पर्वतारोहण संघले सलिकोसँगको सहकार्यमा हिमाल आरोहणको लागि ल्याएको नयाँ पोलिसी सार्वजनिक

२८ माघ २०८१, सोमबार १५:४१

काठमाडौँ । नेपाल पर्वतारोहण संघले हिमाल आरोहण गर्न चाहनेहरुका लागि सहुलियत दरको नयाँ बीमा स्कीम सार्वजनिक गरेको छ । संघले सलिकोसँगको सहकार्यमा यसअघि २० हजार रुपैयाँ भन्दाबढी बीमाशुल्क पर्ने हिमाल आरोहण सम्बन्धी बीमा स्कीम जम्मा १० हजार पाँच सय रुपैयाँमा उपलब्ध हुने जनाएको छ ।

संघका अनुसार यो योजना पर्वतारोहण मार्ग दर्शक, सर्दार तथा सहयोगी आरोहीहरुलाई लक्षित गरी सूरु गरिएको हो । यसले ट्रेकिङ एजेन्सीहरूको आर्थिक भार कम गर्नुका साथै नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मोसीटीसीए) द्वारा तोकिएको बीमा मापदण्डलाई पूर्ण रूपमा सम्बोधन गर्ने संघले विश्वास लिएको छ।

संघका अनुुसार यो योजनाअन्तर्गत तीन महिनाका लागि १५ लाख रुपैयाँको दुर्घटना बीमा, चार लाख रुपैयाँको स्वास्थ्य बीमा र १० हजार अमेरिकी डलर बराबरको हेलिकप्टर उद्धार बीमा समेटिनेछ । यसअघि, यस्तो बीमाका लागि ट्रेकिङ एजेन्सीहरूले २० हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था थियो। तर, अब बीमा शुल्क ८,५०० रुपैयाँ र सेवा शुल्क २,००० रुपैयाँ गरी जम्मा १०,५०० रुपैयाँमा यो सेवा उपलब्ध हुनेछ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीसँगको सम्झौतामा यस योजनालाई कार्यान्वयन गरीने संघले जानकारी दिएको छ । सम्झौतामा एनएमएका अध्यक्ष निम नुरु शेर्पा र सगरमाथा लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् । संघले ल्याएको उक्त  नयाँ योजना २०२५ मार्च १ देखि लागू हुनेछ।

यस योजनाले बीमा प्रावधानलाई सरल बनाउँदै २७ एनएमए सूचीबद्ध पर्वत शिखरहरूका लागि क्लाइम्बीङ पर्मीट प्रक्रिया सहज बनाएको छ। अघिल्लो व्यवस्थाअनुसार चिकित्सा र हेलिकप्टर उद्धार बीमाका लागि प्रतिबद्धता पत्र पेश गर्नुपर्ने प्रावधान पनि हटाइएको कारण हिमाल आरोहण गर्न इच्छुक नागरिकहरुको लागि यस योजनाले सहज वातावरण सिर्जना गर्ने संघले विश्वास व्यक्त गरेको छ ।

एनएमएले यो योजना अनिवार्य भने गरेको छैन। ट्रेकिङ एजेन्सीहरूले अन्य बीमा कम्पनीहरूसँग आपसी सहमतिमा बीमा गराएर क्लाइम्बीङ पर्मीटका लागि एनएमएमा पेश गर्न सक्नेछन्। विभिन्न ट्रेकिङ एजेन्सीहरुले बीमा कम्पनीहरुसँगको सहकार्यमा गरेका बीमामा दुर्घटना, स्वास्थ्य र हेलिकप्ट अनिवार्य समावेश गरेको हुनुपर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*