युवा बीमा अभिकर्ताको पलायन रोक्ने सम्बन्धी नेपाल बीमा प्राधिकरणका अध्यक्षलाई खुला पत्र

पुष्कर पोखरेल
१९ फाल्गुन २०८१, सोमबार १४:२४

श्री अध्यक्ष शरद ओझा ज्यू,
नेपाल बीमा प्राधिकरण

शरद ओझा ज्यू, सर्वप्रथम हजुरलाई बधाई छ! नेपालको बीमा क्षेत्रमा सबैभन्दा कान्छो ३२ वर्षे युवा शक्तिशाली नेपाल बीमा प्राधिकरणको अध्यक्ष हुनु भएकोमा। तर अफसोच तपाईँ प्रवेश गरी रहँदा म जस्ता युवा जो बीमा क्षेत्रमा व्यावसायिक रूपमा शिक्षित युवा हौँ, पनि पूर्णकालीन सेवामूलक व्यवसायको रूपमा समाजमा एक स्पष्ट मिशन, भिजन, उद्देश्य र वार्षिक कार्ययोजना बनाई अनलाइन र अफलाइन व्यवसायलाई दिगो र सम्मानजनक पेसाको रूपमा योगदान दिन सक्छौँ भन्ने अभिकर्ता पेसामा युवाहरूको प्रतिनिधित्व गरी रहँदा व्यवसाय मौलाउने सोचिरहेको थियौँ तर मौलाउने होइन बौलाउने चाहिँ पक्का भएको छ।

तपाईँले विजय उत्सव मनाइरहँदा हामी भुइँमान्छेहरू (अभिकर्ता) पेसाबाट विलय हुँदैछौँ। जसका लागि तपाईँलाई मेरो र मेरा साथीहरूको एकमुष्ट रूपमा लाइसेन्सलाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाइ रहँदा हाम्रो प्रमाणपत्रहरूलाई पनि फेरि कार्य गर्न नसक्ने गरि स्वीकृत गरी दिनु हुन अनुरोध गर्दछु र बीमकलाई जानकारी दिनु होला। किनकि मेरो लाइसेन्स नवीकरण गर्न बीमकको सिफारिस लिनै पर्दैन, नवीकरण असफल हुँदा विलम्ब शुल्क तिर्नु नै पर्दैन र नयाँ अभिकर्ता साथीहरू खोज्दा ठूलो रकम बुझाउनै पर्दैन—न मैले, न मेरा साथीहरूले।

तपाईँ अचम्ममा नपर्नु होला! किनकि तपाईँ अध्यक्षमा सिफारिस हुनुभएको अघिल्लो दिन नै राजपत्रमा बीमा नियमावली २०८१ प्रकाशित हुनु स्याल कराउनु र बाख्रा हराउनु भएको जस्तै नै होला। यो खेल सबैले बुझेका छौँ र तपाईँले पनि बुझ्नु भएको छ किनकि १२ जनाबाट तपाईँले आफैँलाई अब्बल साबित गर्नु भएको छ र तपाईँ युवा हुनुहुन्छ। हामीले त्याग्दै गरेको पेसाका अध्यक्ष ज्यू, तपाईँको नाम सुनौलो अक्षरमा लेखियोस्, मेरो नाम प्रमाणपत्रबाट मेटियोस् अध्यक्ष ज्यू!

हामी युवा जसले बीमालाई पेसाको रूपमा लिन सकेका छैनौँ। जो लागेका छौँ वा हुनुहुन्छ सबैको एउटै स्वर सुनिरहेको छु—पलायन, पलायन।
अब केवल बीमा कम्पनीलाई अभिकर्ता देखाउने हात्तीको दाँत जस्तै मात्र भएको छ वा चाहिएको छ किनकि अब सबै बीमा कम्पनीहरूले आफ्नै कम्पनीका कर्मचारीहरूबाट चुनावमा नेता ज्यूहरूले भोट माग्न हात जोडी–जोडी नागरिकको घर, खेत, खनियामा पुगेजस्तै सबै ठाउँमा कम्पनीका कर्मचारीहरू पुग्नेछन् र भन्ने छन्– ‘हाम्रो कार्यालयमा आउनुहोस्, हामी प्रत्यक्ष ५० प्रतिशत छुटमा बीमा गराइदिन्छौँ।’ र कम्पनीका ठूला–ठूला होर्डिङ बोर्ड बन्नेछन् – ‘५० प्रतिशत छुटमा बीमा सेवा लिन नछुटाउनु होला!’ तर अभिकर्तालाई भने केही नभन्नु होला किनकि बीमक माथि छ बीमा नियमावली २०८१ जसले सेवासुविधा दिने भनेकै छ।

