राष्ट्रिय बीमा कम्पनीको वित्तीय अवस्था दयनीय, सबै सूचकमा गिरावट

काठमाडौं । भ्रष्टाचार र अनियमितताको दलदलमा फसेको सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको वित्तीय अवस्था समेत दयनीय बन्न पुगेको छ। कम्पनीले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा, कुल आम्दानी सहित प्रतिशेयर आम्दानी समेत सबै घटेको हो।
प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १८ दशमलव ८६ प्रतिशतले घटेको छ। कम्पनीले गत आवमा ४२ करोड ७२ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर ३४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ।
त्यसैगरी चालू आवमा कम्पनीको कुल आम्दानी समेत १८ दशमलव ८६ प्रतिशतले घटेको छ। गत आवमा कम्पनीको आम्दानी ७५ करोड ५१ लाख रुपैयाँ रहेकोमा चालू आवमा घटेर ७२ करोड ४९ लाख रुपैयाँमा झरेको छ।
नाफा र आम्दानी घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घट्न पुगेको छ। कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा १ सय ६० रुपैयाँ २४ पैसा रहेकोमा चालू आवमा घटेर १ सय ३० रुपैयाँ ०२ पैसामा झरेको छ।
यद्यपि चालू आवमा कम्पनीको कुल खर्च भने २९ दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको कुल खर्च गत आवमा २१ करोड ४२ लाख रुपैयाँ रहेकोेमा चालू आवमा बढेर २७ करोड ७९ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ। कम्पनीले स्पेशल रिजर्भमा ३ अर्ब ११ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ४४ करोड रुपैयाँ र महाविपत्ति कोषमा ६८ करोड रुपैयाँ सञ्चित गरेको छ।
कम्पनीको निर्जीवन बीमा कोषमा ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ६ हजार ३ सय २२ रुपैयाँ ८३ पैसा रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात १ सय १३ दशमलव ९८ गुणा गरेको छ।