जीवन बीमा अभिकर्ताहरु बीमितहरुका भाग्यदाता हुन्, संरक्षण जरुरी छ

संसारमा केही यस्ता पेशा छन्, जसले मानिसको जीवनमा प्रत्यक्ष रूपमा परिवर्तन ल्याउने काम गर्छन् । जीवन बीमा अभिकर्ताको भूमिका त्यस्तै महत्वपूर्ण मानिन्छ । उनीहरू केवल बीमा बेच्ने व्यक्ति मात्र होइनन्, बरु मानिसको भविष्य सुरक्षित गराउने पथप्रदर्शक र संरक्षक दुवै हुन् । यही कारणले बीमा अभिकर्तालाई ‘जिउँदो भगवान’ जत्तिकै सम्मान गर्दा पनि फरक पर्दैन । त्यसैले बीमा अभिकर्ताहरुलाई भाग्यदाता भनेर भन्दा फकर पर्दैन । नेपाल जस्तो अशिक्षा र गरिबीमा रुमल्लिएको देशका आम नागरिकलाई बीमामार्फत कसरी जोखिमबाट सुरक्षित रहन सकिन्छ भनेर थाहा हुँदैन ।
यस्तो अवस्थामा बीमा अभिकर्ताहरुले आम सर्वसाधारणको व्यक्तिको जीवन बीमा तथा अन्य सम्पत्ति बीमा गराई जोखिमबाट सुरक्षित पारेको हुन्छ । मानिसको जीवनको आर्थिक पक्षको बीमा गरेर एउटा निश्चित बिन्दुसम्ममा आश्रित परिवारका लागि भविष्य सुनिश्चित बनाउने हुँदा जीवन बीमाको महत्व ठूलो छ ।
बीमा ऐन २०७९ अनुसार, “बीमा अभिकर्ता भन्नाले बीमकको कर्मचारी बाहेक बीमकको तर्फबाट कमिशनको आधारमा काम गर्ने इजाजत प्राप्त बीमा मध्यस्थकर्ता व्यक्ति वा संस्था सम्झनुपर्छ ।” बीमा अभिकर्ता बीमित र बीमा कम्पनीलाई जोड्ने पुल हुन् ।
जीवन बीमा अभिकर्ताको भूमिका
जीवन बीमा अभिकर्ताले मानिसहरूलाई भविष्यमा हुन सक्ने वित्तीय जोखिम न्यूनीकरण गर्न सिकाउँछन् । मानिसको अमूल्य जीवनलाई कसरी अझ मूल्यवान् बनाउन सकिन्छ भन्ने विषयमा वित्तीय जोखिम व्यवस्थापन गर्ने ज्ञान प्रदान गर्छन् । अनिश्चित भविष्यका बीच आइपर्न सक्ने आर्थिक समस्याबाट जोगिन सही योजना बनाई सहजीकरण गर्ने भूमिकामा अभिकर्ता महत्त्वपूर्ण मानिन्छन् ।
जीवनका विभिन्न चरणहरू विवाह, सन्तानको शिक्षा, उमेरसँगै देखिन सक्ने स्वास्थ्य समस्याको उपचार तथा सुखमय वृद्धावस्थाका लागि आवश्यक पर्ने आर्थिक सुरक्षाजस्ता विषयमा अभिकर्ताले गहन जानकारी प्रदान गर्छन्, जसले तपाईंको भविष्यलाई अझ सुनिश्चित, सुरक्षित र शान्तिपूर्ण बनाउन मद्दत गर्छ ।
उनीहरूले ग्राहक छनोट गरी आवश्यकताअनुसार बीमा योजनाबारे बुझाउँछन्, सही योजना छनोट गर्न सघाउँछन् र विपत्तिको समयमा आर्थिक सुरक्षा प्रदान गर्न बीमा कम्पनी तथा ग्राहकबीच पुलको रूपमा काम गर्छन् ।
बीमा अभिकर्ताको महत्त्वपूर्ण योगदानहरू
१. संकटको घडीमा अभिकर्ताको महत्त्व
जब परिवारको मुख्य कमाउने सदस्य गुम्छ, त्यस्तो अवस्थामा जीवन बीमा अभिकर्ताले पहिल्यै गराएको योजनाले राहत दिन सक्छ। बीमा योजनाबाट प्राप्त हुने रकमले परिवारलाई आर्थिक संकटबाट जोगाउँछ, बालबच्चाको शिक्षादेखि घरखर्चसम्म चलाउन मद्दत गर्छ। यसरी जीवन बीमा अभिकर्ताले कठिन समयमा ‘जिउँदो भगवान’ बनेर पीडित परिवारलाई सहयोग गर्छन्।
