चौधरी ग्रुपले ५८ करोड बीमा दावी मुद्दा हार्यो, चार करोड रुपैयाँ युनाईटेड अजोडलाई तिर्न आदेश

काठमाडौं । सिजि ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्स प्रा.लिको सतुंगलमा भएको आगोलागी घटनामा ५८ करोड रुपैयाँ बीमा दावी गरिएको मुद्दामा चौधरी ग्रुपले पराजय भोगेको छ भने नियामक बीमा प्राधिकरणको जित भएको छ । सर्वोच्च अदालतले सो सम्बन्धी ११ वटा मुद्दामा आज अन्तिम फैसला सुनाउँदै सिजि ग्रुपलाई हराईदिएको छ ।
सर्वोच्च अदालतका न्यायाधिश नहकूल सुवेदी र महेश शर्मा पौडेलको संयुक्त इजलासले यसअघि बीमा समिति र पाटन उच्च अदालतले गरेको फैसला सदर गरेसँगै अब चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले करिब चार करोड रुपैयाँ युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीलाई फिर्ता गर्नुपर्नेछ ।
बीमा समिति, उच्च अदालत पाटन हुँदै सर्वोच्च अदालतमा पुगेको मुद्दाको आज अन्तिम सुनुवाई गरिएको हो । २०७५ साल जेठ ६ गते सर्वोच्च अदालतमा दोपाको निस्सा पाई पुनः पेशीमा चढेको मुद्दाको करिब सात बर्षपछि अन्तिम फैसला सुनाउँदै न्यायाधीश नहकूल सुवेदी र महेश शर्मा पौडेलको इजलाशले यसअघि तत्कालिन बीमा समिति र पाटन उच्च अदालतको आदेशलाई सदर गरेको हो ।
२०६९ साल असोज २८ गते आइतबार साँझ काठमाडौंको सतुंगल–७ मा रहेको सिजी इलेक्ट्रोनिक्सको गोदाममा आगो लागेको थियो । थानकोटस्थित प्रहरी कार्यालयका प्रमुख सुधिरराज शाहीले सो दिनको आगोलागीको घटनाबाट सिजी इलेक्ट्रोनिक्सका टिभी, मोबाइल फोन, वासिङमेशिन लगायतका सामानग्रीहरु जलेर नष्ट भएको रिपोर्ट दिएका थिए ।
साँझ करिब ५ बजेतिर लागेको आगो निभाउन, काठमाडौं, भक्तपुर बारुणयन्त्रका दमकल, सशस्त्र प्रहरी र नेपाल प्रहरीको दमकल प्रयो गरेर २४ ट्याङ्कर पानी लागेको थियो । घट्ना भएको दिन उक्त गोदामका प्रमुख रमेश श्रेष्ठले तीन अर्बको क्षति भएको र केवल पाँच प्रतिशत सामान मात्रै जोगिएको जानकारी सञ्चार माध्यमहरुलाई दिएका थिए ।
सिजी इलेक्ट्रोनिक्सको उक्त आगोलागी सुरुदेखि नै शंकास्पद देखिदै आएको थियो । कम्पनीले ५८ करोड क्षति भएको भन्दै बीमा दावी माग गरेको थियो । कम्पनीले सेटिङमा सर्भेयरलाई मिलाएर ५८ करोडको सामान क्षति भएको कागजात पनि बनाएको थियो । सोही कागजातका आधारमा तत्कालिन युनाईटेड इन्स्योरेन्स कम्पनीले ३९ करोड रकम भुक्तानी पनि गरिसकेको अवस्थामा तत्कालिन बीमा समितिले हस्तक्षेप गरेर दावी भुक्तानी रोक्यो र छानविन गर्दा जम्मा ३५ करोड रुपैयाँ भन्दा केही बढी मात्रै क्षति भएकोले सोही बमोजिम दावी भुक्तानी गर्न निर्देशन दिएको थियो ।
बीमा प्राधिकरणको निर्देशन विपरित सिजी इलेक्ट्रोनिक्स र तत्कालिन युनाईटेड इन्स्योरेन्स कम्पनी नियामक बीमा प्राधिकरणका विरुद्धमा पुनरावेदन अदालतमा मुद्दा दर्ता गरे । पुनरावेदनले बीमा प्राधिकरणकै निर्णय सदर गरिदियो । सिजी ग्रुपले अझै रकम फिर्ता नगरी पावरको भरमा सर्वोच्च अदालतमा दोपा माग्यो, दोपाको अनुमति पाएपछि पछिल्लो सात वर्षदेखि सर्वोच्च अदालतमा उक्त मुद्दा चल्दै आएको थियो ।
सर्वोच्च अदालतले तल्ला तहका न्यायालयबाट भएको फैसला सदर गर्दै सिजी इलेक्ट्रोनिक्स र युनाईटेड इन्स्योरेन्सले दायर गरेको मुद्दा खारेज गरिदिएको छ ।
उता, सो घटनामा सर्भेयर र एक जना कर्मचारीलाई तीन हजार रुपैयाँ जरिवना तिर्नुपर्ने भएको छ । गलत सर्भे मूल्याङ्कन गर्ने सर्भेयर सुर्य प्रसाद जोशी र कर्मचारी राजन थापाले जरिवना विरुद्ध दर्ता गरेको मुद्दा खारेज भई उनीहरुले तीन हजार रुपैयाँ जरिवना तिर्नुपर्ने फैसला सर्वोच्च अदालतले सुनाएको छ ।
आजको आदेशले आफै आगो लगाएर क्षति भन्दा बढि बीमा दावी गर्ने गलत प्रवृत्तिको निरुत्साहित गरिदिएको छ । तस्विरः प्रज्वल सिजापति/विकास कार्की