बीमा नियमावलीविरुद्ध बीमा अभिकर्ताहरु आन्दोलन गर्दै, बीमा प्राधिकरण घेराउ गर्ने तयारी

काठमाडौं । बीमा क्षेत्रको मेरुदण्डको रुपमा रहेका अभिकर्ताहरुको अधिकार कटौति गरी नयाँ बीमा ऐन जारी गरेको विरोधमा देशैभरिका बीमा अभिकर्ताहरुले कडा संघर्षको तयारी गरिरहेका छन् । नेपाल सरकार मन्त्रिपरिषदको गत माघ २९ गते बसेको बैठकबाट स्वीकृत भएको बीमा नियमावली २०८१ ले अभिकर्ताहरुको हक, अधिकारलाई कुण्ठित गरेको भन्दै उनीहरुले आन्दोलनको तयारी गरेका हुन् ।
नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले समेत बीमा क्षेत्रमा कुनै पनि नीति नियम तथा नियमावली ल्याउँदा अभिकर्तासँग आवश्यक समन्वय तथा छलफल बिनै बीमा नियमावली जारी भएपछि बीमा अभिकर्ताहरु आक्रोसित बनेका छन् । बीमा अभिकर्ताहरुले बीमा नियमावली २०८१ मा अभिकर्ताहरुको हक, अधिकार सुनिश्चित गर्न कैयौं पटक प्राधिकरणको ढोका ढक्ढक्याउदा समेत उनीहरुको चासो सम्बोधन नभएको उनीहरुको भनाई छ ।
बीमा नियमावलीमा अभिकर्ताहरुले पाउने इन्सेन्टिभ, नविकरण बीमितहरुलाई प्रिमियम बुझाउन लगाउने कुरा समेत अभिकर्ताकै टाउँकोमा पार्ने गरी ल्याएको नियमावलीले अभिकर्ताहरु त्रसित बनेका छन् । उनीहरुले यस प्रकारका बाध्यकारी नियमहरुलाई तत्कालै संशोधन गर्नुपर्ने मागसहित आन्दोलनको तयारी गरिहेका छन् ।
पेशागत बीमा अभिकर्ता संघ, नेपालका अध्यक्ष केदारनाथ अधिकारीले अहिले आफुहरु पर्ख र हेरको अवस्थामा रहेको बताए । उनले भने, ‘अभिकर्ता संघ र बीमा प्राधिकरणका अध्यक्ष लगायतका पदाधिकारीहरुसँग संवाद गर्ने कुरा भएको छ । उहाँहरुसँग सवांद भएपछि मात्र आगामी आन्दोलनका कुराहरु अगाडि बढाउने निर्णय गरेका छौं ।’ उता, बीमा अभिकर्ताहरुले पेशागत बीमा अभिकर्ता संघका अध्यक्षमाथि आन्दोलन अघि बढाउन नसकेको र भुत्ते भएको आरोप लगाउन थालिसकेका छन् ।
हालै बीमा प्राधिकरणमा नयाँ नियुक्त भएका अध्यक्ष शरद ओझाले बीमा नियमावलीका केही कानुनी तथा अभिकर्ताहरुसँग सम्बन्धित विषय अध्ययन गर्न समय मागेकोले तत्कालिन आन्दोलन सुरु नगरिएको अध्यक्ष अधिकारीले बताए ।
पेशागत बीमा अभिकर्ता संघ, नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रिय अध्यक्ष गणेश अधिकारीले बीमा नियमावलीले अभिकर्ताहरुको हक अधिकार कुण्ठित गरेकाले नियमावलीलाई तत्काल संशोधन गर्न माग गरेका छन् । उनले भने, ‘हामीले सम्पूर्ण देशका अभिकर्ताहरुलाई आन्दोलनको लागि तयारी अवस्थामा रहन र सम्पूर्ण कम्पनीका अभिकर्ताहरुसँग समेत समन्वय गरी रहेको छौं ।’
‘बीमा प्राधिकरणका नयाँ अध्यक्षले बीमा नियमावली अध्ययनको लागि समय मागेको भएर अहिले हामी केही समयलाई प्राधिकरणको आगामी कदमको प्रतिक्षामा रहेका छौं ।’ अधिकारीले बीमापोष्टसँग भने, ‘लगत्तै हामी आन्दोलनको आँधीबेहरी सिर्जना गर्छौ ।’
कोहलपुरमा रहेर बीमा अभिकर्ताको पक्षमा काम गदै आएका शंकर लामिछानेले सरकारले ल्याएको बीमा नियमावली २०८१ ले अभिकर्ताहरुको इन्सेन्टिभ काट्ने तथा बीमा अभिकर्ताको अधिकार कटौती गर्ने बिषयमा तत्काल आन्दोलनमा उत्रिनुपर्ने बताए । उनले भने, ‘नयाँ बीमा नियमावलीले गर्दा बीमा व्यवसायमा आउँने सोच बनाएका लाखौं मानिसहरु विदेश पलायन हुने डर छ ।’