२. वित्तीय स्थायित्व कायम गर्न सहजीकरण
नेपालजस्तो विकासोन्मुख देशमा अधिकांश परिवारको आर्थिक भार एउटै कमाउने व्यक्तिको काँधमा रहेको पाइन्छ । दुर्भाग्यवश यदि उक्त व्यक्तिको अकस्मात निधन भएमा परिवारको स्थिर आम्दानी पनि समाप्त हुन्छ। अझ यदि उनले विभिन्न वित्तीय संस्थाबाट ऋण लिएका थिए भन त्यो परिवारका लागि थप मानसिक तनावको कारण बन्छ ।
तर यही जटिल परिस्थितिमा बीमा एक सशक्त सुरक्षा कवचका रूपमा उभिन्छ। बीमा अभिकर्ताले बीमक र बीमितबीच सशक्त पुलको रूपमा काम गर्दै दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउने महत्त्वपूर्ण भूमिका खेल्छन्। यसरी बीमाले मात्र आर्थिक सुरक्षाको प्रत्याभूति गर्दैन, परिवारको आम्दानीको निरन्तरता कायम राखी वित्तीय स्थायित्व सुनिश्चित गर्न समेत मद्दत गर्छ ।
३. वित्तीय साक्षरताको अभियान
नेपालमा अझै पनि धेरै मानिस जीवन बीमाको महत्त्वबाट अनभिज्ञ छन्। बीमा आवश्यक छ भन्ने कुरा बुझेका समूहहरू समेत बीमाबाट टाढा भाग्ने वा सही निर्णय गर्न ढिलाइ गर्ने प्रवृत्ति देखिन्छ। यी दुवै समूहलाई सचेत गराई आर्थिक रूपमा सक्षम बनाउन जीवन बीमा अभिकर्ताले महत्त्वपूर्ण भूमिका खेल्छन्। उनीहरूले बीमा मात्र बेच्दैनन्, ग्राहकलाई वित्तीय ज्ञान दिँदै सचेत पनि बनाउँछन्।
४. सामाजिक उत्तरदायित्त्व
जीवन बीमा अभिकर्ता केवल उद्यमी व्यवसायी मात्र होइनन्, उनीहरू समाजका जिम्मेवार व्यक्तित्व पनि हुन् । आफ्ना ग्राहक मात्र नभई समाजका हरेक व्यक्तिको सुरक्षित भविष्यका लागि उनीहरू अहोरात्र खटिइरहेका हुन्छन् । सामाजिक सेवाको भावनाले प्रेरित भएर उनीहरूले धेरै परिवारलाई आर्थिक रूपमा सुरक्षित बनाइरहेका छन् । “अप्रत्याशित घटना नहोस्, जटिल रोग नलागोस्, र आर्थिक रूपमा सुरक्षित रहनुपर्छ भन्ने चेतना समाजमा फैलाउन उनीहरूले उल्लेखनीय योगदान पुर्याएका छन् ।
५. देश विकासका लागि आधारस्तम्भ
नेपालमा जीवन बीमा व्यवसायको महत्वपूर्ण मेरुदण्ड जीवन बीमा अभिकर्ताहरू नै हुन् । नेपालमा जीवन बीमा व्यवसाय मुख्य रूपमा अभिकर्तामै निर्भर रहँदै आएको छ । बीमा अभिकर्ताले उठाएको प्रिमियम रकम बीमकले देश विकासका विभिन्न परियोजनामा लगानी गर्छन्, जसले स्व–रोजगार सिर्जना गर्न मद्दत गर्छ ।
त्यस्तै प्रत्येक अभिकर्ताले आफ्नो सेवाबाट प्राप्त आम्दानीको १५% कर तिर्नुपर्ने भएकाले यसले राजस्व वृद्धि गरी राज्यको ढुकुटी मजबुत बनाउन मद्दत गर्छ। साथै हालै प्रकाशित बीमा नियामवली २०८१ अनुसार अब १२ कक्षा उत्तीर्ण गरेपछि पनि बीमा अभिकर्ता बन्न सक्ने व्यवस्था गरिएको छ। यसले लाखौँ युवालाई रोजगारी खोजीमा विदेश जानबाट रोक्न मद्दत गर्न सक्छ।
