दुई कम्पनीको लाभांश र एकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज फागुन १३ गते दुईवटा कम्पनीहरूको लाभांश र एउटा कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यसदिन आइएमई लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश र दोर्दी खोला जलविद्युतको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन हो।
उक्त तीनवटै कम्पनीहरूले पर्सी फागुन १५ गते बुक क्लोज गर्दैछन्। भोलि फागुन १४ गते महाशिवरात्रिको सार्वजनिक बिदा परेकाले नेप्से बन्द रहन्छ। तसर्थ आजसम्म कायम शेयरधनी मात्र सोका लागि योग्य हुनेछन्।
आइएमई लाइफ
यस कम्पनीले गत आवको मुनाफाबाट चुक्ता पूँजीको २१ दशमलव ०५२६४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारितका लागि फागुन २५ गते काठमाडौंको धुमबाराहीस्थित दियो महलमा बिहान ११ बजे सभा बस्दैछ।
हिमालयन एभरेष्ट
यस कम्पनीले गत आवको मुनाफाबाट चुक्ता पूँजीको ८ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारितका लागि फागुन २७ गते काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे सभा बस्दैछ।
दोर्दी खोला जलविद्युत
यस कम्पनीले जम्मा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेकोमा हकप्रद निष्कासन र बाँडफाँडपछि २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ कायम हुनेछ।