संकटमा पाल्पा सिमेन्ट, जोखिम बढ्दै गर्दा आइपीओको साहारा

१८ फाल्गुन २०८१, आईतवार ११:१९

काठमाडौं । पाल्पा सिमेन्ट उद्योग लिमिटेडले आफ्नो व्यावसायिक यात्रा २००९ मा थाले पनि वित्तीय र व्यवस्थापन पक्षमा निरन्तर चुनौतीहरूको सामना गरिरहेको छ । कम्पनीले अप्रिल २०१९ देखि क्लिंकर र जनवरी २०२० देखि सिमेन्ट उत्पादन सुरु गरे पनि यसको वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार देखिएको छैन । संकट उकास्न कम्पनीले आइपीओ निष्कासनको बाटो रोजेको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिइसकेको छ ।

कम्पनीको उत्पादन केन्द्र नवलपरासी जिल्लाको सुनुवाल गाउँपालिकामा अवस्थित छ भने खानी क्षेत्र पाल्पा जिल्लाको रहवास गाउँपालिकामा रहेको छ । वार्षिक ०.५९ मिलियन मेट्रिक टन क्लिंकर र ०.७३ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमताको भए पनि कम्पनीले बजारमा स्थिर पकड बनाउन संघर्ष गरिरहेको देखिन्छ। उन्नत भर्टिकल रोलिङ मिल प्रविधि प्रयोग गर्दा पनि उत्पादकत्वमा उल्लेखनीय वृद्धि नभएको देखिन्छ । आरएमसी समूह अन्तर्गत रहेको यस कम्पनीको वित्तीय समस्या अझ जटिल बन्दै गएको छ । तर, सोहि कम्पनी लगानीकर्तालाई हुमराहमा राख्न आइपीओको बाटोमा अघि बढेको देखिएको हो ।

कम्पनीको वार्षिक बिक्री आम्दानीमा स्थिरता कायम हुन नसक्दा, २०२० देखि २०२३ सम्म उतारचढाव देखिएको छ। २०२० मा ३ अर्ब रुपैयाँको कारोबार गरेको कम्पनीले २०२१ मा ४ अर्ब ४४ करोड रुपैयाँको कारोबार गर्न सफल भए तापनि २०२२ मा फेरि घटेर ३ अर्ब ८१ करोड रुपैयाँमा सीमित भयो। २०२३ मा आम्दानी थोरै बढे पनि ४ अर्ब १२ करोड रुपैयाँमा मात्र सीमित रह्यो। २०२४ को पहिलो छ महिनामा मात्र १ अर्ब ८० करोड रुपैयाँको कारोबार गर्न सफल भएको छ, जुन अपेक्षाकृत न्यून हो।

कम्पनीको सञ्चालन नाफा (ओपीबीडीआईटीए) मार्जिन पनि घट्दो क्रममा रहेको देखिन्छ। २०२० मा ३२ प्रतिशत रहेको यो मार्जिन २०२३ मा घटेर २२ प्रतिशतमा झर्यो। २०२४ को पहिलो छ महिनामा यो २९ प्रतिशतमा पुगेको भए पनि दीर्घकालीन सुधारको कुनै सुनिश्चितता छैन।

ऋण व्यवस्थापनमा कम्पनी अझै कमजोर देखिएको छ। २०२० मा २.८ गुणा रहेको कुल ऋण अनुपात २०२१ मा १.६ गुणामा झरे पनि २०२३ मा फेरि १.८ गुणामा पुगेको छ। कुल बाह्य दायित्व अनुपात २०२० मा २.९ गुणा रहेकोमा २०२४ को पहिलो छ महिनामा २.१ गुणामा झरेको देखिन्छ। यो वित्तीय जोखिमलाई दर्शाउने सूचक हो।

