पुराना अभिकर्ताको नविरणका लागि एसएलसी भए हुने, नयाँका लागि प्लस टू अनिवार्य

१२ फाल्गुन २०८१, सोमबार २१:४३

काठमाडौं । सरकारले बीमा क्षेत्रको नियमन, व्यवस्थापन र पारदर्शिता बढाउने उद्देश्यले बीमा नियमावली, २०८१ लागू गरेको छ । बीमा नियामावलीले पुराना बीमा अभिकर्ताहरुका लागि बीमा नविकरण गर्न एसएलसी भए हुने र नयाँ अभिकर्ताका लागि प्लस टू अनिवार्य गरेको छ ।

बीमा अभिकर्ता बन्ने प्रक्रियालाई पनि थप व्यवस्थित बनाइएको छ । अब अभिकर्ता बन्न कम्तिमा १२ कक्षा उत्तीर्ण भएको हुनुपर्ने भएको छ ।

बीमा अभिकर्ताका लागि विशेष तालिम तथा परीक्षा अनिवार्य गरिएको छ । बीम दलाल तथा तेस्रो पक्ष सहजकर्ताका लागि इजाजतपत्र लिनुपर्ने व्यवस्था गरिएको छ।
अभिकर्ताहरूले निश्चित बीमलेख बिक्री गर्नुपर्ने तथा नवीकरण मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।

नयाँ नियमावलीले बीमा प्राधिकरणलाई थप व्यवस्थित बनाउने छ । व्यवस्थापन समूह गठन गरी त्रैमासिक रूपमा बीम बजारको अनुगमन, अध्ययन तथा नीति निर्माण गरिने नियमावलीमा व्यवस्था गरिएको छ ।
नियमावली अनुसार जोखिम न्यूनीकरणका लागि छुट्टै जोखिम व्यवस्थापन समिति रहनेछ जसले बीमकहरूको वित्तीय स्थायित्व सुनिश्चित गर्नेछ ।

नयाँ बीमा कम्पनी खोल्नका लागि प्राधिकरणबाट पूर्वस्वीकृति लिनु पर्नेछ । आवश्यक पुँजी संरचना, वित्तीय विवरण तथा व्यवसायिक योजना पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । शाखा विस्तार तथा विदेशी लगानीका लागि पनि प्राधिकरणको विशेष स्वीकृति आवश्यक पर्ने नियमावलीमा व्यवस्था गरिएको छ।

बिमकहरूले निश्चित पूँजी कोष तथा सल्भेन्सी मार्जिन कायम गर्नुपर्नेछ । बीमा व्यवसायलाई स्थायित्व दिन बीम कोष, अनिवार्य जगेडा कोष, विशेष जगेडा कोष तथा दाबी भुक्तानी कोष जस्ता व्यवस्थाहरू नियमावलीले लागू गरेको छ ।

बीमशुल्क बुझाउने प्रक्रियालाई पारदर्शी बनाउन बैंकमार्फत मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नियमावलीमा इन्जिनियरिङ तथा हवाई बीममा किस्ताबन्दीमा बीमशुल्क बुझाउने व्यवस्था गरिएको छ ।

जोखिम न्यूनीकरणका लागि पुनर्बिमा अनिवार्य गरिएको छ । जसका लागि अन्तर्राष्ट्रिय पुनर्बिमक छनोट गर्दा प्राधिकरणले तोकेको मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*