धन्य–धन्य! ग्राइन्ड डिजाइन भनेको के हो, तँलाई थाहा छ बाबु? भनी हजुरबुबाले सोध्नुहुन्थ्यो। अभिकर्ता पलायनका लागि यही जस्तो लागेको छ।

हजुरबुबालाई यो ग्राइन्ड डिजाइनको फेरिस्त बोकेर साथै तपाईँको युवा नाति पेसा पलायनको बारेमा सुनाउन कुम्लो–कुटुरो बोकेर म गाउँ जाँदैछु

अभिकर्ता पेसा छोडेर ‘आफ्नै गाउँ फर्कि आए’ भन्ने गीत गाउँदै–गाउँदै।

बीमा अगाडिको बीमा सचेतना र बीमा पछिको सेवा एउटा छुट्टै सेवा हो यो विश्वव्यापी मान्यतामा आधारित रहन्छ। यो कुरा मभन्दा अध्यक्ष ज्यू हजुरलाई नै थाहा होला। के मेरा सबै बीमितले बीमा नवीकरण नगरेमा त्यसको भागिदार म हुने? मेरो खाइपाइ आएको सेवा–सुविधा बीमालेख नवीकरण नगरेको आधारमा कुन पक्षलाई आधार मानेर इन्सेन्टिभ घट्ने? म बुझ्न सकिरहेको छैन, मेरा युवा साथीहरूले बुझाउन सकिरहेका छैनन्।

उनीहरूले प्रश्न गरिरहेका छन् – ‘के डाक्टरले बिरामी निको पार्न नसके सेवा दिएको मानिन्न?, लेखापढी व्यवसायमा मध्यस्थता गर्न नसके वा मुद्दा उल्टिएमा के हुन्छ?, वकिलले गरेको वहस उल्टिएमा के हुन्छ? र शिक्षकले पढाएको विद्यार्थी फेल भए के हुन्छ?’ यस्को पनि अब नेपालमा सजायको भागिदार हुने कानुन आउने हो कि होइन?

यदि होइन भने इन्सेन्टिभ काट्ने भनेको सजाय हो कि नसिहत? हो मैले आजसम्म कुनै पनि काममा नसिहत पाएको छैन। तर मेरो सन्तानले थाहा पाए भने सोध्नेछन् – ‘बुबा किन तपाईंको इन्सेन्टिभ घट्यो?’ ‘बाबु, तिम्रो बुबाले बीमितको दोस्रो किस्तादेखिको किस्ता तिर्न हाम्रो घरखेत बेच्दा पनि तिर्न सक्ने भएन त्यसैले नसिहत (सजाय) पाउँदैछ।’

भो मलाई कुनै पनि नसिहतको भागिदार हुनुछैन! हिजो पनि म कुनै नसिहत नपाएको युवा थिएँ जीवनभर नै यो दाग लाग्न दिन्न! बरु यो पेसाबाट नै पलायन हुन्छु। अध्यक्ष ज्यू! अभिकर्ताको वशमा नभएको कुरालाई नसिहतका रूपमा नियमावलीमा ल्याउन तिकडम खेल्ने सम्पूर्ण महानुभावहरूलाई सलाम सुनाइदिनु होला!

बीमक कम्पनी जसलाई अभिकर्ताको साथसहयोगले यो उचाइसम्म पु¥याउन मद्दत पुगेको छ जसलाई हामी मेरुदण्ड भन्थ्यौँ तर मुखमा रामराम बगलीमा छुरा भनेझैँ मेरुदण्ड होइन अब दण्डको भागिदार बनाइएको छ। अब ‘तैँ चुप, मै चुप’को रणनीतिमा लागिएको छ। यदि चाँडै तपाईँहरूको धारणा सार्वजनिक रूपमा आउँदैन भने तपाईँहरूको भरणपोषण पनि गर्नु छैन। बढाऊ +२ पास कर्मचारी, खटाउ काम, देऊ ५० प्रतिशत प्रत्यक्ष छुट, गर व्यवसाय। जय होस् बीमक!

