बीमा प्राधिकरणको अध्यक्षमा मुख्य दुई जनाको भिडन्त, को बन्ला नयाँ अध्यक्ष ?

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणको अध्यक्षको छनौट प्रक्रिया तीव्र पारिएको छ । सरकारले आगामी फागुन १५ गतेको आसपासमा नयाँ अध्यक्ष नियुक्ती गर्न सक्ने देखिएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा बनेको अध्यक्ष छनौट समितिले पाँच जना सर्टलिष्टमा परेका कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाई, डा. दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझालाई यही फागुन १० गते प्रस्तुतिकरणको लागि कार्यतालिका बाहिर ल्याएको छ । सर्टलिष्टमा परेका पाँच जना मध्येबाट छनौट समितिले तीन जनाको नाम छनौट गरेर सरकारलाई सिफारिस गर्नेछ भने मन्त्रिपरिषदको बैठकले सिफारिस भई आएका तीन जना मध्येबाट एक जनालाई अध्यक्षमा नियुक्त गर्नेछ । सो आधारमा यही फागुन १२, १५ वा १९ गते बस्ने मन्त्रिपरिषद नियमित बैठकबाट बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्ती हुनसक्ने देखिएको छ । यद्यपि यसबाहेक अन्य जुनसुकै दिनको बैठकले निर्णय गर्न सक्नेछ ।
बजारमा बीमा प्राधिकरणको अध्यक्षको नियुक्ती सम्बन्धी परिक्षा र प्रक्रिया नै पुरा नभए पनि को अध्यक्ष बन्दैछ ? भनेर व्यापक चर्चा र परिचर्चा सुरु भइसकेको छ । हुन त सर्टलिष्टमा परेका पाँचै जनाको समान २० प्रतिशत सम्भावना छ । तर, यस पटक बीमा प्राधिकरणको अध्यक्षमा मुख्य रुपमा दुई जनाको भिषण भिडन्त हुने देखिएको छ । ति पात्रहरु हुन रामशरण पुडासैनी र शरद ओझा ।
छनौट समितिले उल्लेखित दुई जना मध्येबाट एक जनालाई सर्टलिष्टमा राखेर अन्य दुई उम्मेदवारलाई औपचारिक रुपमा टिममा समावेश गरेर नेपाल सरकार समक्ष सिफारिस गर्ने विश्वास गरिएको छ । हालसम्मको विकसित भएको घटनाक्रम अनुसार छनौट समितिले कमल प्रसाद रेग्मी, चिञ्जीवी चापागाँई र शरद ओझा वा रामशरण पुडासैनी मध्येबाट एक जनाको नाम सिफारिस गर्ने सम्भावना रहेको छ ।
बीमापोष्टलाई प्राप्त सूचना अनुसार यस पटक अध्यक्ष नियुक्तीमा बाहिर ठूलो चलखेल देखिएको छैन । तर भित्री रुपमा कांग्रेस र एमालेका बीचमा प्रतिस्पर्धा भइरहेको छ । नेपाली कांग्रेसभित्र दह्रो अडान राख्ने पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत यतिबेला नेपालमा छैनन, महाकुम्भ मेला भर्न गएका छन् । त्यसो हुँदा आरजु देउवा र प्रम ओलीबीचको छलफलबाट बीमा प्राधिकरणको अध्यक्ष को बन्ने भन्ने टुंगो लाग्ने अवस्था छ ।
यतिबेला नेपालको सरकार एमाले र कांग्रेसले संयुक्त रुपमा चलाइरहेका छन् । नेपाल राष्ट्र बैंकको गभर्नर पद पनि रिक्त हुँदैछ । गभर्नर पद र बीमा प्राधिकरणको अध्यक्ष पद नेपाली कांग्रेस र एमालेले भागबण्डा गर्ने सम्भावना समेत बलियो रहेको छ । अर्थमन्त्री र सरकारको नेतृत्व गरिरहकोेले एमालेले गभर्नर पाउने सम्भावना समेत बढि छ । त्यस्तो अवस्थामा बीमा प्राधिकरणमा नेपाली कांग्रेसले अध्यक्ष दावी गर्न सक्नेछ ।
हालसम्म देखिएको तथ्य, राजनीतिक अवस्थालाई हेर्ने हो भने पाँच जनाको सर्ट लिष्टमा डा. दामोदर बसौला पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारी लबिङ गरिरहेका छन् । त्यस्तै, अर्का उम्मेदवार पूर्व सचिव रामशरण पुडासैनीलाई पनि एमालेले राम्रैसँग विश्वास गरेर अघि बढाएको देखिन्छ । एमालेबाट दुई जना भएकोले पुडासैनी मुख्य दावेदार हुन् । बसौलाको सम्भावना न्यून छ ।