निष्कर्षः
जीवन बीमा अभिकर्ताहरूले मानिसहरूलाई भविष्यप्रति आशावादी बनाउँछन्, अनिश्चिततालाई व्यवस्थापन गर्न मद्दत गर्छन् र आवश्यक समयमा आर्थिक आश्रय प्रदान गर्छन् । उनीहरूको योगदानलाई सम्मान गर्दै, ‘जिउँदो भगवान’ भन्नु कुनै अतिशयोक्ति हुँदैन ।
जीवन बीमा अभिकर्ताको परिश्रम, इमानदारी र सेवा–भावनाले नै धेरै परिवारलाई सुरक्षित भविष्य प्रदान गर्न सक्ने भएकाले उनीहरूलाई साँचो अर्थमा समाजका संरक्षक मान्न सकिन्छ ।
धेरै मानिसहरू जीवन बीमा अभिकर्तासँग भेट हुँदा ‘जिउनु भन्दा मर्नु ठीक’ भनेर ख्याल–ठट्टा गर्ने गर्छन् । अर्कोतिर सामाजिक सञ्जालमा घातक रोगको उपचार गर्न कठिनाइ भोगेका कारण आर्थिक सहयोग संकलन गर्नुपर्ने अवस्था पनि देखिन्छ ।
यी दुवै घटनालाई जोडेर हेर्दा ‘मृत्यु अवश्यंभावी छ’ भन्ने यथार्थलाई स्वीकार्नै पर्छ । यो सास्वत सत्य पनि हो । यो सत्यको जीवनलाई बेलैमा पहिचान गर्नुपर्छ र ‘आफू रहँदा आफैंलाई’ तथा ‘आफू नभए परिवारलाई’ भन्ने मान्यता अनुसार जीवन बीमा अभिकर्ताले भनेका कुरा गहिरो मनन् गरी बीमाका अभिकर्तालाई स–सम्मान साथ मेरै लागि, मेरो फाईदाका लागि निस्वार्थ भावले जीवन बीमा प्रस्ताव गरेको हो सोचेर कुनै पनि घातक रोग लाग्दा अहिले नेपालमा उपचार गराउन टुप्पी समेत बिक्री गर्नुपर्ने तीतो यथार्थ सम्झी राम्रो वातावरण सिर्जना गर्नका लागि नेपाली समाज एक तहमाथि उठ्न सकारात्मक सोचको बिकास हुनुपर्छ ।
तसर्थ जीवन मरणको बीचमा पनि उत्कृष्ट जीबन बाँच्नुपर्छ र मरणपछि पनि हाम्राको जीवन राम्रो हुनुपर्छ भनेर जीवन र जीवन पछिकाको जीवनबारे सही ज्ञान दिने भएकाले नै हिजोआज जीवन बीमा अभिकर्तालाई समाजको वित्तीय स्थायित्व स्थापित गर्न सहयोग गर्ने भाग्यदाता नै हुन् । बीमा अभिकर्ताहरुको संरक्षण जरुरी छ । जीवन बीमा अभिकर्ताले सामान्य रुपमा गराईदिएको बीमाले आज ठूलो मानवीय क्षति हुँदा पनि आर्थिक रुपमा न्यून क्षति हुने अवस्थाको सिर्जना हुनु भनेको एक हिसाबले भाग्यदाता नै हो । बीमितहरुले केवल बीमा कम्पनीको सामान्य एजेन्ट मात्रै भनेर बुझ्नु गल्ती हुनेछ र सम्भावित जोखिम रक्षावरण गर्ने भाग्यदाताको रुपमा बुझ्नु र व्यवहार गर्नु उत्तम हुनेछ ।
अब भन्नुस्, जनताको भाग्यदातालाई सरकारले गर्ने व्यवहार पनि त्यही खालको हुनुपर्दछ । जीवन बीमा अभिकर्ताहरुको मनोभावना कमजोर पार्ने र उनीहरुलाई निरुत्साहित पार्ने कार्यले नेपालको बीमा क्षेत्रमा समृद्धि प्राप्त हुन सक्दैन ।