तर एउटा प्रश्न छ— ‘यदि प्रत्यक्ष बीमकले गराएको बीमा नवीकरण हुन सकेन भने के कस्तो नसिहत हुनेछ?’ किन लेख्न छुटाएछ? कि मैले पढ्न पो छुटाएँ? अध्यक्ष ज्यू, भेटे कुनै दिन कोड गरिदिनु होला। (वा बीमकले जानकारी दिए पनि हुन्छ।) नत्र यस पक्षपातपूर्ण निर्णय परिवर्तन गर्न भुइँमान्छे बीमा क्षेत्रका मेरुदण्डको हितमा निर्णय गराउन तपाईँको भूमिका महत्वपूर्ण छ।

आज सबैभन्दा बढी एउटै गीतको याद आइरहेछ, ‘उडायो सपना सबै हुरीले सपना सबै नियमावलीले…’ सायद म आजबाट पूर्व बीमा अभिकर्ता भइसकेको छु अध्यक्ष ज्यू! म जस्ता अभिकर्ताहरू तपाईँसँगै आउने छन् र वर्षौँदेखि अभिकर्ता पेसालाई मर्यादापालकको रूपमा यहाँसम्म ल्याउन सफल भएका एकएक वरिष्ठ अभिकर्तालाई ‘कलंकको नसिहत’ को पगरी भिराउने प्रपञ्च जसले रचेका छन्, सायद यसको भुक्तानी स्वतः भोग्नु नै पर्नेछ। अब सम्पूर्ण अभिकर्ता एक भएर लाग्नुको विकल्प छैन।

युवा अभिकर्ता मित्रहरू, ‘बीमा एक मर्यादित पेसा हो’ भनेर मसँग जुट्नु भएका सम्पूर्ण अभिकर्ता साथीहरू कृपया मलाई माफ गर्नुहोस्। मैले नबुझी हतारमा यो कलंक बोक्न आएछु र तपाईँहरूलाई पनि कलंक बोकाउने भएछु। माफ गर्नुहोस् मैले तपाईँलाई देखाएको ‘सही मार्गदर्शन’ यस बीमा क्षेत्रमा नचल्ने रहेछ। अरू कुनै सुन्दर कार्यक्षेत्र छनोट गर्नुहुनेछ भन्ने आशा गरेको छु।

अध्यक्ष ज्यू, पहिलो गाँसमै ढुंगा परेछ! तर त्यसलाई कुल्ला गरेर फालेर फेरि गाँसहरू लिने साहस गर्नुहोस्। तपाईँ युवा हुनुहुन्छ, सक्षम हुनुहुन्छ। त्यसैले थालमा परेको ढुंगा केलाउन सक्नुहुन्छ भन्ने झिनो आशा अझै बाँकी नै छ। तर अध्यक्ष ज्यू, तपाईँको कार्यकाललाई गिजोल्न प्रपञ्च सुरु भइसकेको छ। त्यसैले शपथ ग्रहणकै पहिलो बोली ‘हामी जस्ता भुइँमान्छेको सेवा निरन्तरता दिन्छौँ’ भन्ने निर्णय आउने छ भन्ने आशा अझै बाँकी छ। यदि त्यस्तो हुँदैन भने तपाईँको कार्यकालमा हामी जस्ता भुइँमान्छे तर बीमा क्षेत्रका मेरुदण्ड कमजोर भएर जाने पक्का छ।

हाम्रो अभिकर्ताको पाटो जे सुकै होस् तपाईँलाई के मतलब? तर तपाईँको कार्यकाल चाहिँ सुखद र सफल रहोस् अध्यक्ष शरद ओझा ज्यू!

धन्यवाद ।
मितिः २०८१।११।१३
पुष्कर पोखरेल
फाइनान्स कोच, जीवन बीमा अभिकर्ता
लाइसेन्स नं. २२२९११
इनरुवा, सुनसरी

2 thoughts on “युवा बीमा अभिकर्ताको पलायन रोक्ने सम्बन्धी नेपाल बीमा प्राधिकरणका अध्यक्षलाई खुला पत्र

  1. सुबाश जमरकट्टेल says:

    सबै अभिकर्ताहरुको मर्म यहि हो ।

  2. श्याम बाबु साह says:

    Very Good
    Registration Fee बढाउनु कुनै जरुरी नै थिएन।
    Qualifications no problem .
    यो सब भ्रष्टाचारको पराकाष्ठ हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*