बीमा नियामावलीमा बीमा अभिकर्ताको कमिशन तथा इन्सेन्टिभको के छ नयाँ व्यवस्था ?

१२ फाल्गुन २०८१, सोमबार २१:०३

काठमाडौं । नेपाल सरकारले स्वीकृत गरेको बीमा नियामावली राजपत्रमा आएको छ । लामो समयपछि मन्त्रिपषिद्ले स्वीकृत गरेको नियामावली राजपत्रमा आएको हो । बीमा अभिकर्ताको कमिशन तथा इन्सेन्टिभको विवादित बिषयमा लामो समयदेखि बीमा प्राधिकरणसँग छलफल पश्चात् आन्दोलनसम्म जाने स्थिती समेत सृजना भएको थियो ।

बीमा प्राधिकरणले ऐनको छलफलको क्रममा अभिकर्तालाई नराखी अर्थमन्त्रालय, कानुन हुँदै मन्त्रिपरिषद्मा पुर्याएको बिषयमा अभिकर्ताहरुले गत साता पत्रकार सम्मेलन मार्फत आन्दोलनमा जान सक्ने समेत जानकारी दिएका थिए । बीमा प्राधिकरण र अभिकर्ताहरुबीच बेमेल हुँदै आज राजपत्रमा नियामावली प्रकाशित भएको छ ।

बीमा नियामावलीमा बीमा अभिकर्ताको कमिशन तथा प्रोत्साहन(इन्सेन्टिभ)मा जीवन बीमामा अनूसूची ९ बमोजिम र निर्जिवन बीमामा बीमाशुल्कको पाँच प्रतिशत र लघुबीमा र स्वास्थ्य बीमामा प्राधिकरणले निर्धारण गरे बमोजिम हुने व्यवस्था तय गरेको छ ।

नियामावलीमा बीमा अभिकर्ताको कमिशन रकमको अत्तिरिक्त जीवन बीमाको प्रथम बीमाशुल्कमा प्रति अभिकर्ता प्राधिकरणले निर्धारण गरेको सीमाभन्दा बढी नहुने गरी प्रोत्साहन(इन्सेन्टिभ) रकम प्रदान गर्ने व्यवस्था निर्धारण गरेको छ ।

तर संस्थागत बीमा अभिकर्तामार्फत हुने बीमा र  सरकारले अनिवार्य गरेको बीमामा बीमा अभिकर्तालाई भने इन्सेन्टिभ नपाईने व्यवस्था गरिएको छ ।इन्सेन्टिभ रकम प्रदान गर्दा प्रत्येक अभिकर्तामार्फत् जारी भएको बीमालेखको नवीकरण अनुपातको आधारमा अनुसूची– १० मा उल्लेख भए बमोजिमको रकम कट्टा गरेर मात्र भुक्तानी गर्नु पर्ने व्यवस्था गरिएको छ।

बीमित आफै प्रत्यक्ष रूपमा बीमा गर्न आएमा बीमकले उपनियम (१) बमोजिमको कमिशनको पचास प्रतिशतले हुन आउने रकम बीमा शुल्कमा छुट दिनु पर्ने व्यवस्था रहेको छ । साथै निरन्तर सेवा प्रवाह गरेको व्यक्तिलाई जीवन बीमकले लोयल्टी इन्सेन्टिभका रूपमा सुविधा प्रदान गर्न सक्ने व्यवस्था नियामावलीमा रहेको छ ।

नियामावलीमा बीमा अभिकर्ताले आर्जन गरेको कमिशन तथा इन्सेन्टिभ बीमकले बीमा अभिकर्ताको इजाजतपत्र बहाल नरहेको अवस्थामा समेत निजलाई प्रदान गर्नु पर्ने उल्लेख गरिएको छ।
साथै बीमा अभिकर्ताले आर्जन गरेको कमिशन बीमकले बीमा अभिकर्ताको मृत्यु भएको अवस्थामा निजको सगोलको पति वा पत्नी, छोराछोरी वा बुवाआमालाई प्रदान गर्नुपर्ने नियामावलीमा व्यवस्था गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*