनीको दीर्घकालीन बैंक सुविधाको रेटिङ पनि आइआरएन त्रिपल बि माइनस बाट घटाएर आइआरएन डबल बि कायम गरिएको छ, जसले कम्पनीको वित्तीय जोखिम बढ्दै गएको देखाउँछ ।

आयलले दीर्घकालीन बैंक कर्जाका रूपमा ६ अर्ब २९ करोड १६ लाख ९० हजार रुपैयाँ उपयोग गर्दै आएको छ, जुन यसअघि ५ अर्ब ४२ करोड ९३ लाख ५० हजार रुपैयाँ मात्र थियो । यस्तै, कम्पनीको अल्पकालीन बैंक सुविधाको रेटिङ आरआरएन ए३ बाट घटाएर आइआरएन ए४ गरिएको छ । अल्पकालीन कर्जा सुविधाको कुल रकम पनि घटाएर १ अर्ब ५९ करोड ९० लाख रुपैयाँ कायम गरिएको छ, जुन यसअघि १ अर्ब ९९ करोड ४० लाख रुपैयाँ थियो । इन्फोमेरिक्स नेपालका अनुसार कम्पनीको कमजोर वित्तीय प्रदर्शन, ऋण व्यवस्थापनमा आएको दबाब तथा आय आर्जन क्षमतामा आएको गिरावटका कारण रेटिङ घटाइएको हो ।कम्पनीले फलाम खानी, माटो, फ्लाइ ऐश, कोइला र जिप्सम जस्ता बजारमा भर पर्नुपर्ने कच्चा पदार्थ प्रयोग गर्छ । यी कच्चा पदार्थको मूल्यमा उतारचढाव आउँदा प्रत्यक्ष रूपमा कम्पनीको नाफामा असर परेको उल्लेख गरेको छ ।

सोनापुर मिनेरल्स एन्ड आयल प्राइभेट लिमिटेडको स्थापना जुन २००८ मा भएको थियो । पछि, सन् २०२२ को जुलाई २२ मा यसलाई सोनापुर मिनेरल्स एन्ड आयल लिमिटेड मा रूपान्तरण गरियो । हाल कम्पनीले ओपिसी सिमेन्ट सोना सिमेन्ट ब्रान्डअन्तर्गत तथा पिपिसी सिमेन्ट सोना श्री सिमेन्ट ब्रान्डअन्तर्गत उत्पादन तथा बिक्री गरिरहेको छ । कम्पनीको सिमेन्ट ग्राइन्डिङ इकाइको दैनिक उत्पादन क्षमता २,३०० मेट्रिक टन रहेको छ भने क्लिंकर उत्पादन इकाइको दैनिक क्षमता १,६५० मेट्रिक टन छ । कम्पनीको प्रबन्ध निर्देशक निपेश तायल हुन् भने अध्यक्ष रतनलाल तायल हुन्  ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*