निर्जीवन बीमा कम्पनीको सोल्भेन्सी रेसियो अनुपात २.६७, जोखिम धारण क्षमतामा नेपाल, नेको र शिखर अब्बल

२० फाल्गुन २०८१, मंगलवार १०:३०

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो अनुपात २.६७ रहेको देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा सोल्भेन्सी रेसियो अनुपात ०.२१ अंकले बृद्धि भएको देखिएको छ । गत वर्षको औसत सोल्भेन्सी रेसियो २.४६ रहेकोमा यस वर्ष सामान्य बृद्धि भएको हो ।

नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनी मध्ये नेपाल इन्स्योरेन्सको सोल्भेन्सी रेसियो सबैभन्दा बढी रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो ४.३२ रहेको छ । सोल्भेन्सी रेसियोले नेपाल इन्स्योरेन्सलाई सबैभन्दा सुरक्षित कम्पनीको रुपमा स्थापीत गरेको छ ।

सोल्भेन्सी रेसियोको आधारमा दोस्रो सुरक्षित कम्पनीको सूचिमा नेको इन्स्योरेन्स रहेको छ । सो कम्पनीको सोल्भेन्सी रेसियो ४.०६ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो गत आवको तुलनामा ०.७४ अंकले बृद्धि भएको छ ।

त्यस्तै, तेस्रो उत्कृष्ट कम्पनीमा शिखर इन्स्योरेन्स परेको छ । सो कम्पनीको सोल्भेन्सी रेसियो ३.६७ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो ३.३३ बाट सामान्य अंकले बृद्धि भएको छ । अर्को उत्कृष्ट कम्पनीमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो गत वर्ष २.७७ बाट बृद्धि भई ३.४२ पुगेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सोल्भेन्सी रेसियो गत आवको तुलनामा बृद्धि भएर ३.३२ रहेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सोल्भेन्सी रेसियो ३.१८ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियोमा गत वर्ष र यस वर्षमा कुनै फरक परेको छैन ।

त्यस्तै, नेशनल इन्स्योरेन्सको सोल्भेन्सी रेसियो २.७९ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो गत बर्षको तुलनामा समान्य अंकले बृद्धि भएको देखिएको छ । त्यस्तै, सानिमा जिआईसी इन्स्योरेन्सको सोल्भेन्सी रेसियो २.६२ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो गत वर्ष र यस वर्षमा परिवर्तन भएको छैन ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सोल्भेन्सी रेसियोमा १.५३ अंकले गिरावट आएको छ । यसको अर्थ कम्पनीको दायित्प बृद्धि भएको देखिन्छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सोल्भेन्सी रेसियो गत आवको ४.०७ बाट घटेर २.५४ मा सीमित बनेको कम्पनीले प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको सोल्भेन्सी रेसियो २.१९, प्रभु इन्स्योरेन्सको सोल्भेन्सी रेसियो १.९४ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.७३ र द ओरियण्टल इन्स्योरेन्सको १.६० रहेको छ । सोल्भेन्सी रेसियो कम हुने कम्पनीको जोखिम धारण क्षमता कम हुन्छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले लामो समयदेखि अडिट नगरेको कारण सोल्भेन्सी रेसियो उल्लेख गरेको छैन् ।

नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो नियामक बीमा प्राधिकरणले तोकिए भन्दा निकै राम्रो अवस्थामा देखिएको छ । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई सोल्भेन्सी रेसियो १.५ अनिवार्य गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*