बीमा क्षेत्रलाई थप सुदृढ र चुस्त–दुरुस्त बनाउने नवनियुक्त अध्यक्ष ओझाको प्रतिबद्दता

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको सुधार, नियमन र विश्वासको माहोल सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन्। आज पदभार ग्रहण गर्दै अध्यक्ष ओझाले यस्तो बताएका हुन् ।
उनले बीमा प्राधिकरणको कार्यक्षेत्र व्यापक रहेको भन्दै यसलाई थप सुदृढ, चुस्त-दुरुस्त र प्रभावकारी बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गरे। बीमा प्राधिकरणले अवलम्बन गर्दै आएको असल अभ्यासलाई निरन्तरता दिने र अझ मजबुत मोडेल तयार गर्ने उनको धारणा छ। ‘नेतृत्वको पहिलो भूमिका प्राथमिकता तय गर्नु हो। असल अभ्यास कस्ता हुन् ? किन अनुसरण गर्ने ? तिनले बीमकको हित संरक्षण कसरी गर्छन् ? भन्ने विषयलाई ध्यानमा राखेर अघि बढ्छु। बीमकको वित्तीय स्वास्थ्य बलियो बनाउने र बीमितको हित संरक्षण गर्ने ऐनले तोकेको मुख्य जिम्मेवारी हो’ उनले भने।
उनले समग्र युवा पुस्ताप्रति सरकारको भरोसा प्रेरणादायी हुने उल्लेख गर्दै, बीमा ऐन, नियमावली, कार्यविधि, निर्देशिका, निर्देशन तथा मापदण्डहरू निर्माण भइसकेको र बीमा प्राधिकरणले वर्षौंदेखि नियामक भूमिका निर्वाह गर्दै आएको बताए। सरकार र कानुनले तोकेको जिम्मेवारी पूरा गर्न आफ्नो ध्यान केन्द्रित रहने उल्लेख गर्दै चार वर्षको कार्यकालमा बीमा क्षेत्रमा देखिने गरी परिवर्तन हुने आश्वासन दिए। आफूलाई सरकारसमक्ष पेश गरिएको कार्ययोजनाका आधारमा सिफारिस समितिले सिफारिस गरेको पहिलो दिनदेखि नै सोही योजनालाई प्राधिकरणको अभ्यास र वर्तमान अवस्थासँग मिलाएर कार्यान्वयनमा लग्ने जानकारी गराए।
ओझाले जीवन बीमा र निर्जीवन बीमालाई एउटै ढाँचामा राख्दा समस्या आउन सक्ने बताए। बीमा क्षेत्रको नियमन सहजकर्ता, प्रवर्धक (प्रोमोटर) र नियामक (रेगुलेटरी) भूमिका अनुसार अघि बढाउनु पर्ने उनको धारणा छ। उनले भने, ‘कारबाही गर्नु मात्रै बीमा प्राधिकरणको उपलब्धी होइन । ४ वर्षका लागि आएको छु केहि न केहि प्राथमिकता निर्धारण गर्दछु । प्राधिकरणका १६० कर्मचारीलाई आफ्नो समस्या समाधान गर्ने हुनुपर्छ । संस्थालाई थप बलियो र मझबुध बनाउनु पर्दछ । टिमलाई म पूर्ण सपोर्ट गर्छु । निर्देशिका, निर्देशन, नियमनमा सबैको सर्पाट आवश्यक छ । कानुनी सीमा रहेर काम गर्ने तत्पर रहेको छु ।’
उनले प्राधिकरणका १६० कर्मचारीलाई संस्थागत सुधारको अभिन्न हिस्सा बनाउँदै अन्याय हुन नदिने र आन्तरिक गुटबन्दी रोक्ने रोक्नु पर्ने बताए । ‘आन्तरिक साना साना समुह नबनाई अघि बढ्नु पर्छ । यदि यस्तो भयो भने मेरालाई मान्य हुने छैन । सरकारले दिएको जिम्मेवारी पूरा गर्नु मेरो दायित्व हो, जसका लागि सबैको सहयोग अपरिहार्य छ कर्मचारीलाई अन्याय हुन दिने छैन’ ओझाले भने।