ब्याज भुक्तानी क्षमताको अवस्था पनि कमजोर देखिन्छ। २०२० मा ब्याज कभरेज अनुपात १.७ गुणा रहेकोमा २०२३ मा १.२ गुणामा झरेको थियो। २०२४ को पहिलो छ महिनामा यो अनुपात १.४ गुणामा सुधार भए तापनि वित्तीय जोखिम कायमै छ। ऋण सेवा कभरेज अनुपात २०२० मा १.७ गुणा रहेकोमा २०२३ सम्म आइपुग्दा यो ०.९ गुणामा झरेको थियो भने २०२४ को पहिलो छ महिनामा झन् घटेर ०.८ गुणामा सीमित रह्यो। यसको अर्थ कम्पनीले आफ्नो ऋण समयमै तिर्ने क्षमता गुमाउँदै गएको छ।

कम्पनीको सञ्चालन पूँजी आवश्यकताको अनुपात निरन्तर उच्च देखिन्छ। २०२० मा ४४ प्रतिशत रहेको यो अनुपात २०२२ मा बढेर ५३ प्रतिशत पुगेको थियो भने २०२४ मा ५८ प्रतिशत पुगेको छ। यो प्रवृत्तिले कम्पनीको तरलता संकट झन् गहिरिएको संकेत गर्छ।

तरलता अनुपात पनि अस्थिर देखिन्छ। २०२० मा १.३ गुणा रहेको यो अनुपात २०२१ मा २.५ गुणामा पुगे पनि २०२३ सम्म आइपुग्दा पुनः १.५ गुणामा झरेको छ। यसले गर्दा कम्पनीले आफ्ना छोटो अवधि भुक्तानी दायित्वहरू पूरा गर्न समस्या भोगिरहेको अनुमान गर्न सकिन्छ।

पाल्पा सिमेन्ट उद्योगको वित्तीय अवस्था अस्थिर देखिएको छ । ऋण व्यवस्थापनको कमजोरी, ब्याज भुक्तानी क्षमतामा गिरावट, तथा तरलता संकटले गर्दा कम्पनीको भविष्यमा थप चुनौतीहरू देखिन्छन्। व्यवसायिक आम्दानीमा उतारचढाव, कमजोर लाभदायकता, तथा उच्च वित्तीय जोखिमका कारण कम्पनीको दीर्घकालीन दिगोपनामा प्रश्न उठेको छ। यदि व्यवस्थापनले समयमै प्रभावकारी रणनीति नअपनाएमा पाल्पा सिमेन्ट उद्योगलाई दीर्घकालीन रूपमा चलाउन कठिन हुन सक्छ।

सिमेन्ट उद्योगहरूमा ठूलो संख्यामा प्रतिस्पर्धी कम्पनीहरू क्रियाशील छन्, जसका कारण पाल्पा सिमेन्ट उद्योगलाई बजारमा स्थिर रहन कठिन भइरहेको छ। कम्पनीको सञ्चालन अवधि छोटो भएकाले स्थापित ब्रान्डहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपरेको छ। हाल नेपालमा उत्पादन क्षमताको वृद्धिदर वास्तविक मागभन्दा धेरै छ, जसका कारण मूल्य निर्धारणमा लचकता घट्दै गएको छ। बजारमा प्रतिस्पर्धी दबाब उच्च रहेकाले लागत वृद्धिको असर ग्राहकलाई स्थानान्तरण गर्न गाह्रो भइरहेको छ। यदि कच्चा पदार्थको मूल्यमा ठूलो वृद्धि भएमा, कम्पनीको नाफा दरमा थप ह्रास आउन सक्छ।

मौसमी तथा चक्रीय उतार–चढाव र नीतिगत जोखिम – सिमेन्ट उद्योग मौसमी तथा चक्रीय स्वभावको भएकाले कम्पनीको माग, आम्दानी, तथा नाफा स्थिर रहन गाह्रो पर्छ। नेपालमा निर्माण गतिविधि वर्षाका मौसममा सुस्त रहने हुँदा सिमेन्ट उद्योगलाई यस्तो चक्रबाट प्रभावित हुनुपर्ने बाध्यता रहन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*