शिखर इन्स्योरेन्सको मुनाफा २५ करोड ७३ लाख, अधिकांश सूचांकमा प्रगति

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य प्रगति भएको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले २५ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा उक्त नाफा २.४८ प्रतिशतले बढी हो । गत वर्ष सोहि अवधिमा कम्पनीले २५ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको बीमा कोषको आकार ३८.९३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पुष मसान्तसम्ममा ५ अर्ब २९ करोड ४० लाख रुपैयाँ रहेको बीमा कोष चालु आर्थिक वर्षको सोहि अवधिमा बढेर ७ अर्ब ३५ करोड रुपैयाँ पुगेको हो ।
यता, कम्पनीको खुद बीमाशुल्क आम्दानी भने १५.६३ प्रतिशतले बढेर ६३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्ष ५५ करोड १४ लाख रुपैयाँ मात्रै थियो । समीक्षा अवधिमा कुल दाबी भुक्तानी भने १७.५६ प्रतिशतले बढेर ३८ करोड २६ लाख रुपैयाँ पुगेको छ ।
२ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिजर्भ फण्डको आकार ९.३२ प्रतिशतले बढेको छ । प्रतिशेयर आम्दानी१९.३९ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ रहेको छ ।