कुनै पनि राजनीतिक पार्टीमा खुलेर नदेखिएका बीमा प्राधिकणका निर्देशक रेग्मीको सम्बन्धमा अहिले नै यसै भन्न सकिने अवस्था छैन । अर्थात जे पनि हुनसक्नेछ । उता, बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाँईलाई प्रम ओलीले अध्यक्ष बनाउने सम्भावना न्यून रहेको जानकारहरुको भनाई छ । चापागाँईलाई यसअघि माओवादीले सेबोनमा अध्यक्ष बनाउन खोजेको थियो । सोही कारण सत्ता ढलेको माओवादीले आरोप लगाउँदै आएको छ ।
बीमा प्राधिकरणको अध्यक्षमा मुख्य रुपमा पूर्व सचिव रामशरण पुडासैनी र कानुन व्यवसायी तथा क्लीकमाण्डु डटकम अनलाईनमा काम गरेका शरद ओझाका बीचमा मुख्य भिडन्त हुने देखिएको छ । ओझालाई नेपाली कांग्रेसको समर्थन रहेको भनाई छ, स्वतन्त्र पुष्टि भएको छैन । यो प्रतिस्पर्धा सत्ताधारी गठबन्धनकै बीचमा हुने हुँदा अन्तमा मेलमिलापमा जेसुकै पनि हुनसक्नेछ ।
छिट्टै संवैधानिक निकायहरुमा समेत ठूलो संख्यामा पद रिक्त हुने अवस्थाले सत्ताधारी गठबन्धनहरुले आ–आफ्नो मन्त्रालय मातहतमा आ–आफ्नै मान्छे नियुक्ती गर्ने भनेर सहमति हुने सम्भावना पनि दरिलो रहेको छ । रिक्त हुने संवैधानिक निकायमा भागबण्डा गर्ने र तर तत् तत् मन्त्रालयमा तत् तत् मन्त्रीहरुले उपयुक्त व्यक्ति नियुक्त गर्ने सहमति भएको अवस्थामा पुडासैनीले बाजी मार्ने सम्भावना छ । उता, अहिलेका गभर्नर महाप्रसाद अधिकारी एमाले भएकोले अबको गभर्नर नेपाली कांग्रेसबाट हुनुपर्ने एकाथरीको बलियो तर्क उच्च नेतृत्वमा चलिरहेको छ । त्यस्तो अवस्थामा पनि पुडासैनी नै अध्यक्ष बन्नेछन् । र, गभर्नर एमाले र प्राधिकरण नेपाली कांग्रेसले पाएको अवस्थामा ओझा अध्यक्ष बन्ने सम्भावना बलियो रहेको बताइन्छ ।
आगामी दुई साताभित्रैमा पाँच उम्मेदवारहरु मध्येबाट एक जनाको भाग्य र भविष्यको फैसला हुनेछ भने बीमा क्षेत्रले नयाँ नेतृत्व पाउनेछ ।
याे कस्ताे काइते विष्लेषण गरेकाे हाे ? प्राधिकरण को प्रमुख मा को आउँछ ? उसको योजना कस्तो छ ? फलानो आयो भने यस्तो हुन सक्छ , ढिस्कानो आयो भने प्राधिकरण मा यो यो कुरामा परिवर्तन हुन सक्छ भनेर बिशलेषण गरेको भए पो सबैले थाहा हुन्छ र तत तत ब्यक्ति कस्तो हो भनेर आँकलन गर्न सकिन्छ । समाचार मा फलानो यो पार्टी को फलानो त्यो पार्टी को भनेर के बिशलेषण गरेको हो ? के पार्टी संग आवद्ध नभएका ले यस्ता नियमनकारी निकाय को प्रमुख मा आउनै नहुने हो ? की पार्टी कै आधारमा मात्र पाउने हो ? यसो हो भने फलानो फलानो यो वा त्यो पार्टीको भनेर लाइन लगायो भई गो त , किन यत्रों प्रपंच र रासलीला मात्र ।
एक दमै सही र वस्तुवादी बिश्लेषण । जाँच नै बाँकी छ । कतिसम्म बिषय बाहिर ल्याउन मिल्छ भन्ने पनि होला । तर, के हुनुपर्छ भन्दा पनि के हुन्छ ? भनेर अत्यन्तै बस्तुवादी बिश्लेषण गरेको पाइयो । बीमापोष्टको यस्तै समाचारकै कारण म फ्यान बनेको हो । बीमा कम्पनीहरुको बिकृतिहरु अझै राम्रोसँग चिर्न सकेको छैन । सफलता मिलोस् ।
मेरो बिचारमा बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई सरको पालामा बीमा क्षेत्रमा धेरै नै प्रगति भएको थियो । त्यसैले चापागाईलाई अध्यक्ष बनाउँदा राम्रो हुन्छ ।
मेरो बिचार मा शरद ओझा बन्दा निकै राम्ररी प्राधिकरण लाइ अगाडि बढ्न सक्त्यो कि लागि रहेको छ/ बाकि त फिल्म रिलिज पछि नै था हुन्छ/