जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो २.५३, जोखिम धारण क्षमता अझै बढ्यो

१८ फाल्गुन २०८१, आईतवार १४:१९

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो २.५३ रहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा सोल्भेन्सी रेसियो सामान्य अंकले बृद्धि भएको देखिएको छ । गत वर्षको औसत सोल्भेन्सी रेसियो २.४७ रहेकोमा यस वर्ष सामान्य बृद्धि भएको हो ।

नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनी मध्ये नेशनल लाइफ इन्स्योरेन्सको सोल्भेन्सी रेसियो सबैभन्दा बढी रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो ४.७३ रहेको छ । सोल्भेन्सी रेसियोले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई देशकै सबैभन्दा सुरक्षित कम्पनीको रुपमा स्थापित गरेको छ ।

सोल्भेन्सी रेसियोको आधारमा दोस्रो सुरक्षित कम्पनीको सूचिमा एलआईसी नेपाल रहेको छ । सो कम्पनीको सोल्भेन्सी रेसियो ३.७६ रहेको छ । कम्पनीको चालु आव र गत आवमा समान सोल्भेन्सी रेसियो रहेको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, तेस्रो उत्कृष्ट कम्पनीमा हिमालयन लाइफ परेको छ । सो कम्पनीको सोल्भेन्सी रेसियो ३.७४ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो ३.९५ बाट सामान्य तल झरेको छ । अर्को उत्कृष्ट कम्पनीमा सिटिजन लाइफ रहेको छ । सिटिजन लाइफको सोल्भेन्सी रेसियो गत वर्ष १.८२ बाट बृद्धि भई ३.४२ पुगेको छ ।

मेट लाइफको सोल्भेन्सी रेसियो गत वर्षकै समान २.७० रहेको छ । त्यस्तै, सुर्यज्योति लाइफको सोल्भेन्सी रेसियो ३.० बाट २.४७ मा झरेको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सोल्भेन्सी रेसियो २.४२ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियोमा गत वर्ष र यस वर्षमा कुनै फरक परेको छैन ।

त्यस्तै, सन नेपाल लाइफको सोल्भेन्सी रेसियो २.३३ रहेको छ । सन नेपालको सोल्भेन्सी रेसियो गत बर्षकै अनुसार रहेको छ । कुनै परिवर्तन भएको छैन । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सोल्भेन्सी रेसियो २.२२ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो गत वर्ष र यस वर्षमा परिवर्तन भएको छैन ।

एशियन लाइफको सोल्भेन्सी रेसियो २.२१ रहेको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफको सोल्भेन्सी रेसियो २.१९, रिलायबल नेपाल लाइफको १.८४ र नेपाल लाइफको १.४५ रहेको छ । सोल्भेन्सी रेसियो कम हुने कम्पनीको जोखिम धारण क्षमता कम हुन्छ । राष्ट्रिय जीवन बीमा कम्पनीले लामो समयदेखि अडिट नगरेको कारण उल्लेख गरेको छैन् ।

नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो नियामक बीमा प्राधिकरणले तोकिए भन्दा निकै राम्रो अवस्थामा देखिएको छ । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई सोल्भेन्सी रेसियो १.५ अनिवार्य गरेको छ ।

चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको औसत सोल्भेन्सी रेसीयो २.५३ रहेको छ । नियामक बीमा प्राधिकरणले चुक्ता पुँजि बृद्धि गर्ने निर्णयको प्रभाव जीवन बीमा क्षेत्रमा परेसँगै सोल्भेन्सी रेसियो उच्च बृद्धि भएको देखिएको हो ।

जति सोल्भेन्सी राम्रो, कम्पनी उति राम्रो छ भन्ने हुन्छ । सोल्भेन्सी रेसियो बढि भएको कम्पनी राम्रो मानिन्छ । बीमा बिज्ञ भोजराज शर्माका अनुसार सोल्भेन्सी रेसियो २.५३ हुनु भनेका समग्र नेपाली जीवन बीमा कम्पनीहरुको अवस्था निकै बलियो र उत्कृष्ट रहेको दर्शाउछ । बीमा बिज्ञ शर्माले भने, ‘दायित्व र सम्पत्तिको रेसियोको गणना सोल्भेन्सी भनेर गरिन्छ, यस्तो रेसियो जति धेरै हुन्छ उति नै बीमा कम्पनीहरु राम्रो मानिन्छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*