शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारण सभा कहिले ?

काठमाडौँ । शिखर इन्स्योरेन्सको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले प्रस्तावित लाभांश लगायतका प्रस्ताव पारित गर्न फागुन १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३० गतेदेखि फागुन १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । यसैले लगानीकर्ताहरुले कम्पनीको लाभांश लिने वा नलिने निर्णय भने आजै गर्नुपर्नेछ । लाभांश लिन चाहनेले कम्पनीको सेयर खरिद गर्नुपर्नेछ छ भने लिन नचाहनेले बिक्री गर्नुपर्नेछ ।
कम्पनीको हाल २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ चुक्ता पुँजी छ । जसको २६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँ बराबरको बोनस तथा कर तिर्न १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको हो ।
साथै, साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
प्रस्तावित बोनस सेयर कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट गतवर्ष सेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन् ।